म्याद सकिन लाग्दा रामेछापमा कांग्रेसले तोक्यो महासमिति सदस्यको निर्वाचन, ९ जनाको लागि २१ नेता भिडदै (नामसहित)




२५ मंसिर, रामेछाप ।
पार्टीको आन्तरिक विवादको कारण रोकिएको नेपाली कांग्रेस रामेछापको महासमिति सदस्यहरुको निर्वाचन यही पुस ६ गते हुने भएको छ । नेताहरुबीच सहमति हुन नसकेपछि निर्वाचन मार्फत नै महासमिति चयन गर्ने गरी निर्वाचन कार्यतालिका अनुसार ९ जना महासमिति सदस्यको लागि २१ जना नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् । पार्टी सभापति एवं रामेछापका प्रतिनिधिसभा सदस्य पूर्ण बहादुर तामाङदेखि पूर्व जिल्ला पार्टी सभापति रामचन्द्र खड्का लगायतका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् । पुस २ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको छ । यदी नेताहरुबीच २ गते सहमति नभएको खण्डमा पुस ६ गते चुनाव मार्फत नै छिनोफानो हुनेछ ।

महासमिति चयनको विषयलाई लिएर पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरी परेपछि दुई बर्ष अघि जिल्ला अधिवेशनकै समयमा हुनुपर्ने महासमिति सदस्यहरुको निर्वाचन रोकिएको थियो । केन्द्रीय निर्वाचन समितिले महासमिति सदस्यहरुको लागि निर्वाचन गर्ने बाटो खुलाएसँगै रामेछाप कांग्रेस एक पटक पुनः चुनावमा होमिएको छ । जिल्ला अधिवेशनबाट २७ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।
११ जना महासमिति सदस्य मध्य जनजाति महिला र दलित कोटाबाट दुई जना निरविरोध निर्वाचित भएका छन भने ९ जना सदस्यको लागि २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । खुल्ला ५, खुल्ला महिला २ जना, खस आर्य १ पुरुष, जनजाति १ जनाका २१ जनाकाे उम्मेदवारी परेको छ । ९ जना महासमिति सदस्य चयनको लागि १२ सय २८ जना मतदाताले मतदान गर्ने कांग्रेस रामेछापका सचिव दीपक खड्काले रामेछाप न्युजलाई जानाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्