घर बनाउन रामेछापमा कामदार पाउनै मुस्किल (भिडियोसहित)



६ पुस, रामेछाप ।
भुकम्पबाट भत्किएको घर निर्माणको लागि रामेछापका भुकम्प पीडितहरु चिन्तित भएका छन् । घर निर्माणको लागि पहिलो किस्ता पचास हजार रुपैयाँ पनि लिइसकेका छन् । तर भुकम्प पीडितहरुले घर निर्माण गर्नको लागि भने कामदार पाउन नसक्दा हैरान भएका छन् । घर निर्माणको हतारोमा भएपनि भुकम्प पीडितहरुले दक्ष कामदार पाउन नै पालो कुर्नुपर्ने अवस्थाको कारण पुननिर्माणको काममा अपेक्षाकृत रुपमा गति लिन सकेको छैन् ।

रामेछाप सुनापति गाउँपालिका–३ हिलेदेवीका भुकम्प पीडित धर्मलाल श्रेष्ठले पहिलो किस्ता लिएको एक बर्ष वितिसकेको छ । तर भुकम्प प्रतिरोधी घर निर्माण गर्नको लागि दक्ष कामदार नहुँदा घर निर्माणको लागि घडेरी बनाएर पनि घर निर्माणको काम अगाडि बढाउन नसकेका छैनन् । ‘घर निर्माण गर्न हतारो छ, तर गाउँघरमा कामदार नै छैनन, पालो कुरेर बसेको छु’, उनले भने ।


रामेछाप जिल्लामा विनाशकारी भुकम्पपछि ४२ हजार भुकम्प पीडितले पहिलो किस्ता पचास हजार रुपैयाँ बुझिसकेको छन् । साढे दुई बर्षको अवधिमा ४२ हजार भुकम्प पीडित मध्ये हालेसम्म रामेछापमा ६५ सय वटा मात्र पुननिर्माण भएको छ ।
घर निर्माणमा प्राविधिकहरुको अभाव, प्राविधिकहरुको आन्दोलन, कानुनी जटिलता, दक्ष कामदारको अभाव,पानीको अभावको कारणले भुकम्पपछिको पुननिर्माणको कामले गति लिन नसकेको सुनापति गाउँपालिका अध्यक्ष धावा लामा बताउछन् ।
रामेछापमा घर निर्माणको लागि १२ सय ५ जनाले दोस्रो किस्ता र २३ हजारले तेस्रो किस्ता लिएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति रामेछापका प्रमुख ऋषि आचार्यले रामेछाप न्युजसँग भने,‘पुननिर्माणको कामले गति लिएको छ, हामी सबै जटिलता फुकाएर सहजीकरणको कार्यमा छौ ।’

गाउँघरमा अघिकाशं युवाहरु वैदेशिक रोजगारीमा रहेको र भएका युवाहरु पनि रोजगारीको लागि शहर केन्द्रीत हुँदा पुननिर्माणको लागि जनशक्तिको अभाव भएको हो । हाल रामेछापमा ४ हजार भन्दा बढीले घर निर्माणको लागि तालिम लिएका छन् । तर तालिम प्राप्त कामदारको घर निर्माणमा तानातान हुने गरेको छ । सुनापति गाउँपालिका–४ बेथानका भुकम्प पीडित गोपानी रायमाझीले घर निर्माणको लागि दक्ष कामदार नहुँदा काम अगाडि बढाउन नसकिएको बताइन । ‘पहिलो किस्ता लिएदेखि नै कामदारको खोजीमा छु, गाउँमा तालिम प्राप्त कामदारको फुर्सद नै छैन, टाढाबाट ल्याउनको लागि बढी खर्च लाग्ने भएकाले आँट गर्न सकेको छैन’्उनले भनिन ।

घर निर्माणमा अनिवार्य रुपमा रड, सिमेन्ट, बालुवाको प्रयोग गर्नुपर्ने एक तलासम्मको घर निर्माण गर्दा पाँच वटा टाइबिम कस्नु पर्ने भएकाले पनि घर निर्माण बढी कामदारको प्रयोग हुँदै आएको छ । जिल्लाभर नै कामदारको अभाव भएपछि सल्यान, धनुषा, रोल्पा लगायतका बाहिर जिल्लाहरुबाट कामदार ल्याएर समेत भुकम्प पीडितहरु घर निर्माणमा जुटेका छन् । घर निर्माणमा ठूलो जनशक्ति आवश्यक भएपनि जिल्लामा सीमित जनशक्ति मात्र हुँदा घर निर्माण गर्ने इच्छा भएर पनि भुकम्प पीडितहरु घर निर्माण गर्ने कामदारको प्रतिक्षामा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्