राकाथुममा निखिल हत्याकाण्डः जिल्ला अदालतको फैसला उच्च अदालतले उल्टायाे, ५ जनालाई जन्मकैदको सजाय



८ वैशाख, काठमाडौं ।

रामेछापको खाँडादेवी गाउँपालिकास्थित राकाथुमा २०६६ सालमा भएको हत्याबारे उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला उल्ट्याएको छ । घटना भएको १८ बर्षपछि काभ्रे जिल्लाका तिर्थमान दोङ तामाङ्ग ‘निखिल’ को हत्या गरेको आरोपमा उच्च अदालत पाटनले ५ जना प्रतिवादीलाई जन्मकैदको फैसला गरेको हो ।

काभ्रेको तेमाल गाउँपालिका घर भएका निखिलको राकाथुममा २०६६ असोजमा हत्या भएको थियो । हत्यामा संलग्न ठहर गर्दै उच्च अदालतले खाँडादेवी गाउँपालिका–१ स्थित राकाथुम घर भएका ज्ञानबहादुर लामा तामाङ, कृष्णकाजी श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ, जयराम लामा र रामेछापको सुनापति गाउँपालिका–५ घर भएका पदम बीर लामा तामाङलाई २० वर्ष कैद (जन्मकैद) हुने फैसला गरेको छ । न्यायाधीशद्वय धीरबहादुर चन्द र श्यामकुमार भट्टराईले सो आदेश गरेका हुन् ।


प्रतिवादी ज्ञानबहादुर लामा तामाङ र जयराम लामा बुवा–छोरा हुन् । रामेछाप जिल्ला अदालकी न्यायाधीश इन्दिरा शर्माले २०७९ फागुन १५ मा ज्ञानबहादुर लामालाई मात्र दोषी ठहर गरेकी थिइन् । ज्ञानबहादुर बाहेक अन्य प्रतिवादीलाई सफाइ दिनेगरी भएको जिल्ला अदालतको फैसला उच्च अदालतले उल्ट्याएको हो । सो मुद्दामा जिल्ला अदालतले आफूलाई जन्मकैदको सजाय गरेको विरुद्ध ज्ञानबहादुरले र सरकारी वकिल कार्यालयले अन्यलाई सफाई दिने फैसला बिरुद्ध पुनरावेदन गरेका हुन् । उच्च अदालतको फैसलाविरुद्ध प्रतिवादीहरुले सर्वोच्च अदालतमा अपिल गर्न पाउँछन् । जिल्ला प्रहरी कार्यालय रामेछापले हत्या भएको लामो समयपछि आरोपी ज्ञान बहादुर लामा तामाङ र जयराम लामालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्