भद्रगोल अवस्थामा रहेका खेल संघलाई व्यवस्थित बनाउने काममा लागेका छौः घिसिङ



काठमाडौँ, पुस २७ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले एकै प्रकृतिका भद्रगोल अवस्थामा रहेका खेल सङ्घलाई एकै ठाउँमा ल्याउने प्रक्रिया जारी रहेको बताएका छन् । उनले विकसित राष्ट्रको भन्दा पनि बढी खेलकुद सङ्घ अव्यवस्थित रुपमा रहँदै आएपनि अहिले त्यसलाई व्यवस्थित गर्ने प्रयास भइरहेको बताएका हुनु ।

सदस्य सचिव घिसिङले शुक्रबार चौथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिताको उद्घाटनका अवसरमा संविधान र नयाँ खेलकुद ऐनद्वारा निर्देशित काम कामकारबाही अगाडि बढिरहेको बताए । उनले पहिलोपटक नेपालमा खेलकुद बीमालेख जारी भएको बताए । घिसिङले अब प्रतियोगिताको मुखमा गएर खेलाडीको तयारी गराउने परम्पराको अन्त्य हुने विश्वास व्यक्त गर्दै अब हुने एसियाली खेलकुदको तयारी छिट्टै गरिने र त्यसको शुरुवात कराँतेबाट हुने बताए ।

घिसिङले मुलपानी क्रिकेट रंगशाला, भरतपुरको गौतम बुद्ध क्रिकेट रंगशाला र मोरङको वैजनाथपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी खेलकुदलाई पहिलो पटक राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेकोमा सरकार र प्रधानमन्त्रीज्यू प्रति सिंगो खेल क्षेत्रको तर्फबाट हार्दिक आभार प्रकट गरे ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने– ‘नेपाल अपार सम्भावना भएको देश हो । देशको विकास र प्रगतिका निम्ति हामीसंग प्रशस्त सम्भावनाहरु छन् । ति मध्ये पनि राम्रो सम्भावना बोकेको क्षेत्र भनेको खेलकुद क्षेत्र नै हो । खेल आजको दुनियामा बहुआयामिक सम्भावना भएको क्षेत्र हो ।’

प्रतिक्रिया दिनुहोस्