रामेछापको विकास गर्ने सांसद आङटावा शेर्पाको १५ योजना



राजधानी काठमाडौंबाट नजिकै रहेर पनि विकासको दृष्टिकोणले रामेछाप अझै पनि पछाडि नै छ । यसै बर्षबाट मात्र जिल्लाको सबै गाविसहरुमा मोटरबाटो पुगेको छ । तर बर्षाको समयमा आधाजसो सडकमा अझै पनि गाडी चल्ने अवस्था छैन् । खानेपानी, विद्युत स्वास्थ्य, शिक्षा कृषि लगायतको क्षेत्रमा सोचे अनुसारको विकासले गति लिन सकेको छैन् । रामेछाप क्षेत्र नम्बर १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद आङटावा शेर्पा संसदको विकास समितिको सदस्य पनि छन् । यसै विषयमा रामेछाप जिल्लाको विकास कसरी गर्न सकिन्छ ? जिल्लामा विकास निर्माणका आधार के–के हुन ? रामेछाप जिल्ला विकासको दृष्टिकोणले पछाडि पर्नुको कारण लगायतको विषयमा केन्द्रीत रहेर सांसद आङटावा शेर्पासँग रामेछाप न्युजले गरेको कुराकानीः
यस्ता छन शेर्पाका विकासका १५ योजनाः

आङटावा शेर्पा ,सांसद क्षेत्र नम्बर १ रामेछाप

सबै गाविसमा बाटो पुग्यो अब सधै गाडी चल्ने बनाउछु
रामेछाप जिल्लाको सबै गाविसहरुमा अहिले मोटर बाटो पुगेको छ । म सांसद भएपछि सरकारले प्रदान गर्ने पूर्वाधार विकास बजेट अधिकाशं बाटोमा नै प्रयोग भयो । मेरो पहिलो प्राथमिकता नै सबै गाविसमा बाटो पुर्याउने थियो । यसमा म सफल भएको छु । अब बर्षाको समयमा आधा बाटोमा पनि गाडी गुडदैन । कसरी हुन्छ सबै गाविसमा हिउद बर्षा नै गाडी गुडाउन सक्ने बनाउने लक्ष्य छ । तीन बर्षको बजेट सबै सडक निर्माणमा मात्र विनियोजन भयो । अपेक्षा अनुसार विकास भएको छ । अहिले खुसी मान्नु पर्ने भनेको सबै गाविसमा मोटरबाटो पुग्ने हो ।

सडक कालोपत्रमा प्राथमिकता
सडक निर्माण त भयो । अब कालोपत्रे पनि एक साथ गर्नुपर्ने आवश्यकता छ । बाटोसँगै पक्की पुलको पनि उत्तिकै खाँचो छ । जिल्लाको उत्तरी क्षेत्रका १६ गाविस गुम्देल–चुचुरे हुँदै खिम्तीसँग जोडिएको कच्ची बाटोलाई नै कालोपत्रे गर्ने भनेर प्राथमिकता राखिएको छ । यस सडकको लागि ३५ करोड रुपैयाँमा टेन्डर पनि भइसकेको छ । एक निर्वाचन क्षेत्र एक पुल अन्तर्गत पहाडी लोकमार्गमा पर्ने सुनकोसीको रामपुर गाविसमा पक्की पुलको लागि सर्भे भएर नवलपुरघाटमा पुल निर्माणको लागि टेन्डर प्रक्रिया अगाडि बढेको छ ।

मन्थली–रामेछाप सडक कालोपत्रे
सदरमुकाम मन्थलीबाट एडिबीको सहयोगमा जिल्लाको पुरानो सदरमुकाम रामेछापसम्मको १४ किलोमिटर सडक कालोपत्रेको लागि टेन्डर भइसकेको छ । मन्थलीबाट साँघुटारसम्म पनि कालोपत्रेको लागि प्रक्रिया अगाडि बढेको छ । पहिला विपीलाई त्याहँबाट जेल ल्याएको हुनाले साँघुटारबाट रामेछाप सेलेघाट विपी पदमार्ग नामाकरण गरेर कालोपत्र हुँदैछ । तिल्पुङको हलेदेबाट धोवी शिरिसेसम्म कालोपत्रे गर्नको लागि ४४ करोड रुपैयाँ विनियोजन भएको छ । उत्तर–दक्षिण चुचुरेको गर्जाङ हुँदै वाम्ती गुम्देलसम्म कालोपत्रेको लागि ३५ करोड रुपैयाँ विनियोजन भएको छ । रामेछापको कुनै पनि गाविसमा अब भारी बोक्नु पर्ने अवस्था छैन् । रामेछापको २९ गाविसमा मेरो कार्यकालमा बाटो पुग्यो । अब भारी बोक्ने दिन गए ।

खानेपानी अभाव भएको ठाउँमा नदीबाट पानी
रामेछाप वृहत्त खानेपानी आयोजना जिल्लामा लागू भइरहेको छ । जिल्लाको उत्तरी गाविसमा खानेपानीको त्यति धेरै समस्या छैन् । जिल्लाको दक्षिण क्षेत्रमा खानेपानीको समस्या नै छ । म विकास समितिको सदस्य भएको हैसियतमा पनि समितिको बैठकमा पहाडी जिल्लाहरुमाप पनि तराईमा दिएकै जतिकै विद्युतमा सुविधा दिनुपर्छ भनेर माग गरेको छु । सरकारले तराईका क्षेत्रमा सिचाईको लागि पाइने सेवा सुविधा रामेछाप जिल्लाले पनि पाउनु पर्छ भनेको छ । सरकारले पानी तान्ने विद्युतमा सुविधा दिनुपर्छ । कोशीबाट पानी तानेर डाँडा पुर्याउनु पर्छ । त्सकिो लागि सहुलित रुपमा विद्युत उपलब्ध गराउनुपर्छ । जिल्लाका दक्षिण क्षेत्रका बासिन्दालाई अब लिफ्टबाट पानी तानेर खुवाइन्छ । रामेछाप वृहत्त खानेपानी आयोजनाको हालको मुहानबाट पानी ल्याउदा पानी बाटोमै सकिने देखियो । त्यही भएर बत्तिको व्यवस्था सहित नदीबाट नै पानी तानेर खुवाउने योजना छ । यदी पानी तान्नको लागि सरकारले विद्युतको सुविधा दिन नसक्ने हो भने प्रत्येक लिफ्टमा सोलार फिट गरिदिनु पर्छ ।

अब रामेछाप झिलिमिलि हुन्छ अध्याँरोमा बस्नु पर्दैन
रामेछापका दुवै निर्वाचन क्षेत्रमा बत्ति बल्न बाँकी रहेका गाविसमाा अबको दुई बर्षभित्र सबै झलमल हुन्छ । यसको लागि टेन्डर प्रक्रिया अगाडि बढिसकेको छ । विद्युतीकरणको लागि सामुहिक रुपमा हामीले गरेको प्रयास सफल पनि भयो । कुनै पनि गाविसका बासिन्दा अब अध्याँरोमा बस्नु पर्दैन ।

जलविद्युत आयोजनाबाट धनी बनाउँछौ
क्षेत्र नम्बर १ मा जलविद्युतको ठूलो सम्भावना छ । लिखु र खिम्ती खोलाबाट अहिले पनि निजी कम्पनीहरुले विद्युत उत्पादन गरिरहेका छन् । प्रभावित क्षेत्रका गाविसलाई निशुल्क बिजुली दिने व्यवस्था छ । त्यसबाट पनि सुविधा लिन सकिन्छ । खिम्ती खोलाको शिरमा हिमाल इनर्जीले अहिले ११ मेगावाट विद्युत आयोजना निर्माण सुरु गरेको छ । गर्जाङ उपत्यकामा पनि ५ मेगावाटको विद्युत उत्पादन अन्तिम चरणमा पुगेको छ । यसै बर्ष केन्द्रीय प्रसारण लाइनमा जोडिन्छ । जिरीसम्म सवस्टेसन लाइन जोडिएको छ । लिखु १ र लिखु २ जलविद्युत आयोजना पनि बन्न भएको छ । यि दुई आयोजना झण्डै ९० मेगावाट विद्युत उत्पादन हुन्छ । खिम्ती २ ५० मेगावाटको पिपल्स हाइड्रो कम्पनीले निर्माण कार्य थालेको छ । यस आयोजनामा रामेछापवासी सबैले शेयर हाल्न पाउछन । क्षेत्र नम्बर १ मा तीन सय मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न सक्ने क्षमता रहेको छ ।

अब झोलामा खोला राख्ने दिन गए
झोलामा खोला राख्ने पहिला देखिकै चलन हो । यो चलन अब हटाउनु पर्छ । विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा पहिला नै खोला र नदी दर्ता हुने गरेको छ । यसले गर्दा निर्माण गर्ने कम्पनीले नै मौका नै पाउदैन । गत बर्ष खुल्ला प्रतिस्पर्धाबाट जो आउछ उसैलाई दिने नीति बनेको छ । अहिलेको सरकारले नचाहिने काम गरेको छ भन्ने सनिन्छ । जसले पहिला दर्ता गरेको छ उसैलाई दिने यो चलखेल भएको छ भन्ने सुन्नमा आएको छ । कर्मचारीको सहमति विना अरुले लाइसेन्स नै पाउदैनन् । अब यो काम रोक्नु पर्छ ।

स्वास्थ्य क्षेत्रमा धेरै सुधारको खाँचो
रामेछाप जिल्ला पहाडी क्षेत्र भएकाले स्वास्थ्य चौकीमा आउने कर्मचारीहरु धेरै बस्न नरुचाउने गरेको पाइएको छ । जसको कारण यहाँका बासिन्दाहरु सेवा सुविधा लिनबाट बञ्चित छन् । सबै गाविसमाा स्वास्थ्य चौकी छ । प्रत्येक स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य राख्ने भनेको छ । एउटा स्वास्थ्य चौकीमा क्षेत्रमा एउटा डाक्टर राख्ने नीति छ । अहिले त अहेवकै भरमा स्वास्थ्य चौकी चलेको छ । गाउँ गाउँमा अहिले स्वास्थ्य स्वयंसेवीहरको भूमिका निकै प्रभावकारी देखिएको छ । महिला स्वास्थ्य स्वयंसेवीहरको तलब भक्ता बृद्धि गर्नुपर्छ । सरकारले उपलब्ध गराउने औषधी पनि गाउँगाउँमा पर्याप्त रुपमा पुगेको छैन् ।

ठोसको फलाम चलाउने योजना
ठोसेमा रहेको फलाम खानी उत्खनन्को काम अगाडि बढाउनको लागि प्रयास गरेको हो । ठोसको फलाम खानीको अवस्थाको बारेमा चाइजिन कम्पनीले गरेको सर्भेको रिपोर्ट अनुसार गुणस्तर कम भएको भनिएको छ । उद्योग सञ्चालनमा अरबौ रुपैयाँ खर्च हुन्छ । उद्योग सञ्चालन गर्नेहरुले बढी नाफा कमाउन खोज्छन । अहिले लगानी गर्नेले लगानी पनि उठाउन गाह्रो भन्ने रिपोर्ट आयो । अब उद्योग विभागसँग पनि कुरा हुन्छ । पहिला त यहीको फलाम मार्फत कुटो कोदालो र बन्दुक पनि बनाएकै हो ।

किबी जुनार र अलैची खेतीमा आधुनिकरण
जिल्लामा जुनारको लागि चर्चित नै मानिन्छ । तर यसको व्यवसायिक रुपमा खेती हुन सकेको छैन् । परम्परागत रुपमा नै खेती हुँदै आएको छ । किसानहरुले आ–आफ्नै तरिकाले खेती गर्दै आएका छन् । अब जुनार खेतीलाई आधुकिरण गर्न आवश्यक छ । जुनार खेतीसँग अहिले किबी खेतीतर्फ पनि किसानहरु आर्कषित हुन थालेका छन् । यसको लागि पहल भइरहेको छ ।

चौरीपालनलाई प्राथमिकता
जिल्लाका केही गाविसहरु उच्च पहाडी क्षेत्रमा पर्छन । पयर्टनको साथसाथै पशुपालनको राम्रो सम्भवना बोकेका क्षेत्रहरु छन् । व्यवसायिक रुपमा केही स्थानमा चौरीपालन त भएका छन् । तर पर्याप्त रुपमा छैन् । स्रोत साधन जुटाएर पशुपालनलाई पनि प्राथमिकता दिनुपर्ने खाँचो छ ।

पञ्चायतकालमा दुर्गम रामेछाप सुगम बनाउदाको सास्ती
पञ्चायतकालमा दुर्गम रामेछापलाई सुगम बनाउदा अहिलेसम्म रामेछापवासीले सास्ती पाएका छन् । छिमेकी जिल्ला दोलखाले दुर्गम जिल्लाको हैसियतमा बार्षिक करोडौ अनुदान लिने गरेको छ । तर रामेछापले पाउदैन । यतिसम्म कि सुगम बनाउने नाममा रामेछापको भूमि नै दोलखामा मिलाउने काम भएको छ । दोलखा र रामेछापको सीमाना खिम्ती खोला हो । तर चुचुरे गाविसको अन्तिममा पुगेर ग्वाङखोलालाई सीमाना बनाएर रामेछापको ठूलो भूभाग दोलखामा मिसाउने काम भएको छ । नवराज सुवेदीले आफू राष्ट्रिय पञ्चायतको अध्यक्ष हुने नाममा रामेछाप जिल्लालाई सुगम बनाउदा त्ससको मार अहिलेसम्म रामेछापवासीले खेपरिहेका छन् । जटापोखरी पाँचपाखेरी रामेछाप जिल्लाकै भुभाग भएपनि दोलखा जिल्लाको चाहना विपरीत पनि दोखलातिर मिसाउने काम भयो । यो भुभाग फिर्ता गराउन बीच बर्षदेखि लागेको छु ।

पर्यटन विकासको आधार
रामेछापको क्षेत्र नम्बर १ पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र हो । अहिले लुक्लासम्म सिधै हवाई सेवा जोडियो । सुरुमा सगरमाथा जाने बाटो रामेछाप हुँदै जाने गरिएको थियो । दोलखाको जिरीबाट खिम्ती खोला, वाम्ती गुम्देल हुँदै सोलुखुम्बुको लुक्ला हुँदै सगरमाथा जाने गरिएको थियो । अहिले पनि जाने रुट छ । तर त्यति धेरै पर्यटकहरुको चहलपहल छैन । अहिले गाउँगाउँमा होटलहरु सञ्चालन गरिएको छ । पैदल यात्राको लागि पनि विभिन्न क्षेत्रमा रुट बनाउने काम भइरहेको छ ।

भुकम्प पीडितको समस्या समाधान गर्नपर्छ
भुकम्प गएको वीस महिना पुग्दा समेत वास्तविक भुकम्प पीडित भएर पनि कतिपय भुकम्प पीडित राहत पाउनबाट बञ्चित छन् । वास्तविक भुकम्प पीडितहरुले राहत पाउनु पर्छ । यसको लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग कुरा भएको छ । वास्तविक भुकम्प पीडितलाई राहत दिलाउने काममा सबै मिलेर अगाडि बढ्नु पर्ने आवश्यकता छ । सांसदको हैसियतमा मैले आफ्नो काम गरेको छु । भुकम्प पीडितहरुको अवस्था अहिले पनि कष्टकर नै छ ।

विकासमा तेरो मेरा नभनौ मिलेर अगाडि बढौं
विकासमा राजनीति नगरौं । मेरो पहलमा अहिले सबै गाविसमा मोटरबाटो पुगेको छ । सबै गाविसका जनताले उपभोग गर्ने हो । विकास भनेको साझा हो । सडक बन्यो कांग्रेस एमाले माओवादी राप्रपा सबैले चढने हो । खानेपानीका आयोजना बन्यो सबैले खाने हो । विद्यालय स्वास्थ्य चौकी बन्यो सबैले सेवा लिने हो । विकासमा तेरो मेरो नभनौ मिलेर अगाडि बढौ । भोट जता हालेपनि जनता सबैको साझा हो ।

प्रतिक्रिया दिनुहोस्