खाँडादेवी गाउँपालिकाको विकास गर्न प्रतिबद्ध भएर लाग्छुःश्रेष्ठ



सानैदेखि समाज परिवर्तनको लागि काम गर्नुपर्छ भन्ने दृढ अठोट बोकेकी मखमली श्रेष्ठ स्थानीय तहको निर्वाचनन मार्फत खाँडादेवी गाउँपालिकाको उपाध्यक्ष भएकी छिन् । सामाजिक कार्य मार्फत समाजमा केही सुधार गर्न सकिए पनि सिंगो समाजको परिवर्तन भने राजनीतिबाट मात्र सम्भव भएको बताउदै दस बर्ष अघि राजनीतिमा लागेकी थिइन ।
समाजको रुपान्तरण गर्न कठिन काम भएपनि निरन्तरको प्रयास र मेहनत गर्ने हो भने असम्भव नरहेको उनको अनुभव छ । नेकपा एमालेबाट खाँडादेवी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएपछि मखमली श्रेष्ठलाई ठूलो दायित्व र जिम्मेवारी थपिएको महशुस भएको छ । श्रेष्ठको मनमा अब गाउँपालिकालाई कसरी विकास गर्ने भन्ने मात्र चासो र चिन्ता छ ।
गाउँपालिकाभित्र हुने विकास निर्माणको काममा पारदर्शिता अपनाउने अठोट व्यक्त गर्दै उपाध्यक्ष श्रेष्ठले निर्वाचनमा जनता समक्ष गरिएका बाचा र प्रतिबद्धता अनुसार नै जनताले प्रत्यक्ष रुपमा परिर्वतनको महशुस गर्ने गरी काम गर्ने बताइन । उनले आगामी पाँच बर्षभित्र गाउँपालिकालाई परिवर्तनको प्रत्याभुति हुने गरी योजनाबद्ध रुपमा काम गर्ने सुनाईन । यसै विषयमा खाँडादेवी गाउँपालिकाको विकास, जनताको समस्या समाधान गर्न खेल्ने भूमिका, गाउँपालिकाभित्र खानेपानी, बिजुलीको सहजता र आगामी दिनको योजना लगायतको विषयमा केन्द्रीत भएर खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठसँग रामेछाप न्युजले गरेको कुराकानीः–

मखमली श्रेष्ठ उपाध्यक्ष, खाँडादेवी गाउँपालिका, रामेछाप

चुनावी प्रतिबद्धता अनुसार अब कसरी काम गर्नुहुन्छ ?
–खाँडादेवी गाउँपालिका भौगोलिक दृष्टिकोणले विकट छ । सबै वडामा सडक त पुगेको छ । तर स्तरउन्नती हुन सकेको छैन् । निर्वाचनको क्रममा जनतासँग गरेको प्रतिबद्धता अनुसार जनताले महशुस गर्ने गरी काम गर्ने विश्वास जनतालाई दिलाउन चाहन्छु । किनकी नपुग्ने र नहुने आश्वासन हामीले जनतासँग निर्वाचन अघि बाँडेका छैनौं । जनताको पीर मर्का समस्या समाधान गर्ने, विकास निर्माणको कामलाई तिब्रता दिने, जनता समक्ष हामीले गरेको प्रतिबद्धता हो । निर्वाचनमा विजयी गराएर जनताले ठूलो ऋण लगाउनु भएको छ । यो ऋण तिर्न जनताको चाहना र भावना अनुसार काम गर्ने प्रतिबद्धता हामीले व्यक्त गरेका छौं ।
गाउँपालिकाको विकासको लागि के–के योजना अगाडि सानुभएको छ ?
–घर बनाउको लागि जसरी सुरुमा नक्सा चाहिन्छ । त्यसैगरी गाउँपालिकाको विकास गर्नको लागि पनि गुरु योजना आवश्यक छ । सुरुमा हामीले गाउँपालिकाको समग्र गुरु योजना निर्माण गर्ने सोच बनाएका छौं । गुरु योजना अनुसार गाउँपालिकामा कसरी विकास गर्ने भन्ने विषयमा प्राथमिकता निर्धारण गर्न सजिलो हुन्छ । गाउँपालिकामा आउने बजेट कनिका छरेजसरी होइन । जनताले प्रत्यक्ष रुपमा महशुस गर्ने गरी खर्च गर्नुपर्छ भन्ने मेरो मान्यता छ । विगतमा थोरै बजेट आउदाको समस्या पनि होला । अहिले गाउँपालिका नै बजेट कार्यान्वयन गर्ने ठाउँमा रहेको छ । योजना र जनताको आवश्यकता अनुसार गाउँपालिकामा विकास निर्माणको काम हुन्छ ।
भुकम्प गएको दुई बर्ष वितिसक्दा पनि निजी आवास पुनर्निमाणले गति लिन सकेको छ नि ?
–हो, भुकम्प पीडितहरु अहिले पनि अस्थायी टहरोमा नै बस्न बाँध्य छन् । वस्तीहरु अहिले पनि लथालिङ छ । गाउँपालिकाभित्र भुकम्प पीडित भएर पनि राहत नपाएको अवस्था छ । अब हामीले जो वास्तविक भुकम्प पीडित हुन उहाँहरुलाई राहत दिलाउन भूमिका खेल्छौ । पहिलो किस्ता लिएका भुकम्प पीडितहरुलाई पनि घर निर्माण गर्न आह्वान गछौं । भुकम्प पीडितहरु सबैले घर बनाउनु पर्छ । हामी भुकम्प पीडितको समस्या समाधान गर्न गम्भीर छौं ।
गाउँपालिकाभित्र खानेपानीको निकै समस्या छ । खानेपानीकै लागि रातभर कुर्नुपर्ने बाँध्यता कहिले हटला ?
–गाउँपालिकाभित्र सुख्खाग्रस्त क्षेत्र छन् । हरियाली कम छ । खानेपानीको समस्या विगत लामो समयदेखि गाउँपालिकाका बासिन्दाले खेप्दै र भोग्दै आएका छन् । भुकम्प गएपछि त झन भएका खानेपानीका मुहानहरु पनि सुके । खानेपानीको लागि तामाकोसी र सुनकोसीको भर पर्नुपर्ने अवस्था छ । खानेपानीको मुहान सकेपछि अहिले तामाकोसी र सुनकोसीबाट लिफ्ट मार्फत खानेपानीका दुई वटा योजना सञ्चालनमा छन् । यो योजना तत्काल सम्पन्न गरेर पुनः थप योजना सञ्चालन गर्नको लागि पहल गछु । गाउँपालिकाभित्र सबै जनतालाई सहज रुपमा खानेपानी प्रदान गर्नु हाम्रो दायित्व र कर्तव्य हो । यो दायित्व हामी पूरा गछौं । केही बर्षभित्र नै गाउँपालिकाभित्र अहिले देखिएको खानेपानीको ठूलो समस्या समाधान गछौं ।
खाँडादेवी गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउन के गर्नुहुन्छ ?
–विगतमा पनि सित्खादेखि खाँडादेवी मन्दीरसम्म केबलकार सञ्चालन गर्ने बहस भएको थियो । अब यो योजनालाई साकार पार्नको लागि पहल गर्छु । यो योजना सञ्चालन गर्न सकिएको अवस्थामा गाउँपालिकाको आर्थिक जीवनस्तर उकास्न सहज हुन्छ । जनताले गाउँपालिकामा फोटो टाँस्नको लागि मलाई मतदान गरेका होइन । जनताको काम गर्नको लागि पठाउनुभएको हो । धार्मिक पर्यटनको विकास गर्न केबलकार सञ्चालन गर्न गाउँपालिकाले भूमिका खेल्छ । यो योजनालाई सफल बनाउन जनताको साथ र सहयोगको पनि धेरै खाँचो छ ।
सडकलाई व्यवस्थित गर्न के योजना छ ?
–भौगोलिक रुपमा विकट भएपनि गाउँपालिकाको सबै वडामा सडक पुगेको छ । कतिपय सडक हचुवाको भरमै खनिएका छन् । जसको कारण दुर्घटना हुने सम्भावना हुन्छ । सबै टोलटोलमा सडक पुर्याउनु पर्ने आवश्यकता छ । तर गाउँपालिकाभित्र मुख्य सडकलाई प्राथमिकतामा राखेर स्तरउन्नती गर्न पहल गर्छु । अब नयाँ सडक निर्माण भन्दा पनि सबै वडामा सधैभरी यातायात सञ्चालन हुने बनाउने विषय सोचेका छौं ।
विद्युतीकरण गर्ने काममा गाउँपालिकाले के भूमिका खेल्छ ?
–गाउँपालिकाले तीन वटा विषयलाई प्राथमिकता दिएको छ । पहिलो खानेपानी सबै जनतालाई पुर्याउने, दोस्रो सडक पहुँज सहज बनाउने र तेस्रो गाउँपालिकाको सबै वडाभित्र विद्युतीकरण गर्ने हो । खाँडादेवी गाउँपालिकाभित्र आजको भोली नै सडक पिच गर्न सक्ने बजेट छैन् । पाँच बर्षभित्र सबै वडामा पुग्ने सडक ग्राबेल गरेर पिच गर्ने लक्ष्य लिएका छौं ।
कृषि क्षेत्रको आनुधिकरणको लागि के योजना छ ?
–हाम्रो गाउँपालिका सुख्खाग्रस्त भएको कारणले पनि धेरै उत्पादन हुँदैन । खेतीपातीको लागि आकाशे पानीको भर पर्नु परेको छ । अब गाउँपालिकाको कुन क्षेत्रमा के उत्पादन हुन्छ ? त्यसको लागि विज्ञहरु मार्फत अध्यायन गराउने र उहाँहरुले दिएको सुझाव अनुसार फलफुल खेती, तरकारी खेती लगायतको काम अगाडि बढाउनु पर्छ । कसरी बढी उत्पादन मार्फत जनताले आम्दानी गर्न सक्छन । त्यतातिर बढी ध्यान दिइनेछ । कृषकहरुलाई तालिम दिने । बिजबिजन सहज बनाइदिने । कृषकले उत्पादन गरेको कृषिजन्य उत्पादनको बजार व्यवस्थापन गर्ने । कृषि पेसामा सम्मानतित रुपमा अगाडि बढाउन प्रोत्साहनको काम अगाडि बढाउने योजना छ ।
तपाई आफै पनि युवा हुनुहुन्छ । गाउँपालिकाका हजारौ युवाहरु वैदेशिक रोजगारीमा छन । अब युवाहरुलाई गाउँमै फर्काउने क भूमिका खेल्नुहुन्छ ?
–गाउँपालिकाभित्र समस्या छन् । पिउनको लागि पानी छैन् । बत्ती बाल्नको लागि बिजुली छैन् । खेतीपाती राम्रो छैन् । आकाशको पानी नपर्ने वित्तिकै केही फल्दैन । दुःख संघर्ष गर्दा पनि खान नपुग्ने अवस्था छ । कृषि योग्य जमिनको पहिचान गरेर तरकारी खेती सञ्चालन मार्फत पनि गाउँपालिकाभित्र रोजगारीको अवस्था सृजना गर्न सकिन्छ । हरेक सेवा सुविधा दिन सकेको अवस्थामा धेरे युवाहरु गाउँमै फर्किन्छिन । अब प्राविधिक शिक्षालाई जोड दिने हामीले सोचेका छौं । गाउँमा शिक्षा लिएको जनशक्ति भएपनि अहिले प्राविधिक जनशक्ति बाहिरबाट ल्याउनु पर्ने अवस्था छ । युवाहरुले पनि आफ्नो गाउँमा नै केही गर्नुपर्छ भनेर फर्किनुहुन्छ भन्ने विश्वास छ ।
के पाँच बर्षभित्र खाँडादेवी गाउँपालिकाले मुहार फेर्ला ?
हामी गाउँपालिकाको विकास गर्न प्रतिबद्ध भएर लाग्छौं । कठिन र विकट छ । तर हामी प्रतिबद्ध भएर लाग्छौ । पाँच बर्षको बीचमा धेरै काम गर्न सकिन्छ । समृद्ध खाँडादेवी गाउँपालिका बनाउन सकिन्छ । योजनाबद्ध रुपमा गाउँपालिकाको विकास गरिन्छ । दृढ अठोटको साथ लाग्ने हो भने गर्न नसकिने केही पनि छैन । जनताको साथ र सहयोगको आवश्यकता छ । हामी मन बचन र कर्मबाट काम गछौं ।

प्रतिक्रिया दिनुहोस्