यही वैशाख २६ गते सुनकोसी मरिन डाईभर्सन आयोजनाको ‘ब्रेक थ्रु’ हुने



१५ वैशाख, रामेछाप ।

राष्ट्रिय गौरवको सुनकोसी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भएको छ । सम्झौता अवधि भन्दा सात महिना अघि नै सुरुङ मार्ग निर्माणको काम सम्पन्न भएको हो । आयोजनाको यही वैशाख २६ गते बे्रक थ्रु हुने तय भएको छ ।
उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, जलस्रोत तथा सिचाई विभाग अन्तर्गत रहेको सुनकोसी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाले सुरुङ मार्गसँगै बाँध एवं विद्युत गृह निर्माणको काम गरिरहेको छ । अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले निर्माण गरेको यस सुरुङ भेरी बबई डाईभर्सन आयोजनापछि दोस्रो आयोजना हो ।


जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक संजीव बरालले सुनकोसी मरिन डाईभर्सन आयोजना देशको लागि गौरवको आयोजना बताए । उनले रामेछाप न्युजसँग भने,‘सुरुङ मार्गको यही वैशाख २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मार्फत ब्रेक थु्र गर्ने कार्यक्रम छ ।’
मधेस प्रदेशको पाँच जिल्लाका १२२ हेक्टर क्षेत्रफलमा १२ महिना सिँचाई सुविधा पु¥याउने, विद्युत उत्पादन गर्ने र ड्याम क्षेत्रमा जल पर्यटनको विकास गर्ने उदेश्यले यस आयोजनाको निर्माण सुरु गरिएको हो । रामेछाप र सिन्धुलीकाको सीमाना खुर्कोटबाट सिन्धुलीको मरिनसम्म साढे पाँच मिटर चौडाई रहेको कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ सम्पन्न भएको छ । सुरुङ निर्माणको क्रममा भौगर्भिकरुपमा रहेको जटिलताका कारण तीन पटक समस्या देखिएको थियो । तर जटिलतालाई सहज बनाउदै काम अघि बढाइएको थियो ।
सुरुङ मार्ग निर्माण सम्पन्न भएपनि सुरुङभित्र पानी पथान्तरण गर्नका लागि करिब डेढ बर्ष लाग्ने आयोजनाले बताएको छ । यस आयोजनालाई आगामी आर्थिक बर्ष ०८४ असोज मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य अनुरुप हाल धमाधम काम भइरहेको छ ।
आयोजनाका अनुसार सुरुङ मार्ग, बाँध, ब्यारेज, तटबन्धन निर्माणमा हालसम्म १३ अर्ब खर्च भएको छ । सुनकोसी मरिन डाईभर्सजन बहुउेद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले यस आयोजनाले सिचाई, विद्युत र पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान दिने उद्देश्य अनुसार सुरु गरिएको बताए ।
यस आयोजनासँगै धनुषा, सप्तरी र सिराह जिल्लामा थप सिचाई सेवा उपलब्ध गराउनका लागि कमला सिचाई आयोजनाको काम अघि बढाउन अध्ययन भइरहेको छ । यस आयोजना २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको थियो ।
सुरुङ मार्ग निर्माणसँगै बाँध निर्माणको काम पनि अघि बढेको छ । त्यसैगरी विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ ।

आयोजनाका अनुसार प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बि.पि. राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने काम पनि अघि बढने भएको छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इञ्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ । विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्