कुलमानको विरुद्ध लाग्नेलाई ७ दिनेभित्र स्पष्टिकरण दिन निर्देशन



२१ मंसिर, काठमाडौं ।
बर्षौदेखि हटन नसकेको उपत्यकालाई लोडसेडिङमुक्त गरेरका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अभियान विरुद्ध लाग्नेहरुलाई सरकारले स्पष्टिकरण लिने भएको छ ।

लोडसेडिङ हटाउने अभियानलाई असहयोग गरेको अभियोग लागेका नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरुले सरकारले पठाएको स्पष्टीकरण पत्र बुझन अस्वीकार गरेपछि सूचना जारी गरेरै स्पष्टिकरण दिन आउन पुनः पत्रचार गरेको हो ।

nea-operation-board-jpg-1

सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलेलाई उर्जा मन्त्रालयले अवैधानिक रुपमा बैठक बसेर प्राधिकरणको सुधार अभियानलाई प्रभावित पार्न खोजेको भन्दै स्पष्टीकरण पत्र काटेको थियो ।

तर, उनीहरुले अनेक तरिकाबाट स्पष्टीकरणपत्र नबुझेको र उनीहरुका परिवारले पनि त्यसमा असहयोग गरेको उर्जा मन्त्रालका एक उप सचिवले बताए । अ‍ैधानिक रुपमा काम गरेका उनीहरुलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकररणमा सोधिएको छ । तर, उनीहरुले पत्र बुझनै अटेर गरेपछि उर्जा मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरेरै उनीहरुलाई प्रष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

urja-notice-jpg-1७ दिनभित्र स्पष्टीकरण पेश नगरे मन्त्रालयले विद्युत प्राधिकरण ऐन (२०४१) अनुसार कारवाही गर्ने जनाएको छ । यदि स्पष्टीकरण चित्त बुझ्दो नभए पनि उनीहरुलाई पदबाट हटाउने तयारी उर्जा मन्त्रालयको छ । उनीहरुलाई मन्त्रालयले मंसिर १७ गते नै स्पष्टीकरणपत्र काटेको थियो ।

सञ्चालकहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूखुसी निर्णय गरेको भन्दै अख्तियार समेत गुहारेका थिए । उपत्यकालाई लोडसेडिङमुक्त गरेर देशलाई नै लोडसेडिङमुक्त बनाउने अभियानमा लागेको घिसिङमाथि विद्युत प्राधिकरणका केही कर्मचारी नै विरुद्धमा लागेपनि जनदबाबको कारण उनीहरु पछाडि हटेका थिए ।

प्रतिक्रिया दिनुहोस्