मन्थलीलाई देशकै नमूना नगरपालिका बनाउछुः श्रेष्ठ



आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनले रामेछाप जिल्लाको मन्थली नगरपालिकामा चुनावी महालो तातिएको छ । मन्थली नगरपालिकामा हाल झण्डै ४५ हजार जनसंख्या छ भने २७ हजार मतदाता रहेका छन् । मन्थली नगरपालिका स्थापना भएको दुई बर्ष मात्र पुगेको छ । नगरपालिकामा १४ वटा वडा रहेको छ । अझै पनि जनताको अपेक्षा अनुसार मन्थली नगरपालिको विकास हुन सकेको छैन् । मन्थली नगरपालिकाबाट नेकपा माओवादी केन्द्रले पूर्व सभासद तारानारायण श्रेष्ठलाई नगर प्रमुखको उम्मेदवार घोषणा गरेको छ । जिल्लामा रहेर जनताको दुःख–सुखमा साथ दिदै आएका मेयरका उम्मेदवार श्रेष्ठ जनताको बीचमा लोकप्रिय मानिन्छन । माओवादी केन्द्रले मन्थली नगरपालिकामा चुनाव जित्ने दावी पनि गरेको छ । यसै विषयमा मन्थली नगरपालिमा मेयरका उम्मेदवार तारानारायण श्रेष्ठसँग मेयरमा विजयी भए समग्र मन्थली नगरपालिको गर्ने तपाईको के योजना छ भन्ने विषयमा केन्द्रीत रहेर रामेछाप न्युजले गरेको कुराकानीः–

मन्थली नगरपालिकाभित्रका सबै सडक कालोपत्रे
मन्थली नगरपालिकामा थोरै मात्र सडक पिच छ । नगरपालिकाले पूर्वाधार विकास गर्नु नै मेरो पहिलो प्राथमिकता छ । कुनै विकास निर्माणको लागि सडक पहिलो शर्त हो । नगरपालिकाका सबै वडामा सडक त पुगेका छन् । तर सबै सडक गाडी गुडाउन योग्य छैनन् । त्यसैले मेरो पहिलो प्राथमिकता भनेको नगरपालिको समग्र सडकको गुरु योजना बनाएर प्राथमिकता निर्धारण गर्दै पिच गर्ने हो । हाल मन्थलीमा मात्र सडक पिच छ । अबै वडाको सबै ठाउँमा सडक पिच गर्नुपर्छ । सडकसँग शहरी क्षेत्रमा ढल पनि अनिवार्य रुपमा विस्तार गर्नुपर्छ भन्ने मेरो योजना छ । बजार क्षेत्रमा मात्र होइन अव नगरपालिकाले सबै वडामा समान ढंगले विकास गर्नुपर्छ । परम्परागत रुपबाट होइन होइन अब जनताको समस्यालाई केन्द्रमा राखेर काम गर्नुपर्छ । मन्थली नगरपालिकाभित्र सबै नगर क्षेत्र मात्र छैन । वडाको सबै केन्द्रमा सडक पुगेको छ । अब प्रत्येक टोलटोलमा सडक पुर्याउने लक्ष्य मैले लिएको छु ।

दुई महिनाभित्र बिजुली नपुगेको ठाउँमा बिजुली
अझै पनि गरपालिका केही वडामा जनताहरु बिजुली बाल्नबाट बञ्चित छन् । बिजुली बत्ती आधारभुत पूर्वाधार हो । मलाई मेयरमा विजयी गराए बिजुली बत्तीलाई उच्च प्राथमिकता दिनुछ । दुई महिनाभित्र बिजुली बाल्नबाट बञ्चित जनालाई बिजुली पुर्याउछु ।

पुननिर्माणलाई तिब्रता दिन्छु
मन्थली नगर १० हजार भुकम्प पीडित छन् । भुकम्पको कारण आधा भन्दा बढी घर ध्वस्त भएको छ । सकेसम्म अब परम्परागत घर निर्माण होइन एकीकृत वस्ती निर्माणकै अभियान सञ्चालन गर्ने मेरो लक्ष्य छ । एकीकृत वस्ती निर्माण गर्न सकेन सडक, खानेपानी, बिजुली, स्वास्थ्य शिक्षा लगायतका पूर्वाधारको विकास गर्न सहज हुन्छ ।

प्रत्येक घरघरमा खानेपानीको धारो
मन्थली गरपालिका सुख्खाग्रस्त क्षेत्रमा पर्छ । नगरपालिकामा पानीको स्रोत भनेको तामाकोसी नै हो । मन्थली नगरपालिकामा कतै पनि खानेपानीको मुहान छैन् । सबै ठाउँमा तामाकोसी नदीबाट लिफ्ट सिस्टम मार्फत खानेपानी वितरण हुँदै आएको छ । प्रत्येक घरघरमा खानेपानीको धारो पुर्याउने लक्ष्य लिएको छु । अहिले पनि नगरवासीहरु कोसीको पानी ट्याङकरबाट ल्याउने र किनेर खान बाध्य छन् ।

नगरपालिकालाई हरियाली बनाउन बृक्षरोपन
नगरपालिका सुख्खा ग्रस्त हुँदा थोरै हावा चल्दा पनि धुलाम्य हुने गरेको छ । मन्थली नगरपालिकाभित्र हरियाली बढाउन खाली रहेका जग्गामा जनताकै संलग्नतामा बृक्षरोपन गर्नुपर्छ । नगरपालिकाको सार्वजनिक क्षेत्रमा मात्र होइन निजी रुपमा पनि वृक्षरोपन गर्ने कार्यक्रम अगाडि बढाउने योजना बनाएको छु । यसबाट हरियाली प्रर्बद्धन गर्न सहयोग पुग्नेछ ।

नगरपालिकाभित्र डम्पिङ साइट निर्माण
गर्मी क्षेत्र भएकाले मन्थली नगरपालिकाभित्र फोहोर व्यवस्थापन गर्ने चुनौती पनि छ । सुख्खा ग्रस्त क्षेत्र भएकाले पनि व्यवस्थित डम्पिङ साइट गर्नुपर्ने आवश्यकता छ । बजार क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापन पहिलो चुनौती हो । बढीमुहान क्षेत्र र सिद्धार्थ नगर क्षेत्रमा डम्पिङ साइट निर्माण गर्नुपर्छ ।

नगरपालिको गुरु योजना बनाएर काम गर्छु
मन्थली नगरपालिकाको अहिलेसम्म गुरु योजना बन्न सकेको छैन् । नगरपालिको १६ वटा वडालाई समान ढंगले सडक, स्वास्थ्य शिक्षा, रोजगारी, उद्योग धन्दा स्थापना गर्नको लािग गुरु योजना निर्माण गरेरै काम गर्छु । नगरपालिकाभित्र कति वटा सडक बन्ने कस्तो बन्ने टुंगो लगाउनु पर्छ । अब जति पनि गर्छु गुरु योजना अनुसार गर्छु । गुरु योजना बनाएर देशभरीकै मन्थली नगरपालिकालाई नमूना नगरपालिका बनाउछु । मन्थलीलाई नमूना नगरपालिको रुपमा देश भर चिनाउने काम गर्छु ।

प्रतिक्रिया दिनुहोस्