रामेछापलाई समृद्ध बनाउने लेखबहादुर कार्कीको १२ योजना



स्थानीय तहको निर्वाचनको मिति नजिकदै जादा रामेछाप जिल्लाको २ नगरपालिका र ६ गाउँपालिकाको विकास कसरी गर्ने भन्ने बहस सुरु भएको छ । अधिकार सम्पन्न स्थानीय तहमा अबको नेतृत्वदेखि लिएर समग्र नगरपालिका र गाउँपालिकाको विकासकै बारेमा चियापसलदेखि उम्मेदवार छनोटसम्म चर्चा हुने गरेको छ । रामेछापवासीले समृद्धिको सपना देखेको धेरै बर्ष वितिसक्दा समेत अझै साकार हुन सकेको छैन् ।
प्राकृतिक स्रोत साधनमा सम्पन्न भएर पनि सही ढंगले उपयोग  गर्न नसक्दा रामेछाप जिल्ला विकास निर्माणमा पछाडि परेको छ । जिल्लाको सडक, स्वास्थ्य,बिजुली, शिक्षा, सिचाई, कृषि क्षेत्रको विकास कसरी गर्न सकिन्छ ? भन्ने बारेमा जिल्लामा अझैसम्म स्पष्ट योजना र नीति बन्न सकेको छैन् ।

बार्षिक रुपमा सरकारले बिनियोजन गर्ने बजेट कनिका छरेजस्तै भएको छ । एकीकृत योजना नबन्दा कतिपय विकास निर्माणका योजना दिगो बन्न सकेको छैन् । यसै विषयमा २०४५ सालदेखि नेपाली कांग्रेस पार्टीबाट राजनीतिमा सक्रिय युवा नेता एवं नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेछापका सचिव लेखबहादुर कार्कीले रामेछापलाई समृद्ध बनाउने योजना अगाडि सारेका छन् । स्थानीय शान्ति समिति रामेछापका संयोजक समेत रहेका कार्की २०४५ सालदेखि निरन्तर रुपमा रामेछापमै रहेर राजनीतिक कर्ममा सक्रिय छन् । यसै विषयमा कार्कीसँग रामेछाप जिल्लाको विकास कसरी गर्ने भन्ने विषयमा रामेछाप न्युजले गरेको कुराकानीः–

लेखबहादुर कार्की,  सचिव, नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछाप

 यस्तो रामेछापलाई समृद्ध बनाउने कार्कीको १२ योजना

बाह्रै महिना सबै क्षेत्रमा यातायात सञ्चालन
हिजो पञ्चालयत कालमा आफ्नो  व्यक्तित्व निर्माण गर्ने नाममा दुर्गम जिल्लालाई सुगम घोषणा गर्दा रामेछाप जिल्ला विकास निर्माणबाट बञ्चित भएको थियो । अहिले शैक्षिक, भौतिक निर्माण, बिजुली खानेपानी, टेलिफोनको लगायतका क्षेत्रमा विकास भएको छ । जनप्रतिनिधि नभएको अवस्थामा पनि रामेछापका राजनीतिक दलहरुले मेहनत गर्न सफल भयौं । जिल्लाको आठ वटै स्थानीय तहमा सडक पुगेको छ । सडक पुगेपनि सहज रुपमा हिउद बर्षा नै यातायात सञ्चालन गर्ने सडक रामेछापमा छैन् । सडक निर्माण भएपनि आवश्यक पुल निर्माण हुन सकेको छैन् । जिल्लामा बाटो खनिएको मात्र छ । सडक बनाइएको छैन् । अहिले केही कालोपत्रे गर्ने क्रम सुरु भएको छ । अहिले टोले सडकमा धेरै पैसा खर्च भएको छ । अब टोले बाटोलाई बन्द गराएर मुख्य सडक निर्माणलाई प्राथमिकता दिनुपर्छ ।

अब मापदण्ड बनाएर मात्र सडक निर्माण
जिल्लामा ११ सय किलोमिटर सडक निर्माण गर्दा प्रभावकारी रुपमा मापदण्ड लागू हुन सकेन । मापदण्ड बिना खनिएका सडकले प्राकृतिक स्रोत साधन ध्वस्त मात्र भएको छैन्,  सडकको अवस्थामा समेत राम्रो छैन् । हुचुवाको शैलीमा निर्माण भएका सडकको कारण दिनदिदै समस्या थपिएका छन् । कतिपय ठाउँमा पुनः दोहोर्याएर सडक खन्नु पर्ने अवस्था छ । सुरुमा बाटो मात्र खोज्यौ । त्यसबाट हुन सक्ने क्षतिको आकलन नै गरेनौं । सडक निर्माणकै कारण आज कतिपय खानेपानीका मुहान सुकेका छन् । मुहान पुरिएका छन् । सडक निर्माण गर्दा सबै सरोकारवाला निकायबीच समन्वय गरेर बाटो खन्नु पर्दथ्यो । अब जथाभावी सडक खन्ने क्रम रोक्नु पर्छ ।

घरघरमा खानेपानी पहिलो प्राथमिकता
रामेछापमा साबिकका २८ वटा गाविस खानेपानीबाट बञ्चित छन् । खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर आगाडि जानुपर्छ । अहिले जिल्लामा १ सय ३१ वटा खानेपानीका आयोजना सञ्चालनमा छन् । तर बजेट निकै न्युन छ । लिफ्ट खानेपानी योजनामा अगाडि बढाइएको छ । लिफ्ट मात्र यस क्षेत्रमा एक मात्र विकल्प हो । पिउने पानीसँगै भुकम्प पीडितले घर निर्माणमा समेत पानीको अभाव देखिएको छ । धेरै वडामा अहिले पनि पाँच रुपैयाँ लिटर कोसीको पानी  बोकेर  घर निर्माण गरिरहेका छन् । खानेपानीबाट रामेछाप अत्यन्तै पीडित र प्रभावित छ । कि कोसी किनारको पानी ताल्नु पर्ने, कि त बस्ती नै कोसी किनारमा सार्नुपर्ने बाँध्यता सृजना भएको छ ।

२ बर्षमा सबैको घरघरमा बिजुली
दुई बर्षभित्र रामेछापको सबै घरघरमा बिजुली बाल्ने योजनामा हामी छौं । एउटा टेन्डरवालाले बदमासी गरेको कारण अहिले पनि रामेछापवासी बिजुली उपभोग गर्नबाट बञ्चित छन् । अहिले डेन्डर स्वीकृत भएर काम अगाडि बढ्ने क्रममा छ । विगतमा केही कमजोरी भएपनि अबको दुई बर्षभित्रमा रामेछापका ६ गाउँपालिका र २ नगरपालिकाको सबै क्षेत्रमा बिजुली बल्छ ।

अनिवार्य रुपमा एकीकृत वस्ती निर्माण गर्नुपर्छ
रामेछापको भौगोलिक अवस्थालाई दृष्टिगत गरेर एकीकृत वस्ती निर्माण गर्नुपर्छ  ।  भौगोलिक कठिनाईको कारण नै स्वास्थ्य शिक्षा, बिजुली, सडक लगायतका आवश्यक पूर्वाधार पुर्याउन निकै कठिनाई भएको छ । एकीकृत वस्ती निर्माण गर्दा सबै सेवा सुविधा पुर्याउन सहज हुन्छ । एकीकृत वस्ती विकास गर्न जनताको चेतनास्तर बृद्धि हुन अझै केही समय लाग्ने देखिन्छ । अब सरकारले नै नीतिगत रुपमा बाँध्यात्मक अवस्था सृजना गरेर पहाडी क्षेत्रहरुमा एकीकृत वस्ती विकास गर्ने योजना अगाडि सानुपर्छ । अब पनि एकीकृत वस्ती निर्माणको अभियान नथाल्ने हो भने हामी लथालिङको अवस्थामा पुग्छौं । एउटा घरबाट अर्को घरमा बिजुली पुर्याउन कम्तिमा  पनि छ लाख रुपैयाँसम्म खर्च भएको छ । सडक पुर्याउन उत्तिकै खर्चिलो छ । त्यो खर्चबाट घर मात्र बनाइदिने हो भने पनि सरकारलाई नै फाइदा हुन्छ । भुकम्पको कारण कतिपय ठाउँमा घर निर्माण गर्न नहुने अवस्था छ । दुरागाउँ,भुजी लगायतको ठाउँमा तत्काल एकीकृत वस्ती विकास गर्नुपर्छ । अब निर्वाचित हुने गाउँपालिका  र नगरपालिकाका जनप्रतिनिधिले पहिलो प्राथमिकता एकीकृत वस्ती निर्माण गर्नेमा दिनुपर्छ । सुरुमा केही नमूना बस्ती विकास गरौं । पुननिर्माण प्राधिकरणले पाँच बर्षको नीति लागू गरेको छ । हामीले १५ बर्षको योजना लागू गरेर एकीकृत वस्ती विकास गर्नुपर्छ । एकीकृत पुँजी निर्माण गरेरेर घर निर्माणसँग बाँकी आर्यआर्जका काम पनि एक साथ अगाडि बढाउनु पर्छ ।

१७ सय मेगावाट जलविद्युत आयोजनामा रामेछापवासीलाई सेयर
रामेछापमा अहिलेसम्म १७ सय मेगावाट बिजुलीको लागि लाइसेन्स प्रदान भएको छ । अझैं थप हुन सक्ने सम्भावना पनि छ । १७ सय मेगावाट विजुली रामेछापमा उत्पादन  हुनु भनेको निकै महत्वपूर्ण कुरा हो । यसले रामेछापलाई कायापलट बनाउछ । सरकारले नीति निर्माण गर्दा स्थानीय तहमै जिम्मेवारी दिने हो भने अनिवार्य सेयर र निशुल्क सेयर जनतालाई दिनुपर्छ । सबै जलविद्युत आयोजना सञ्चालन गर्ने हो भने पानीले नै रामेछापवासीलाई समृद्ध बनाउछ । जुन ठाउँमा जलविद्युत उत्पादन हुन्छ । त्यसको संरक्षण, दैनिक सञ्चालन गर्नेदेखि स्थानीयस्तरमा नै रोजगारी सृजना हुन्छ । जलविद्युत आयोजना एउटा समृद्धिको पाटो हो ।

रामेछापमा सञ्चालन हुने उद्योगमा अनिवार्य सेयर
रामेछापको कुनै पनि स्थानीय तहमा सञ्चालन हुने उद्योग धन्दामा अब अनिवार्य रुपमा स्थानीयले सेयर पाउनु पर्छ । स्थानीय तहमा सञ्चालन हुने उद्योगमा अनिवार्य रुपमा गाउँपालिका र नगरपालिकाको बासिन्दालाई सेयर प्रदान गरेर मात्र उद्योग सञ्चालनको स्वकीकृत दिनुपर्छ । अब एउटा व्यक्ति मात्र धनी हुने मानसिकता छोडनु पर्छ । अब सबै धनी बनाउने अभियान थाल्नु पर्छ । सबै मानिसहरुले बिहान खायो बेलुका के आउ भन्ने चिन्ताको अन्त्य गर्नुपर्छ । गरिबीको नारा दिएर अब राजनीति गर्नु हुन्न । अब समृद्धिको नारा दिएर राजनीति गर्नुपर्छ । अब निरीहताको नारा दिएर हुँदैन । अब सम्पन्नता खोज्नु पर्छ । जिल्लामा ठोसेको फलाम खानी छ । अग्राख खानी र तामा खानी छ । अब विदेशी कम्पनीहरु आएर फुत्त फलाम झिकेर जाने वातावरण सृजना गर्नुहुन्न । अब उद्योग सञ्चालन गर्दा स्थानीयको अनिवार्य स्वामित्व हुनुपर्छ ।

नदी किनाराका बस्तीमा सिचाइँ
सरकारले किसानहरुलाई अनुदान दिन्छु भनेर अत्यन्त लोकप्रिय नारा दिएको छ । त्यो नारामा मात्र सीमित छ । अहिले पनि रामेछापका युवाहरु रोजगारीको लागि खाडीमूलुकमा जान बाँध्य भएका छन् । सुनकोसी,तामाकोसी र लिखुका धेरै फाँटहरु बाझो छ । अब परम्परागत रुपमा सोचेर हुँदैन । नदी किनाराका बस्तीलाई नदीबाट पानी तानेर सिचाइँ गर्नुपर्छ । सिचाइँमा प्रयोग गर्ने विद्युत सरकारले कृषिको लागि निशुल्क प्रदान गर्नुपर्छ । व्यवसायिक रुपमा कृषकले फर्म दर्ता गरेर काम गर्छ भने एउटा प्राविधिकको व्यवस्था गर्नुपर्छ । बालिनालीको निःशुल्क  विमाको व्यवस्था गरिनुपर्छ । अहिले बिमा लिनु आउनु पर्दा भएको सम्पत्ति सकिने अवस्था छ । जिल्ला कृषि विकास कार्यालय त अहिले चारो छर्ने हिसाबले मात्र काम गरेको छ । व्यवसायिक कृषि प्रणालीको विकास गरेर नदी किनाराका सुख्खा फाँटलाई पैसा फलाउने फाँटको रुपमा विकास गर्नुपर्छ । कृषकलाई अपनत्व गराउनु पर्छ । योजनाबद्ध रुपमा व्यवसायिक रुपमा दुई सय जना सम्मलाई एउटै फाँटमा रोजगारी सृजना गर्न सकिन्छ गर्नुपर्छ ।

मन्थलीलाई हराभरा बनाउन सकिन्छ
विगतदेखि नै मैले मन्थली नगरपालिकाको करमबोटबाट पानी लिफ्ट गरेर टेकनपुरको माथिल्लो भागमा लैजाने र त्यहाँबाट कुलो खनेर  मन्थली नगरपालिकाको वडा २, १ र ३ मा सञ्चालन गनुपर्छ भन्दै आएको छु । यसो गर्न सकियो भने मन्थलीमा अहिले धुलो उडने सबै क्षेत्र हराभरा हुन्छ । मन्थली नगरपालिकामा  यो योजना सम्पन्न गर्न सके कायापलट नै हुन्छ । मलिलो र पारिलो जमिनमा  पसिना मिसाउन सके मन्थली नगरपालिलाई समृद्ध बनाउन एउटा इट्टा थप्ने काम हुन्छ । चिसापनी ओढारे र लिखुको फाँटमा पनि यसरी सिचाइँ गर्न सकिन्छ । यसको लागि पहिलो त इच्छा शक्ति चाहिन्छ । यसको लागि सरकारकै मुख ताकेर बस्नु पर्दैन । स्थानीयबासी सबै जुरुक्क उठने हो भने के असम्भव छ ?

कृषि सहकारी मार्फत जुनार संकलन र बजार व्यवस्थापन
पहिलो त वीस बर्ष अघिको जुनारको बोट अहिले रोगी छन् । ती बोटलाई विस्थापित गर्नुपर्छ । नयाँ प्रविधिबाट  नयाँ विरुवा ल्याएर रोप्नु पर्छ । अहिले जुनारमा एक खालको औस्याहा किरा लाग्ने रोग छ । त्यो रोग निराकरण गर्न प्राविधिक टोली सरकारले नै व्यवस्था गरिदिनुपर्छ । कृषिकले उत्पादन गरेको गुणस्तरीय जुनार बजारसम्म पुर्याई दिनुपर्छ । नयाँ रुख लगाउदा अनिवार्य रुपमा बिमाको व्यवस्था गर्ने प्रणालीको विकास गर्नुपर्छ । बजारको व्यवस्थापन नगरपालिका र गाउँपालिकाले गरिदिनुपर्छ । उत्पादन भएको जुनार कृषि सहकारी मार्फत संकलन गर्नुपर्छ । रामेछापमा अहिले सस्तोमा काँचो जुनार बेच्ने चलन छ । अब त्यसो गर्न दिनु हुँदैन । जुनार पाक्ने महिनामा गुणस्तर प्रमाणित गरेर बजारमा नगरपालिकाले नै पठाउनु पर्छ । अब जुनारको दाना मात्र बेचेर मात्र हुँदैन ।  जसरी अहिले हामी रेटबुल खान्छौ । पेप्सी खान्छौं । त्यसैगरी नै जुनारको जुस खाने उद्योग रामेछाप नगरपालिकाभित्र नै सञ्चालन गर्नुपर्छ । सबै जुनार व्यवसायी र त्यहाँका कृषिकहरुको सेयर लगानी गरेर उद्योग खोल्नु पर्छ । त्यो चल्छ । चलाइन्छ ।

आत्मसम्मान सहितको कृषि पेसा
रामेछापमा जति पनि रातो माटोका टारीहरु छन, त्यहाँ अनार उत्पादन गर्ने राम्रो सम्भावना छ । त्यसको गुणस्तर राम्रो हुनुपर्छ । बजार नपाउने भन्ने त कुरै छैन् । अहिले उत्पादन भएको अनार डोकोमा ल्याएर सदरमुकामा ल्याएर बेच्नु पर्ने अवस्था छ । रामेछापमा उत्पादन हुने अनार राजधानी काठमाडौं, पोखरा, विराटनगरमा सहज रुपमा पुर्याउन सकिन्छ । यति मात्र होइन अन्तर्राष्ट्रिय बजार पनि राम्रो छ । रामेछापबाट वीरगन्ज जम्मा सात घण्टाको दुरीमा छ । जिल्लामा जे उत्पादन हुन्छ । त्यसको बिमा, सेयर र बजारको व्यवस्थापन गर्नुपर्छ । ओग्रनी, हिमगंगा रामपुर लगायतका क्षेत्रलाई पकेट क्षेत्रको रुपमा अगाडि बढाउन सकिन्छ । जनताले उत्पादन गरेको बस्तु बोटमा कुहिने होइन, आत्मसम्मानको साथ मेरो जुनार मेरो सम्पन्नताको प्रतिक हो । बाल बच्चाको भविष्य हो भन्ने अवस्था सृजना गर्न सक्नु पर्छ ।

विकास निर्माणमा हुन ढिलासुस्ती स्वीकार्य हुन सक्दैन
निर्माण व्यवसायीहरुले बदमासी गर्दा समयमा नै विकास निर्माण सम्पन्न नहुने ठूलो समस्या छ । अब यो समस्या समाधान गर्नुपर्छ । जनताको प्रत्यक्ष दैनिक जनजीवनसँग जोडिएको विकास निर्माणमा हुने ढिलासुस्तीको विरुद्ध सबै एकताबद्ध भएर लाग्नु पर्छ । खानेपानी लगायतका विकास निर्माणका योजना सम्पन्न नहुँदा  जनताले हैरानी खेप्दै आएका छन् । निर्माण व्यवसायीले चार ठाउँमा हात हाल्ने र समयमा काम सम्पन्न नगर्ने परम्परा छ । अब पनि हामीले नयाँ ढंगले नजाने हो भने पैसा मात्र बनाउने कि समय पनि किटान गरेर सम्झौता गर्ने ? समयमा काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई ब्ल्याक लिस्टमा राख्ने मात्र होइन आजीवन काम गर्न नपाउने व्यवस्था गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्