मन्थली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बागमती प्रदेश सरकारको घोषणा



१८ जेठ, काठमाडौं ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षबाट मन्थली अस्पतालाई प्रादेशिक अस्पतालको रुपमा स्तरउन्नती गर्ने घोषणा गरेको छ । बिरामीको अत्याधिक चाप रहेको र सदरमुकाम समेत भएको कारण मन्थली अस्पतालाई प्रादेशिक अस्पताल बनाउन लागिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम मन्थली अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा स्तरउन्नति गर्ने घोषणा गरेका हुन् । मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले प्रादेशिक अस्पताल घोषणा गर्नको लागि पटक–पटक प्रदेश सरकारको ध्यानकर्षण गराएका थिए ।


मन्थली अस्पताले पछिल्लो समयमा गुणस्तरी स्वास्थ सेवा प्रवाह गर्दै आइरहेको छ । मन्थली अस्पतालमा रामेछापको साथै दोलखा, सोलुखुम्बु, ओखलढुंगा र सिन्धुली लगायतका जिल्लाबाट बिरामीहरु आउने गरेका छन् । बिरामीको चाप बढेसँगै मन्थली अस्पतालको १५ शैयाको नयाँ अस्पताल भवन निर्माणको काम पनि सम्पन्न हुने चरणमा पुगेको छ । हाल रहेको भवनबाट १५ शैयाको अस्पताल सञ्चालन हुँदै आएको छ । प्रादेशिक अस्पतालको रुपमा सञ्चालन भएपछि ५० शैयाको अस्पतालको रुपमा स्तरउन्नती हुनेछ ।
मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले मन्थली अस्पतालाई प्रादेशिक अस्पताल बनाउने घोषणाले आफूहरु खुसी भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘हामीले गरेको पहलले सार्थकता पायो, अब मन्थली अस्पताले झनै राम्रो स्वास्थ्य सेवा प्रवाह गर्नेछ ।’

मन्थली अस्पतालका डा. केशव धामीले प्रादेशिक अस्पताल बनाउने घोषणाले स्वास्थ्य सेवा प्रवाहमा पनि सुधार हुने बताए । उनले भने,‘अहिले दैनिक दुई जना बिरामी सेवा लिन आउने गरेका छन्, राम्रो सेवा सुरु भएपछि दैनिक रुपमा बिरामी थपिने क्रम बढदै गएको छ, अब प्रादेशिक अस्पताल बन्ने भएपछि रामेछापवासीसँगै छिमेकी जिल्लाका नागरिकहरुलाई पनि सहज हुन्छ ।’ हाल मन्थली अस्पतालमा आठ जना डाक्टरहरुले सेवा दिदै आएका छन् । मन्थलीसहित रामेछाप अस्पताल गरी अब जिल्लामा दुई वटा प्रादेशिक अस्पताल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्