रामेछाप अस्पताललाई आगलागीबाट जोगाउन अघि बढ्यो रुख कटानको प्रक्रिया



५ जेठ, रामेछाप ।
आगलागीको उच्च जोखिममा रहेको रामेछाप अस्पतालाई सम्भावित आगलागीबाट जोगाउन आसपासको रुख कटान गर्ने प्रक्रिया अघि बढेको छ । रामेछाप अस्पताल र डिभिजन वन कार्यालयबीच अस्पताल परिसरमा रहेका करिब एक सय साना ठूला रुख कटान गर्ने समझदारी भएको हो । रामेछाप अस्पतालले विगत लामो समयदेखि अस्पतालसँगै रहेको अक्सिजन प्लान्ट लगायतको संरचना बचाउनको लागि केही रुखहरु कटान गनुपर्ने माग गर्दै आएको थियाे ।

तीन साता अघि राती वनमा लागेको आगो समयमा नै नियन्त्रणमा लिएको कारण अस्पताल आगलागी हुनबाट जोगिएको थियो । लगत्तै जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षमा बसेको बैठकले अस्पतालाई आगलागीबाट बचाउन आवश्यक रुख कटान गनुपर्ने निर्णय गरेको थियो । सोही बमोजिम डिभिजन डिभिजन वन कार्यालय कार्यालयका प्रमु्ख ओमसागर भण्डारीको संयोजकत्वमा हाल रुख कटान गर्ने प्रक्रिया अघि बढेको छ । प्रमुख भण्डारीले रामेछाप न्युजसँग भने,‘अस्पतालाई सम्भावित आगलागीबाट जोगाउन करिब १ सय रुख कटान गर्ने निर्णय भएको छ, अहिले वन कार्यालयबाट रुखको मुल्याङकनको काम भइरहेको छ, केही दिनपछि रुख कटानको काम अघि बढछ ।’


रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेण्टेन डा. केशव श्रेष्ठले अस्पताल आगलागीको जोखिममा रहेकाले वन कार्यालयले रुख कटाउनको काम सुरु गरेको बताए । उनले भने,‘अस्पताल संवेदशील क्षेत्र हो, हामीले अस्पतालसँगै रहेका अक्सिजन प्लान्ट लगायतका संरचना जोगाउन पनि केही रुख कटान गर्नुपर्ने माग राख्दै आएको थियौ, अहिले प्रक्रिया अघि बढेको छ, रुख काटिएको क्षेत्रमा सल्लो बाहेकका रुख रोपेर हरियाली प्रबद्र्धन गछौं ।’

प्रतिक्रिया दिनुहोस्