तामाङ चलचित्र ‘सेम ताबा म्ही’ जेठ १५ बाट प्रदर्शन हुने



तामाङ समुदायभित्र रहेको छोरा र छोरीबीचको विभेद र शैक्षिक असमानताको विषय समेटेर निर्माण गरिएको तामाङ भाषाको कथानक चलचित्र ‘सेम ताबा म्ही’ (मन पर्ने मान्छे) यही जेठ १५ गते प्रदर्शनमा आउने भएको छ ।

राजकुमार मोक्तानद्धारा निर्देशित चलचित्रको जेष्ठ १५ गते राष्ट्रिय नाचघरमा प्रिमियर शो हुनेभएको छ । समाजमा छोराछोरी बराबरी हुन् भन्ने मूल सन्देशमा आधारित शैक्षिक चेतनामूलक तामाङ कथानक चलचित्र ‘‘सेम ताबा म्ही’ को परिकल्पना तथा कथा करिब २ दशक जति नेपाली र तामाङ भाषाको गीत लेखनमा सक्रिय भूमिका निभाएका गीतकार तथा कवि राजकुमार मोक्तानले नै लेखेका हुन् ।

निर्देशक, राजकुमार मोक्तान

यस अघि नै अभिप्राय, अभिलाषा, अन्तर्दृष्टि फ्याफुल्ला (तामाङ भाषा), आई लभ यु फरेभर जस्ता गीति एल्वमका रचनाकार तथा शान्तिको अपहरण नामक खण्ड काव्य पनि बजारमा ल्याइसकेका मोक्तानको फिल्म भने पहिलो हो ।

सुटिंगकै क्रममा धेरै नै खर्चिलो तामाङ फिल्म बन्न लागेको भनेर नेपाली तामाङ फिल्मी बजारमा मात्रै हैन बिदेशमा समेत चर्चा भएको यस चलचित्र अहिले झनै चर्चाको शिखरमा पुगेको छ ।

आफ्नो परिकल्पना र कथालाई, नेपाली र तामाङ गरी झन्डै साढे ३ दर्जन चलचित्रको स्क्रिप्ट लेखिसकेका ऋतुराज पाख्रिन (घना)ले यस चलचित्रमा पनि आफुले सोचेको र चाहेको जस्तो पटकथा र संवाद दिएको बताउँछन ।

पुरै तामाङ भाषा र परिवेशमा तयार गरिएको यस ‘सेम ताबा म्ही’ मा ४ वटा गीत समावेश छन् । कालिञ्चोकको हिँउमा खिचिएको ‘सेम ताबा म्ही’ र ‘चुदे ज्याबा’ रामेछापमा सुटिंग गरिएका ‘अप्ठ्यारोरी ताजी’ र काठमाडौँमा सुटिंग गरिएका ‘डाँफेमी चिबा’ युट्युुवमा सार्वजनिक भैसकेका छन् । यी गीतहरुमा अमृत लामा, सशिकला मोक्तान, प्रयास दोङ, इन्दिरा गोले, निर्मला घिसिङ्ग, बबिता पाख्रिनले स्वर दिएका छन् ।

मुख्य भूमिकामा ऋतुराज पाख्रीन, सुष्मा थिङ, सहनायक नायिकामा दीपशिखा लामा, सौरब लामा, गंगा मोक्तान,यमर सिङ्ग ब्लोन अरु कलाकारहरुमा राजु नेगी, प्रतिक ङ्गेसुर तामाङ, अनिता तामाङ, उर्मिला दोङ्ग, नानु ग्लान आदि रहेका छन् ।
‘प्रिन्स मुभिज एण्ड एक्स्ट्राभेग्यान्जा प्रालि’ को ब्यानरमा निर्मित ‘‘सेम ताबा म्ही’ निर्माता सिद्धार्थ मोक्तान र राज कुमार मोक्तान आफै पनि रहेका छन् । छायांकनमा बिक्रम लामा (मोक्तान), द्वन्दमा राजु तामाङ दोङ, नृत्यमा दिपक तामाङ रहेका छन् भने यसको गीत र संगीत निर्देशक राजकुमार मोक्तानकै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्