माथिल्लो तामाकोशीमा शेयर हाल्न पैसा ठीक पार्नुस्



२१ माघ, काठमाडौं । माथिल्लो तामाकोशीको तीन अर्बभन्दा बढीको आइपिओ आउने भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र आम नेपालीका लागि साधारण शेयर बिक्री गर्ने भएको हो ।

साधारण शेयर बिक्रीको आवश्यक तयारी सुरु भएको आयोजनाले जनाएको छ । आयोजनाको प्रवद्र्धक माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनी लिमिटेडले करिब रु ३ अर्ब १७ करोड ८५ लाख बराबरको साधारण शेयर जारी गर्ने तयारी गरेको छ ।
त्यसमा स्थानीय दोलखाका जनतालाई कुल पुँजीको १० प्रतिशत बराबरको साधारण शेयर बिक्री गर्न लागिएको छ । आयोजनाका अनुसार स्थानीयले रु १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता साधारण शेयर पाउनेछन् ।
यस्तै आयोजनाले आम नेपालीलाई कुल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । सो अनुपातमा सर्वसाधारणले रु १ अर्ब ५८ करोड ८५ लाख बराबरको साधारण शेयर प्राप्त गर्ने छन् । शेयरको रुपमा भने सर्वसाधारणलाई १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्न लागिएको हो ।
आगामी चैत्रको दोस्रो सातादेखि स्थानीय प्रभावित र सर्वसाधारणलाई शेयर बिक्री गर्न लागिएको आयोजनाले जनाएको छ ।दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको भोीतक निर्माण ९४ प्रतिशत सम्पन्न भएको छ ।
आयोजनाले यस अघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाख बढी सञ्चयकर्तालाई साधारण शेयर बिक्री गरिसकेको छ ।
शेयरमा आवेदन दिनका लागि अनिवार्य रुपमा हितग्राही (डिम्याट खाता) खोल्नुपर्ने छ । सो खाताबिना सेयर भर्न नपाइने भएकाले तत्काल हितग्राही खाता खोल्न समेत कम्पनीले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।
आयोजनाले स्थानीयलाई समेत विभिन्न तीन श्रेणीमा विभाजन गरेको छ । आयोजनाले गरेको विभाजनमा अतिप्रभावित, प्रभावित र कम प्रभावित क्षेत्र रहेका छन् ।
गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएको प्रभावित र कतै नछोइएको क्षेत्र कम प्रभावितमा राखिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्