रामेछापमा ३७ स्थानमा आगलागीः एकको मृत्यु, वन सखाप, करोडौको क्षति



१८ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा एक महिनाको अवधिमा ३७ स्थानमा आगलागीको घटना भएको छ । आगलागीबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ । आगलागीको घटना बढेसँगै जिल्लाभित्रको सामुदायिक वन सखाप भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप सिंहले वैशाख महिनामा मात्र जिल्लाका विभिन्न ३७ स्थानमा आगलागी भएको रामेछाप न्युजलाई बताउनुभयो । आगलागीको कारण मानविय क्षतिसँगै कराडौको क्षति भएको छ, हामीले आगो लगाउने एक जनालाई पक्राउ गरेका छौ, आगलागीको घटना न्यूनिकरण गर्न नागरिकहरु सचेत हुनुपर्छ, उहाँले भन्नुभयो ।
गत बर्षझै यस बर्ष पनि जिल्लाभित्र आगलागीको घटना बढदै गएको छ । आगलागी नियन्त्रणको लागि डिभिजन वन कार्यालयले पर्याप्त पूर्वतयारी नगरेको गुनासो स्थानीयले गरेका छन् । जिल्लाभित्रका अधिकाशं सामुदायिक वन डिभिजन कार्यालय मार्फत रहेका छन् । सामुदायिक वनका पदाधिकारी र स्थानीयलाई आगलागीको घटना न्यूनिकरण गर्न जनचेतनाको कार्यक्रम सञ्चालन गर्ने कार्यमा डिभिजन कार्यालय चुकेको बताइएको छ ।
जिल्लाको सुख्खाग्रस्त क्षेत्रमा आगलागीको घटना बढदै गएको छ । आगो निभाउन स्रोत साधन र जनशक्तिको अभावको बाबजुध पनि स्थानीय र सुरक्षाकर्मीहरुले आगो नियन्त्रणको काम गर्दै आइरहेका छन् । तर आगालागीको घटना न्यूनिकरण भने हुन सकिरहेको छैन् ।
रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आगलागीको घटना न्यूनिकरण गर्न समुदाय नै सचेत हुनुपर्ने बताउनुहुन्छ । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘हामीले मानविय क्षति हुन नदिन वस्ती जोगाउने कार्यमा लागेका छौ, वन जोगाउनु पर्ने हो, तर हामीसँग भएको स्रोत साधन र जनशक्तिले त्यो सम्भव भइरहेका छैन् ।’ वन जोगाउन नसक्नु दुःखद भएको बताउदै प्रजिअ निरौलाले स्थानीय समुदाय जिम्मेवार नबन्दासम्म आगलागीको घटना न्यूनिकरण हुन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्