रामेछाप लिखु तामाकोसी गाउँपालिकाका पूर्वअध्यक्ष गोविन्द खड्कासहित पाँच जना दोषी ठहर



१३ चैत्र, काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विद्युतको पोल खरिद घोटलाको विषयमा विशेष अदालतले खड्कासहित पाँच जनालाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिद्युतको पोल खरिद गरेको विषयमा विशेष अअदालतमा मुद्दा दायर गरेको थियो । आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै २७ जनालाई मुद्दा चलाएकामा पाँच जना दोषी ठहर भएका हुन् । अन्य २२ जनाले भने सफाइ पाएको विशेष अदालतले जनाएको छ ।


दोषी ठहर हुनेहरुमा खड्कासहित राजु प्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामा रहेका छन् । खड्कालाई १ करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाइएको छ भने न्यौपाने र चौलागाईलाई जनही ३ महिना कैद र ६३ लाख जरिवाना हुने र तामाङ र लामाको हकमा जनही ३ महिना कैद र रु ३१ लाख जरिवाना हुने फैसला भएको छ ।

प्रतिक्रिया दिनुहोस्