रामेछापमा किर्ते नागरिकता प्रकरणमा ८ जना विरुद्ध मुद्दा दर्ता हुँदै



२१ पुस, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीमा किर्ते गरेर नागरिकता लिने र दिलाउने ८ जनाको विरुद्ध प्रहरीले जिल्ला अदालतमा मुद्दा चलाउने भएको छ ।
नक्कली नागरिकता दिलाउन नक्कली आमा बनेकी भुजीकी दुनिमाया सुनुवार, नक्कली छोरा बन्ने मोरङ जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका–१३ गोकर्णेश्वरी बस्ने १८ बर्षका डायमन जोशी र नागरिकता दिलाउन सहयोग गर्ने भुजी घर भएका दुनिमायाको दिदीको छोरा हरि राईलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले दुनिमाया सुनुवार, उनको नामबाट निशान सुनुवार बनेर नागरिता लिने डायम जोशी, हरि राई, भुजीका वडा अध्यक्ष रुद्रमणी नेवार, वडा सचिव केशरबहादुर खत्री सहित नागरिकता दिलाउन साक्षी बस्ने तीन जना गरी ८ जनाको विरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले कानुन अनुसार दोषीमाथि एक बर्ष जेल र ५७ हजार रुपैयाँ जरिवाना हुने बताए । उनले रामेछाप न्युजसँग भने,‘किर्ते गरेको अभियोगमा नागरिकताको अनुसूची ४ को आधारमा जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारीमा छौं । ’
थापाका अनुसार नक्कली नागरिकता लिने डायमन जोशीले आफूले हरि राई मार्फत ब्रिटिस आर्मीमा जागिर खानको लागि नागरिकता लिएको बताएका छन् । प्रहरीका अनुसार हरि राईले डायम जोशीसँग तीस हजार रुपैयाँ लिएर नागरिकता प्रदान गर्न आफ्नी सानीआमा दुनिमाया सुनुवारलाई प्रयोग गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्