मध्य पहाडी लोकमार्गको नक्साङ्कन परिवर्तन गरेर पुष्पलालको जन्मभूमिबाट लैजान रामेछापवासीको माग



२६ मंसिर, रामेछाप ।
रामेछापवासीले मध्य पहाडी पुष्पलाल लोकमार्गको हालको नक्साङ्कन वैज्ञानिक नभएको भन्दै परिवर्तन गर्न माग गरेका छन् । रामेछापको तीन वटा स्थानीय तह जोडेर हाल लोकमार्ग निर्माण भएपनि जिल्लाको प्रमुख केन्द्रलाई नजोडेको भन्दै नक्साङ्कन परिवर्तन गर्न माग गरेका हुन् ।


मध्य पहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि सम्पर्क यात्राको क्रममा रामेछापमा आयोजित एक कार्यक्रममा रामेछापवासीको तर्फबाट नेकपा एमाले रामेछापका अध्यक्ष एवं वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समक्ष रामेछापको विकास र हितको लागि नक्साङ्कन परिवर्तन गर्न आवश्यक रहेको भन्दै माग पत्र पेश गरेका छन् । उनले मध्य पहाडी पुष्पलाल लोकमार्गको हालको नक्सा परिवर्तन गरी काभ्रे र रामेछापको सिमाना चौँरीखोला हुँदै गाल्पा भञ्ज्याङबाट सदरमुकाम मन्थली–पुष्पलालको जन्मथलो भँगेरी–साँघुटार हुँदै ओखलढुङ्गाको सदरमुकामबाट खोटाङ दिक्तेल जोड्नु पर्ने माग माग गरेका हुनु ।

मध्य पहाडको २६ वटा जिल्ला जोडने लोकमार्गको लम्बाई चियोभन्ज्याङ्ग हुँदै झुलाघाटसम्म करिब १८ सय किलोमिटर रहेको छ । रामेछापको तीन वटा स्थानीय तह मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिका हुँदै ५७ किलोमिटरमा हाल धमाधम काम भइरहेको छ । रामेछापवासीले पुष्पलालको जन्मभूमि हुँदै उक्त लोकमार्ग निर्माण गर्न माग अघि सादै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्