रामेछाप–काभ्रे जोडने चौरीखोला पुल निर्माणमा ठेकेदारको बेइमानी



२१ माघ, रामेछाप ।
ठेकेदारको लापर्वाहीको कारण छ बर्षअघि निर्माण कार्य सुरु भएको रामेछाप–काभ्रे जोडने पक्की पुल निर्माण कार्यमा ढिलासुस्ती हुँदा रामेछापवासीले सास्ती बेर्होनु परेको छ । रामेछाप–काभ्रे जोडने चौरीखोलास्थित पक्की पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले समयमा नै काम गर्न आलटाल गर्दै आएको भन्दै स्थानीयले काम नगर्ने ठेकेदारलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।
पुल नहुँदा रामेछापको दोरम्बा र सुनापति गाउँपालिका बासिन्दाले बढी सास्ती खेप्दै आएका छन् । हिउदको समयमा चौरीखोलाबाट सवारी साधन आवतजावत गर्ने भएपनि बर्षाको समयमा पनि घण्टौ हिडन दोरम्बा गाउँपालिका बासिन्दा बाँध्य भएका छन् ।

दोरम्बा गाउँपालिका–६ लखनपुरका वडा अध्यक्ष अम्बिका प्रसाद गुजुरेल ‘अनुप’ले ठेकेदारको लापर्वाहीको कारण दोरम्बा गाउँपालिका बासिन्दाले सास्ती खेप्नु परेको बताए । उनले रामेछाप न्युजसँग भने,‘बर्षा लाग्न थालेपछि ठेकेदारले मेसिन ल्याएर खनेजस्तो मात्र गरेर झारो टार्ने काम गर्दै आएको छ ।’ ठेकेदार कम्पनीले पटक–पटक समयमा नै पुल निर्माण गर्ने प्रतिबद्धता जनाए पनि ढाटदै आएको वडा अध्यक्ष अनुपले बताए । पुल नहुँदा बर्षा अघि नै सबै सामानको जोहो नगरे खान सामाग्रीकै अभाव हुने गरेको छ, उनले भने ।
पन्ध्र बर्ष अघि नै पुल निर्माण भएको स्थानबाट हिउदको समयमा काठमाडौंबाट दोरम्बा गाउँपालिकाको गुरासेसम्म बस चल्दै आएको छ । चौरीखोलाको पुल सञ्चालन हुने हो भने दोरम्बा गाउँपालिका हुँदै सिधै रामेछापको सदरमुकाम मन्थली आवतजावत गर्न पनि गाउँपालिका बासिन्दालाई सहज हुनेछ ।

सदरमुकाम जोडने खानीखोलामा पक्की पुल निर्माण भएपनि छ बर्ष अघि निर्माण कार्य थालिएको चौरीखोलाको पुल भने अझै कहिले बन्ने भन्ने निश्चित भएको छैन् । गाउँपालिका बासिन्दा नागरिता, पासपोर्ट र जग्गाको रजिष्ट्रेसन पास गर्न बाहेक सबै काम काठमाडौंसँग जोडिएको छ, तर पुल निर्माण नहुँदा ठूलो सास्ती खेप्नु परेको छ, वडा अध्यक्ष गजुरेलले भने ।

पुल निर्माणको जिम्मेवारी पाएका एनएन निर्माण सेवाका सञ्चालक मुकुन्द गौतमले पुल निर्माणमा ढिलाई भएको स्वीकार गर्दै अबको तीन महिनाभित्र पुल सञ्चालन गर्ने गरी काम गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘तीन वटा पिलर निर्माणको काम सम्पन्न भएको छ, तीन खण्ड मध्ये एक खण्डको ढलान कार्य सुरु भएको छ, बाँकी दुई खण्डको काम तीन महिनाभित्र सम्पन्न गरेर बर्षा अघि नै पुल सञ्चालनमा आउछ ।’
घटाघटमा ठेक्का हाल्दा पुल निर्माण अलपत्र
चौरीखोलको पुल निर्माणको क्रममा ठेक्का आह्वान गर्दा सर्वोद्धार/फेन्स/एनएन जेभीले पुल निर्माणको स्टामेट भन्दा दुई गुण कम रकममा ठेक्का हालेको थियो । घटाघटमा सोही कम्पनीले नै पुलको ठेक्का पाएको थियो । जेभीले तीन करोडको स्टामेट भएपनि १ करोड ९० लाखमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माणको जिम्मेवारी लिएका ठेकेदार गौतम भन्छन,‘१ करोड ९० लाख बिलोमा ठेक्का हालियो, ठेक्का त पर्यो तर अहिले पुल निर्माणको लागि तीन करोड रुपैयाँ आफ्नो खल्तीबाट हल्नु पर्ने अवस्था छ ।’ ६१ मिटर लम्बाई रहेको सो पुल सञ्चालनमा आउदा रामेछापवासीलाई राहत हुने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्