लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन भोलिबाट राजधानीमा हुँदै



५ वैशाख, काठमाडौं । लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन बिहीबारदेखि राजधानीमा आयोजना हुने भएको छ । चार्टर्ड एकाउन्टेन्टहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो ।
संस्थाका अध्यक्ष सिए. सुजन कुमार काफ्लेले नेपालको लेखा प्रणालीमा भएको विकास, अन्तर्राष्ट्रिय अभ्यास र आगामी दिनमा गर्नुपर्ने सुधारसहितका विषयमा गहन छलफल र बहस हुने बताए । सम्मेलनमा एक हजार भन्दा बढी लेखा व्यवसायी सहभागी हुने बताउदै उहाँले लेखा व्यवसायलाई अझै प्रभावकारी बनाउनका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।
सम्मेलनमा लेखा व्यवसायकोे सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एकाउन्टेन्ट्स (आइएफएसी) का अध्यक्ष आस्मा रेसमौकीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मेलनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम छ ।


आइक्यानका पूर्वअध्यक्ष तथा काउन्सिल मेम्बर सिए. युद्धराज ओलीका अनुसार लेखा व्यवसायकोे सर्वोच्च निकायका प्रमुखको सहभागिता हुनु नेपालका लागि महत्वपूर्ण विषय हो । नेपालले लेखा व्यवसायमा भित्राएको अन्तर्राष्ट्रिय अभ्यास सरोकारवालालाई सुनाउन र सरोकारवालाका कुरा सुन्ने उद्देश्यले यस्तो सम्मेलन आयोजना गर्न लागिएको उनले बताए । ‘यो सम्मेलनलाई हामी लेखा व्यवसायीहरुको मेला मान्छौं,’ उनले भने ।
सम्मेलनको पहिलो दिन बिहीबार उद्घाटन सत्रबाहेक तीन ओटा छलफल सत्र हुनेछ । त्यस्तै दोस्रो तथा अन्तिम दिन शुक्रबार साना तथा मझौला व्यवसायको दीगा व्यावसायिक रणनीति, सहकार्य सहितको नियमन, व्यवसायिक सेवाको दक्षता अभिवृद्धि विषयमा छलफल सत्र रहनेछ ।
आइक्यानले नेपालमा सिए शिक्षाको विकास र यसका सदस्यहरुको नियमनको काम गर्दै आइरहेको छ । लेखा व्यवसायीहरुका लागि सरकारी निकायमा छुट्टै दरबन्दी सिर्जना गर्न पहल गरिरहेको आइक्यानले सम्मेलनका दौरान यो विषयलाई समेत प्राथमिकताका साथ उठाउने भएको छ । लेखा व्यवसायीहरुको कामको न्यूनतम शुल्क तोक्ने, कम शूल्कमा काम गरेमा त्यसको गुणस्तरको समीक्षा गर्ने विषयसमेत सम्मेलनमा छलफल हुने अध्यक्ष काफ्लेले बताए ।
सम्मेलनमा नेपाल राष्ट्र बैंंकका गभर्नर सिए. महाप्रसाद अधिकारी, राजस्व सचिव डा। राम प्रसाद घिमिरे, एक्यानका अध्यक्ष सिए. दीपक पाण्डे, अडानका अध्यक्ष आरए। केदारनाथ पौडेल, विभिन्न वाणिज्य बैंक तथा कम्पनीका सीइओ तथा वरिष्ठ सिएहरु सहभागी हुनेछन् । साथै नेपाल धितोपत्र बोर्ड, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, सहकारी विभाग, नेपाल बीमा प्रधिकरण, आन्तरिक राजस्व विभाग, केन्द्रिय अनुसन्धान ब्यूरो, कम्पनी रजिष्टार लगायत अन्य सरकारी निकायका प्रतिनिधिहरु समेतको सहभागितामा नियमनबारे छलफल समेत गरिने भएको छ ।

सम्मेलनमा देशभरबाट लेखा व्यवसायीहरुको सहभागिता हुने बताइएको छ । आइक्यानको आयोजनामा सन् २०२२ मा पहिलो सम्मेलन भएको थियो । जसमा १३ सय जनाले भाग लिएका थिए । सन् २०२३ मा दोस्रो राष्ट्रिय सम्मेलन भएको थियो । जसमा १२ सय जनाले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्