तयार भो संविधान संशोधन प्रस्ताव,अंगीकृत नागरिकले मुख्यमन्त्री बन्न नपाउने



११ मंसिर, काठमाडौ ।

सरकारले आइतबार संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।  सरकारले  तयार पारेको मस्यौदामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीस, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र चार सुरक्षा निकायका प्रमुख पदमा निर्वाचित, नियुक्ति वा मनोनित हुन वंशजका आधारमा नागरिक भएको हुनपर्ने संवैधानिक व्यवस्थामा तलमाथि नगरी प्रस्ताव तयार गरिएको छ।

वैवाहिक अंगिकृतको हकमा नेपालको संविधान २०४७ र अन्तरिम संविधान २०६३ मा जस्तै व्यवस्था गर्ने प्रस्ताव गरिएको छ।  यस अनुसार नेपाली पुरुषसँग विवाह गरेका  विदेशी महिलाले विदेशी नागरिकता त्याग्न प्रक्रिया सुरू गरेको जानकारी दिएपछि वैवाहिक अंगिकृत नागरिकता पाउनेछन्। नागरिकताको विषयमा मधेसकेन्द्रीत दलहरूको  माग प्रचलित कानुन अर्थात यसअघिका संविधान अनुसार हुनुपर्छ भन्ने थियो।

संशोधन प्रस्तावको तयारीमा निरन्तर लागिरहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री निधिले राजनीतिक तहमा सहमति जुटेको भन्दै अन्तिम ड्राफ्टका लागि कानुन मन्त्रालयका सचिवलाई जिम्मा दिएको जानकारी दिए । ‘राजनीतिक तहमा संशोधनका चार बुँदामा सहमति भयो, अब ड्राफ्टका लागि कानुन मन्त्रालयका सचिवलाई जिम्मा दिएका छौँ,’ निधिले भने, ‘उहाँहरूले तयार गरेर दिएपछि आइतबार दर्ता गराउँछौँ।’

प्रतिक्रिया दिनुहोस्