‘स्वर्णपदक जितेको खुसी रामेछाप जिल्लावासीलाई बाँड्न चाहन्छु’



भावना सुनुवार,  स्क्वास खेलाडी

विराटनगरमा सम्पन्न सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा भावना सुनुवारले मध्यमाञ्चलको लागि स्वर्ण पदक जित्न सफल भइन । रामेछाप जिल्ला दुगागाउँ–५ मा जन्मिएर निकै ठूलो मेहनत र संघर्ष गर्दै स्क्वास खेलमा लागेकी सुनुवारले लगातार सफलता प्राप्त गर्दै आएकी छिन् ।

तीन वटा राष्ट्रिय खेलकुद प्रतियोगीतामा स्क्वास खेलतर्फ स्वर्ण पदक जित्न सफल भएकी छिन् । उनले सन् २००६ मा कोलम्बोमा सम्पन्न १० औं दक्षिण एसियाली खेल (साग) खेलकुद प्रतिगोगितामा कास्य र सन् २०१२ मा भारतको गुहाटीमा भएको १२ औं (साग)मा पनि स्क्वास तर्फ कास्य पदक जित्न सफल भएकी थिइन । यसैगरी सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जित्न सफल भावना सुनुवारसँग रामेछाप न्युजले गरेको कुराकानीः

सातौ राष्ट्रिय खेलकुद प्रतिगोगितमा स्वर्ण पदक जित्न सफल हुनु भो, कस्तो लागिरहेको छ ?
–निकै खुसी लागेको छ । स्वर्ण पदक जित्ने आत्मविश्वास गरेको थिए । सफल भए । यसको लागि निकै मेहनत पनि गरेको थिए । प्रयास गरे अनुसार स्वर्णपदक जित्न सफल भए ।

स्क्वास खेलमा प्रवेश गरेको कति बर्ष भयो ?
–विगत १५ बर्षदेखि म स्क्वास खेलमा आवद्ध छु ।
यो खेलमा कसरी प्रवेश गर्नुभयो ?
–गाउँमा कुनै सेवा सुविधा थिएन । मनमा खेलकुद क्षेत्रमा लागेर देशको लागि केही योगदान गर्छु भन्ने दृढ इच्छाशक्ति त थियो तर स्रोत र साधन थिएन ।

तपाईको चाहना कसरी पुरा भयो त ?
–मलाई मेरो दाइहरुले नै यो ठाउँमा ल्याई पुर्याएको हो । दाई नरबहादुर सुनुवार (फुटबल खेलाडी) र दाई ज्योति कुमार सुनुवार ( ब्यागमिन्टन खेलाडी) नै मेरो प्रेरणाको स्रोत हो । मेरो चाहना दाईहरुले पूरा गरिदिनु भो । दाइहरुले सधै हौसला दिइरहनु भयो मैले मेहनत गरेर देशको लागि केही गर्छु भनेर अठोट व्यक्त गरेर खेले । जुन सफलता हाल परिरहको छ ।
स्क्वास खेलप्रतिको आर्कषण कतिको छ ?
–अहिले खेल भनेको फुटबल र क्रिकेट मात्र हो भन्ने बुझाई छ । यो होइन । नेपालमा धेरै खेलहरु छन् । स्क्वास खेलको बारेमा पनि धेरैलाई जानकारी छैन् । यस खेलप्रति पनि विस्तारै आकर्षण बढ्दै गएको छ ।
यो पटक स्वर्ण पदक जित्न कतिको मेहनत गर्नु पर्यो ?
–मैले मेरो शारीरिक अवस्था कठिन हुँदा हुँदै पनि खेलमा सहभागी भए । शारीरिक अवस्थालाई ख्याल नगरी देशप्रति केही गर्नुपर्छ भन्ने भावनाले खेलमा सहभागी भए । डाक्टरले खेलमा सहभागी नहुन आग्रह गर्दा पनि मेरो आत्मविश्वासले खेले र सफल पनि भए ।
आगामी दिनमा तपाईको योजना के छ ?
–मैले कोच बन्ने सोच बनाएको छु ।
सफल खेलाडी बन्न के गर्नुपर्छ ?
–गाउँमा होस वा शहरमा आफूले खेल्ने खेलप्रति लगाब हुनुपर्छ । मेहनत निकै गर्नुपर्छ । दृढ इच्छा शक्ति र आत्मविश्वास चाहिन्छ । खेलमा इमान्दारीता पनि त्यतिकै खाँचो छ । खेलले शरीरलाई तन्दुरस्त बनाउछ ।  । खेलेले चिनाउछ । खेडालीले प्राप्त गर्ने सफलताले देशलाई पनि चिनाउछ । युवाहरुले खेलकुद क्षेत्रमा लागेर देश विकासमा ठूलो काम गर्न सक्छन ।

यो खुसी कसलाई बाँड्न चाहनुहुन्छ ?
–यो खुसी म जन्मएको रामेछापवासीसँग बाँड्न चाहन्छु । मलाई यस क्षेत्रमा लाग्न सधै प्रेरणा  दिने स्क्वास खेलका प्रशिक्षक, सुनुवार सेवा समाज र सबै देशवासीसँग साटन चाहन्छु । अहिले सबैतिरबाट बधाई आइरहेको छ । यसले मलाई थप हौसला प्रदान गरेको छ । आगामी दिनमा हुने खेलकुद प्रतियोगितामा  पनि पदक दिलाउने विश्वास व्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्