के होला भोली खिम्तीमा हुने बाम गठबन्धन र कांग्रेसको चुनावी सभा ?



६ मंसिर, रामेछाप ।
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि रामेछापमा राजनीतिक दलहरुले चुनावी प्रचार प्रसारलाई तीब्रता दिएका छन् । रामेछापमा बाम गठबन्धन र कांग्रेस आ–आफैले जित्ने दावीको साथ मतदाताको घरदैलोमा छन् ।

चुनावी अभियानका अन्तिम चरणमा खिम्तीमा बाम गठबन्धन र कांग्रेस दुवै पक्षले चुनावी सभा आयोजना गरेका छन् । कांग्रेसले अन्तिम चुनावी सभा खिम्तीमा नै गर्ने तय गरेको छ भने बाम गठबन्धनले पनि अन्तिम चुनावी सभा खिम्तीमा नै आयोजना गर्ने गरी तयारी थालेको छ ।

बाम गठबन्धन र कांग्रेस दुवै पक्ष भोलीको कार्यक्रम गर्ने तयारीमा जुटेका छन् । स्थानीय प्रशासनले भोलीको कार्यक्रममा सहमति गरेर अगाडि बढन बाम गठन्धन र कांग्रेसका नेताहरुसँग आग्रह गरिरहेको छ । तर दुवै पक्ष कार्यक्रम गर्ने तयारीमा रहेको जनाएपछि स्थानीय प्रशासनले दुवै पक्षका जिल्ला तहका नेताहरुसँग छलफल गरेपछि सहमति जुटन नसकेको बताइएको छ ।

आज बसेको सर्वदलिय बैठकमा पनि दलहरुबीच खिम्तीको कार्यक्रमको बारेमा ठोस सहमति नजुटिक नै टुंगिएको थियो । बाम गठबन्धनका नेता तारानारायण श्रेष्ठले भोलीको लागि स्थानीय तहले आयोजना गरेको चुनावी सभा हुने बताए । उनले भने,‘स्थानीय तहले आयोजना गरेको कार्यक्रम रोकिदैन, हामी कार्यक्रम गर्ने तयारीमा जुटेका छौ ।’
नेपाली कांग्रेसका प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार जितबहादुर थापामगरले पनि आफूहरुले खिम्तीमाि आयोजना गरेको चुनावी सभा हुने बताए । बाम गठबन्धनले बेथानमा आयोजना गरेको चुनावी सभा रोक्ने उदेश्यले स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि बाम गठबन्धनले कांग्रेसले कार्यक्रम आयोजना गर्ने दिन नै खिम्तीमा चुनावी सभा गर्ने निर्णय गरेको थियो । दुवै पक्षबीच चुनावी कार्यक्रम नराक्ने अवस्थामा स्थानीय प्रशासनले खिम्तीमा पनि निषेधित क्षेत्र घोषणा गरेर सम्भावित झडप हुन नदिने तयारी गरेको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्