रामेछापमा कांग्रेसका नेता र कार्यकताबीच कुटाकुट, दुई जना घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो



५ जेठ, रामेछाप ।
आसन ग्रहण गर्ने सामान्य विषयमा विवाद हुँदा रामेछापको गाल्वामा नेपाली कांग्रेसका नेता र कार्यबीच कुटाकुट भएको छ । कांग्रेसको भातृ संगठन आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनमा आसन ग्रहणका क्रममा विवाद हुँदा नेता र कार्यकर्ताबीच झडप भएको हो । गाल्वा बजारमा शनिवार आयोजित जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन उद्घाटन सत्रको सुरुमै आसन ग्रहणको विषयलाई लिएर सुरु भएको विवाद झडपमा परिणत भएको थियो । झडपमा परी नेता जितवहादुर मगर र बेनवहादुर तामाङ घाइते भएका छन् । मगर २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार थिए भने हाल कांग्रेस वागमती प्रदेश सदस्य हुन् । कार्यकर्तालाई भेदभाव गरेको आरोप लगाउँदै महाधिवेशन प्रतिनिधि भरत चौलागाई र जिल्ला कार्य समितिका उपसभापति नवराज थोकरलाई आक्रोशित कार्यकर्ताले गाल्बाबाट लखेटेका छन् । कार्यकर्ताहरुले जित बहादुर मगरलाई मञ्चबाट हुत्याएर तल झारेका थिए । उनको आँखा र दाँतमा चोट लागेको छ । कुटाकुटपछि कार्यक्रम स्थगित भएको छ ।

नेपाली कांग्रेस रामेछापका सभापति एवं प्रतिनिधिसभा सांसद पूर्णबहादुर तामाङलाई भने प्रहरीले सुरक्षा दिएर सदरमुकाम मन्थली पुर्याएको छ । सभापति तामाङले रामेछाप न्युजसँग भने,‘सामान्य बिषयमा विवाद हुँदा झडपमा परिणत भयो, विगतदेखि रहेको रिसिइबी देखाउने काम भयो, यसले पार्टीलाई राम्रो गर्दैन ।’ आफूहरुले विवाद समाधानको लागि धेरै कोशिस गर्दा पनि सफल नभएको बताउदै केही नेताहरुको जुँगाको लडाइँको कारण झडप हुन पुगेको उनले बताए ।
घटनामा घाइते भएका घाइतेहरुले कुटपिटमा संलग्न व्यक्तिहरुमाथि जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दिएको बताइएको छ । तर जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले गाल्वा घटनाको विषयमा कसैले पनि किटानी जाहेरी नदिएको रामेछाप न्युजलाई बताए । उनका अनुसार झडपमा घाइते भएकाहरुको अवस्था समान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्