मृत्युसंस्कार अब ‘पाँच दिन’ मात्र



१३ मंसिर, काठमाडौं ।

संस्कार सुधार समाज नेपालले अन्तिम संस्कार विधि लामो भएको भन्दै त्यसलाई पाँच दिनमा झार्नुपर्ने जनाएको छ । काजकिरियालाई समयसान्दर्भिक बनाउनुपर्छ भनेर अभियानमा लागेको समाजले ‘पाँचदिने अन्त्य पद्धति’ पुस्तक सार्वजनिक गर्दै काजकिरिया अवधिलाई शास्त्रसम्मत घटाउने विकल्प प्रस्तुत गरेको हो ।

?????????????????????????????????????????????????????????

‘मृत्यु संस्कारमा सुधार हो हाम्रो संकल्प, दस दिनको ठाउँमा तीनदिने विकल्प’ नाराका साथ लागेको समाजले काजकिरिया अवधि पाँच दिनमा झार्नुपर्ने अभियानलाई देशव्यापी बनाइरहेको छ ।पारसमणि पोखरेल र रुद्रप्रसाद आचार्यले तयार पारेको उक्त कृतिमा १० दिनसम्म गर्नुपर्ने काम तीन दिनमा तथा ११ औं र १२ औं दिनका काम क्रमशः चार र पाँच दिनमा कसरी गर्ने भन्ने प्रस्ट्याइएको छ । मृत्युसंस्कारको सरलीकृत अवधारणा, दसदान तथा गोदानविधि र पाँचदिने पद्धतिअनुसार किरियाकर्म गर्ने गराउने विषय त्यसमा समेटिएको छ ।

समाजको पहिलो साधारणसभामा कृति विमोचन गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले संस्कारभित्रका विकृति छोड्दै समयसापेक्ष भएर संस्कृति बचाउनुपर्नेमा जोड दिए । उनले भने, ‘संस्कृति जबर्जस्ती लाद्न मिल्दैन तर समयसापेक्ष यथार्थ गर्ने कुरा बुझाएर अघि बढे नस्विकार्ने कोही हुँदैन ।’

प्राध्यापक डा. वीणा पौडेलले कुनै बेला समाजका अभिन्न अंग बनेका बालविवाह, सती र दासप्रथा चेतनास्तर वृद्धि र समयसापेक्ष हुँदै विकृति भएकाले समाजबाट बाहिरिएको स्मरण गराइन् । उनले थपिन्, ‘दसकौंअघिका सोचाइ र चिन्तन सधैं सान्दर्भिक भइरहन्छन् भन्ने छैन । आवश्यकताले ल्याउने परिवर्तन सर्वस्वीकार्य हुन्छ ।’

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले विधि नघटाई पाँच दिनमा किरियाकर्म सक्नु जनहितमा हुने बताए । समाजका अध्यक्ष शंकरप्रसाद पोखरेल, सहअध्यक्ष धरणीप्रसाद गौतम र महासचिव डिल्लीरमण आचार्यले विवाहमा धेरै कुरा सुधारिएर छोटो भएजसरी मृत्युसंस्कारलाई पनि छोट्ट्याएर समयानुकूल पार्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्