कुलमानको सफलताःस्वदेशी लगानीकर्ताकै हैसियतमा माथिल्लो त्रिशूलीसँग सम्झौता



११ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नेपाली प्रवद्र्धककै हैसियतमा माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पिपिए) गरिने बताएको छ ।
प्राधिकरणले २१६ मेगावाट क्षमताको सो आयोजनासँग अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गर्न लागिएको भए पनि त्यसबाट कुनै पनि प्रकारको समस्या उत्पन्न नहुने बताएको हो ।
विहिवार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले अधिकतम १० वर्ष वा व्यावसायिक विद्युत् उत्पादन शुरु हुने दिनदेखि ऋण चुक्ता अवधि जुन समय पहिले हुन्छ सोही अवधिसम्मका लागि मात्रै अमेरिकी डलरमा पिपिए गर्न लागिएको बताए । प्राधिकरणले आयोजनाको विद्युत् सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा प्रतियुनिटमा खरिद गर्ने र कुनै पनि थप आर्थिक दायित्व नपर्ने बताएको छ ।

प्राधिकरण सञ्चालक समितिको बुधबारको बैठकले नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीसँग विद्युत् खरिद सम्झौता गर्ने निर्णय गरेको थियो ।

विदेशी लगानीमा निर्माण हुने आयोजनामा लगानी संरचनाको सीमा निश्चित गरिएको र त्यस्ता आयोजनामा स्वपूँजीको अंश २० प्रतिशत र ऋणको अंश अधिकतम ८० प्रतिशत तोकिएको छ ।

स्वदेशी लगानीमा निर्माण हुने आयोजनालाई जस्तै माथिल्लो त्रिशूली १ लाई पनि वार्षिक तीन प्रतिशतका दरले आठ पटक साधारण मूल्यवृद्धि पाउने व्यवस्थासहितको निर्णय गरिएको छ ।
सो आयोजनासँग अमेरिकी डलरमा सम्झौता गर्दा विदेशी विनिमय जोखिम व्यहोर्न एक कोष स्थापना गरिनेछ । नेपाली मुद्रा अवमूल्यनका कारण प्राधिकरणलाई अतिरिक्त व्ययभार कम गर्न नेपाल राष्ट्र बैंकले विशेष कोष ‘हेजिङ फण्ड’ स्थापना गर्नेछ । उक्त कोष सञ्चालन, स्थापना तथा नियमनको ढाँचा बैंकले तयार गर्ने तथा सरकार प्राधिकरण र प्रवद्र्धकले संयुक्तरुपमा हिस्सा रहने व्यवस्था गरिनेछ ।

कार्यकारी निर्देशक घिसिङले विगतमा प्राधिकरणले केही आयोजनासँग गरेको सम्झौताका कारण आर्थिक स्वास्थ्य नराम्ररी प्रभावित भए पनि पछिल्ला दिनमा भएका सम्झौतामा ती विषयलाई सम्बोधन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्