रामेछापको लिखु तल्लो जलविद्युत आयोजनमा लगानी जुटयो, रामेछापवासीले शेयर हाल्न पाउने



११ फागुन, काठमाडौं ।

रामेछापको लिखु खोलामा निर्माण हुने २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत् आयोजनामा लगानी जुटेको छ । सानिमा हाइड्रो समूहले निर्माण गर्ने आयोजनामा ५ बैंक तथा वित्तीय संस्थाको ऋण लगानी जुटेको हो । आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा कुमारी, सेन्चुरी कमर्सियल, प्रभू बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीले ४ अर्ब १९ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ ।


आयोजनाको प्रवर्द्धक स्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन कम्पनी र बैंकबीच बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो । आयोजनामा अगुवाई गर्ने लक्ष्मीले १ अर्ब २४ करोड, कुमारीले १ अर्ब, सेन्चुरीले ७५ करोड, प्रभू बैंकले ४० करोड र जलविद्युत् लगानी तथा विकास कम्पनीले ८० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । बैंक तथा वित्तीय संस्थाले गर्न लागेको ऋण लगानी कुल लागतको ७५ प्रतिशत हो ।
५ अर्ब ५९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा १ अर्ब ४० करोड स्वपुँजी लगानी रहनेछ । तल्लो लिखु आयोजना चालु आर्थिक वर्षभित्र निर्माणमा प्रवेश गर्दैछ । हाल अन्तिम चरणमा रहेको ठेकेदार छनोट प्रक्रिया पूरा भएपछि आयोजनाको निर्माण सुरु गरिने कम्पनीले जनाएको छ ।

२०७८ मंसिरमा सम्पन गर्ने लक्ष्य राखिएको आयोजना पूरा भएपछि वार्षिक १७ करोड ८४ लाख युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाले वार्षिक ९२ करोड रुपैयाँ आम्दानी गर्नेछ ।जनलविद्युत आयोजनामा रामेछापवासीले पनि सेयर हाल्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्