रामेछापमा ११ गते ११ सय अगुवा कार्यकर्ताको भेला गर्दै वामपन्थी गठबन्धन



७ कार्तिक, रामेछाप ।
रामेछापमा बामपन्थी गठबन्धले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुको संयुक्त भेला गर्ने निर्णय गरेको छ । कार्तिक ११ गते एमाले र माओवादीले संयुक्त रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा ११ सय भन्दा बढीको सहभागीता हुनेछ । रामेछापमा माओवादी केन्द्रको पाँच हजार पाँच सय र नेकपा एमालेको ६ हजार संगठित सदस्य रहेका छन् । ११ गते रामेछापका ८ वटा स्थानीय तहमा रहेका ६४ वटा वडामा रहेका अगुवा कार्यकर्ताहरुलाई सदरमुकाम मन्थलीमा बोलाइएको छ ।


वाम गठबन्धले रामेछापको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि निर्वाचन परिचालन समितिका गठन गरेर नै काम थालेको छ । नेकपा एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कार्कीले कार्तिक ११ गते एमाले र माओवादी केन्द्रको संयुक्त आयोजनामा दुवै पार्टीका अगुवा कार्यकर्ताको भेला मन्थलीमा आयोजना गरिन लागेको बताए ।

वाम गठबन्धनको तर्फबाट रामेछापमा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठ प्रतिनिधिसभाको उम्मेदवारी दिएका छन् । त्यसैगरी रामेछापको १ र २ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवारी दिएको छ । प्रदेशसभा १ मा पार्टी अध्यक्ष शान्ति पौडेल र २ मा कैलाश ढुङगेललाई वाम गठबन्धनले साझा उम्मेदवार बनाएको छ ।

भेलामा स्थानीय तहमा एमाले र माओवादीबाट निर्वाचित जनप्रतिनिधि, वडा अध्यक्ष, पार्टीका स्थानीय तहका अध्यक्ष सहित विभिन्न जनवर्गीय संगठनका प्रमुख लगायतलाई बोलाइएको प्रचार विभाग प्रमुख कार्कीले रामेछाप न्युजलाई बताए । रामेछापको ८ वटा स्थानीय तह मध्ये सात वटा वामपन्थी गठबन्धनले जितेको छ ।

स्थानीय तहमा एमालेले ५ र माओवादी केन्द्रले २ वटा स्थानीय तहमा विजयी भएका थिए । स्थानीय तहको निर्वाचनमा एमालेले ३२ हजार र माओवादी केन्द्रले २४ हजार मत ल्याएका थिए । दुवै दलको मतलाई जोडदा हाल वापन्थी गठबन्धनको ६५ हजार मत रहेको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यायले रामेछापमा हाल १ लाख ५२ हजार मतदाता रहेको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्