अध्यागमन अधिकृतलाई घुस खुवाएर भिजिट भिषामा विदेश पठाउने रामेछापका लामा पक्राउ



२९ मंसिर, काठमाडौं ।

भिजिट भिषामा विदेश ‍जान लागेका युवा युवतीहरुलाई नक्कली कागजात बनाई अध्यागमन कार्यालयमा कार्यारत कर्मचारीहरुसँग सेटिङ मिलाई विदेश पठाउने रामेछापका एक युवकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली कागजातका आधारमा पठाउदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरुलाई सेटिङ मिलाई मानव तस्करी गरेको आरोपमा रामेछाप दोरम्बा शैलुङ गाउँपालिका ७ का पदम लामा र काभ्रे पाँचखाल नगरपालिकाका मनोज लामालाई प्रहरीले पक्राउ गरेको हो ।


भिजिट भिषामा विदेश पुगेपछि महिलाहरुलाई घरेलु कामदारको रुपमा लगाईने र शोषण समेत हुने र पुरुषहरुले समेत तोकिएको काम नपाई जोखिमपूर्ण काममा लागाईने हुदाँ वैदेशिक रोजगारमा जादा भिजिट भिषा प्रयोग गरी गएका युवा युवतीहरुलाई स्वदेशमा फर्काउन समेत कठिनाई हुने गरेको छ ।
नक्कली कागजातका आधारमा पठाउदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरुलाई सेटिङ मिलाई मानव तस्करी गरेको पाईएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले अनुसन्धान गर्ने क्रममा नक्कली कागजातको आधारमा प्रतिब्यक्ति ४० हजार देखि ५५ हजार सम्म लिई उडाउन सहजता प्रदान गरेको खुल्न आएको हो । मंसिर २७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थाल अध्यागमन कार्यालयका अधिकृत नर बीर खडकालाई यस कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान गर्दै आएकोमा निज नर बीर खड्का मार्फत ३०० जना सेटिङ मिलाएर पठाएका निमा छिरिङ ट्राभल्सका संचालक मनोज तामाङ र सोही ट्राभल्समा काम गर्ने निजको सालो नाता पर्ने पदम लामालाई पक्राउ प्रहरीले अनुसन्धान अघि बढाएको बताएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी मिलन केसीले भिजिट भिषामा विदेश पढाउनेहरुको थप खोजी भइरुहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्