रामेछापमा गाउँपालिकाको नाम फेरियो



२८ पुस, रामेछाप ।संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम, केन्द्र वा नाम र केन्द्र दुवै हेरफेर गरेको छ ।मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरि नेपाल राजपत्रमा प्रकाशित गरेको हो ।


जस मध्ये रामेछापको लिखु गाउँपालिकाको नाम र गाउँपालिकाको केन्द्र पनि परिवर्तन भएको छ । गाउँपालिकाको पहिलो बैठकले लिखु तामाकोसी गाउँपालिका राख्ने निर्णय गरेको थियो । नाम परिवर्तन गर्ने निर्णयले बैधानिकता पाएको छ । गाउँपालिकाको नामसँगै गाउँपालिकाको केन्द्र पनि परिवर्तन भएको छ । स्थानीय तहको पुर्नसंरचना गर्दा गाउँपालिकाको नाम लिखु र केन्द्र बिजुलीकोट निर्धारण गरिएको थियो ।

तर गाउँपालिकाको पहिलो बैठकले सीमाना जोडिएको ओखलढुंगा जिल्लामा पनि लिखु गाउँपालिका नाम रहेकाले उस्तै नामले झुक्किने भएकाले नाम परिवर्तन गर्ने प्रस्ताव गरेको गाउँपालिकाका अध्यक्ष गोविन्द्र खडकाले रामेछाप न्युजलाई बताए । गाउँपालिकाको केन्द्र अब वैधानिक रुपमा धोवी हुने भएको छ । सरकारले निर्णय गर्नु अघि नै गाउँपालिकाको केन्द्र्र भने धोवीबाटै सञ्चालन हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्