१५ बर्षमा नेपालको मुहार फेरिन्छः मन्त्री शर्मा



२७ चैत्र, मलेसिया ।
मन्त्री भएको आठ महिनाकै अवधिमा देशभर लोडसेडिङ हटाएर चर्चामा रहेका उर्जा मन्त्री जनार्दन शर्माले आगामी १५ बर्षमा नेपालको मुहार फेरिने बताएका छन् । उनले नेपालमा उर्जा क्षेत्रमा निकै राम्रो सम्भवना रहेको बताउदै नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।
नेकपा माओवादी केन्द्र निकट जनप्रगतिशिल मञ्च मलेसियाको सम्मेलनलाई आइतवार मलेसियामा सम्बोधन गर्दै मन्त्री शर्माले नेपाललाई विद्युत मार्फत समृद्ध बनाउन ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अगाडि सारेको बताए । उनले भने,‘विकास गर्न इच्छा शक्ति चाहिन्छ, माओवादी नेतृत्वको सरकारले त्यो उदाहरण पेश गरेको छ, दस बर्षमा अन्त्य गर्न सकिदैन भनेको लोडसेडिङ छ महिनामै हटाउन सफल भयौं ।’

मलेसियामा ७ लाख नेपालीहरुले महिनामा एक सय रिंगेट मात्र नेपालको उर्जा क्षेत्रमा लगानी गरे बर्षमा एक सय अर्ब उठने बताउदै विदेशमा रहेका सबै नेपालीले यसरी नै लगानी गरे नेपाल फर्किएदा पेन्सनजस्तै हुन्छ, उनले भने । नेकपा माओवादी केन्द्र्रका पोलिटब्यूरो सदस्य एवं विदेश विभाग सचिव युवराज चौलागाईले देशको नेतृत्व माओवादीले मात्र गर्न सक्ने बताएका छन् ।

संविधान कार्यान्वयन र विकास निर्माणलाई गति दिन माओवादी नेतृत्वको विकल्प नभएको बताएका हुन् । माओवादीकै कारण देशमा गणतन्त्र, धर्मनिरपेक्षता संघीयता समानुपातिक समावेशीता लगायतको अधिकार प्राप्त भएको बताउदै नेता चौलागाईले भने,‘सिंहदरवारमा केन्द्रीत अधिकार माओवादीकै नेतृत्वमा गाउँगाउँमा पुर्याउने काम माओवादीले नै गरेको हो ।’
माओवादीकै कारण देशमा पहिलो पटक राष्ट्रपति, सभामुख र प्रधानन्यायाशीमा महिलाहरुले नेतृत्व गरेको बताउदै संविधान मार्फत प्राप्त गरेको अधिकार संस्थागत गर्नको लागि सबै लाग्नु पर्ने बताएका हुन् । माओवादीलाई घेराबन्दी गर्ने अनेक षडयन्त्र गरेपनि पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले धेरै षडयन्त्र चिरेर देशको नेतृत्व गरिरहेको बताए । स्थानीय तहको निर्वाचन असफल पार्न विभिन्न शक्ति केन्द्र र केही राजनीतिक दलहरुले लागेको बताउदै चौलागाईले कुनै पनि हालतमा आगामी वैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन हुने बताए ।

मलेसियामा रहेका नेपालीहरुलाई सकेसम्म स्थानीय तहको निर्वाचनमा नेपाल फर्किएर माओवादीलाई जिताउन आग्रह गर्दै उनले भने,‘माओवादीले सिंहदरवारको अधिकार गाउँगाउँ पुर्यायो, माओवादीलाई जिताउन सबै नेपालीहरु लाग्नु पर्छ ।’

कार्यक्रममा वाइसियलका संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा ‘दिपशिखा’ले नेपालको परिवर्तन माओवादीकै कारण सम्भव भएको बताए । उनले २४ बर्षसम्म कांग्रेस र एमालेले गर्न नसकेको विकास माओवादीले तीन बर्षमा गर्न सफल भएको बताए । भेलाले प्रेम पाण्डको अध्यक्षतामा ३३ सदस्यीय जनप्रगतिशिल मञ्च गठन गरेको छ ।

तस्बीरः रामप्रसाद सापकोटा ‘दिपशिखा’को फेसबुकबाट । 

प्रतिक्रिया दिनुहोस्