सुनकोसी–मरिण डाईभर्सन सुरुङको आज ब्रेक थ्रु हुँदै



२६ वैशाख, काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङ आज बे्रेक थु्र हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ ब्रेक थ्रु गर्न लागिएको हो । आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न सुरु गरिएको थियो । उक्त सुरुङ सुनकोशी गाउँपालिका–७ को सुनकोशी र तामाकोशी दोभानबाट करिब ९ सय मिटर तल पर्ने कानढुंग्री भन्ने स्थानसम्म छेडिने छ । सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टिबिएम मेसिन) आज सुनकोसी नदी किनारको कानढुंग्रीबाट निस्किने छ ।

आयोजना प्रमुख मित्र बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनाको सुरुङ २२ महिनाभित्र ब्रेक थ्रु गर्ने लक्ष्य राखिएको थियो तर ३ महिना २ दिनअघि नै सुरुङ ब्रेक थ्रु हुन लागेको हो । सुरुङको कुल १३.३ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । सुनकोशीको पानी सुरुङमार्फत मरिण खोलामा खसालेर ३१ मेगावाट बिजुली उत्पादन पनि गरिनेछ । सोही पानीबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका कुल १ लाख २२ हजार हेक्टर जमिनमा बाह्रै महिना सिंचाइ सुविधा पुर्‍याउने सरकारको लक्ष्य छ ।

आयोजनाको १३ दशमलव ३ किलोमिटर लामो सुरुङमा पानी पठाउन सुनकोशी नदीमा ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाइको बाँध बनाउने काम जारी छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इञ्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ ।बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । २०८४ सालको असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्