रामेछाप जिल्लाभित्र अपराधिक गतिविधि हुन दिन्नः डिएसपी सिंह



२७ चैत्र, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीप कुमार सिंहले जिल्लाभित्र अपराधिक गतिविधि हुन नदिन प्रहरी प्रतिबद्ध रहेको बताएका छन् । उनले आफू रामेछापवासीको सेवा गर्न आएको बताउदै मन बचन र कर्मको साथ काम गर्ने बताएका हुन् ।
रामेछाप न्यूजसँग कुराकानी गर्दै डिएसपी सिंहले जिल्लाभित्र शान्ति सुरक्षा कायम गर्ने कार्यमा प्रहरीले प्रभावकारी काम गर्दै आएको बताए । उनले भने,‘समाजमा अपराधिक गतिविधि हुन नदिन प्रहरी सचेत छ, नागरिकहरुले पनि समयमा नै प्रहरीलाई सूचना दिएर सहयोग गर्नुपर्छ ।’


गलत काम गर्ने जो कोही पनि दण्डित हुने बताउदै डिएसपी सिंहले यदी जिल्लाभित्र प्रहरीले गलत काम गरेको प्रमाणित भएको अवस्थामा ठाउँको ठाउँ कारवाही हुने बताए ।
जिल्लाको आठ वटै स्थानीय तह र सरोकारवाला निकायहरुसँग समन्वय गरेर काम गर्ने बताउदै उनले जिल्लाभित्र बढदै गएको आत्महत्याको घटना रोकथाम गर्नको लागि समुदायसँग मिलेर काम गर्ने बताए ।
उनले हाल जिल्ला सदरमुकामसहित सीमा नाकाहरुमा जडान गरिएको सीसी क्यामेरा पर्याप्त नभएको बताउदै स्थानीय तह, उद्योग वाणिज्य संघ लगायतका निकायहरुसँग समन्वय गरेर सीसी क्यामेराको संख्या बढाउने विषयमा आफूले ध्यान दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्