आङटावा शेर्पालाई थुनामा पठाउने उच्च अदालतको आदेश सर्वोच्चले माग्यो



२ पुस, काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका रामेछापका संविधानसभा सदस्य आङटावा शेर्पालाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत पाटनलाई आदेश दिएको छ । आफूलाई थुनामा राख्ने उच्च अदालत पाटनको आदेश बदर हुनुपर्ने माग राख्दै शेर्पा सर्वोच्च अदालत पुगेका थिए । सोमबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासले शेर्पाको हकमा ‘कैफियत प्रतिवेदन पेश गर्न’ आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका शेर्पालाई १५ मंसिरमा उच्च अदालत पाटनले सदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो । त्यो आदेश बेरितको रहेको भन्दै शेर्पाले आफूलाई सामान्य तारिखमा छाड्नुपर्ने माग राखी सर्वोच्च अदालत पुगेका हुन् ।
उच्च अदालतले बालकृष्ण खाँण र र सन्दीप रायमाझीलाई ३० लाख, टेकनाथ रिजाल, हरिभक्त महर्जन र रामशरण केसीलाई १५ लाख, नरेन्द्र केसी र शमशेर मियालाई १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी नबुझाएका कारण टेकनाथ रिजाल भने हालसम्म पनि थुनामै छन् ।उच्च अदालतको आदेश पाएकामध्ये सर्वोच्च अदालत पुग्ने आङटावा शेर्पा पहिलो व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्