तीन मतपत्र–चार छाप, कसरी हाल्ने भोट ?



२२ कात्तिक,रामेछाप ।

सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छापेको छ । प्रतिनिधिसभा निर्वाचनको लागि सेतो मतपत्रमा हरियो चुनाव चिह्न हुनेछ भने प्रदेशसभा निर्वाचनको लागि सेतो मतपत्रमा कालो चुनाव चिह्न हुनेछ । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भने हल्का रातो रङको मतपत्र प्रयोग हुनेछ।

तीन मतपत्रमा कसरी हुन्छ चार छाप

हरियो रङको निर्वाचन चिह्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार छनोटका लागि हो । त्यसमा उल्लिखित निर्वाचन चिह्नमध्ये कुनै एकमा स्वस्तिक छाप लगाउनुपर्छ । यस्तै, प्रदेशसभा निर्वाचनका लागि कालो चुनाव चिह्न हुनेछ । त्यसमा पनि कुनै एक चिह्नमा छाप लगाउनुपर्छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दुई वटा मतपत्रमा छाप लगाएपछि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवार चयन गर्न मतदान गर्नुपर्छ । त्यसका लागि आयोगले हल्का रातो मतपत्रको व्यवस्था गरेको छ । हल्का रातो मतपत्र भने दुई खण्डमा विभाजित हुन्छ । पहिलो खण्ड प्रतिनिधिसभा निर्वाचनका समानुपातिक उम्मेदवार चयन गर्न हो भने दोस्रो खण्ड प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवार चयन गर्न हो।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र हुन्छ । समानुपातिकतर्फ एउटै मतपत्रमा दुई स्थानमा स्वस्तिक छाप लगाउनुपर्ने हुँदा तीन वटा मतपत्रमा चार छाप लगाउनुपर्ने भएको होु, आयोगका प्रवक्ता नवराज ढकालले भने।

ती मतपत्र छुट्टाछुट्टै बाकसमा खसाल्नुपर्छ । निर्वाचन आयोगले मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनका लागि मतपत्र छाप्ने काम सम्पन्न गरेको छ ।प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ सांसद चयनका लागि पहिलो चरणमा हुने निर्वाचनमा ३२ लाख ९१ हजार ९ सय ४५ मतदाता सहभागी हुँदैछन्।

प्रतिक्रिया दिनुहोस्