सात दिनभित्र रामेछापको लाप्चानेमा कर्मचारीको व्यवस्था हुन्छः गृहमन्त्री थापा



५ चैत्र, काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले रामेछापको उमाकुण्ड गाउँपालिकास्थित लाप्चाने इकाला प्रशासन कार्यालयमा सात दिनभित्र कर्मचारीको व्यवस्था हुने बताएका छन् । उनले केही महिनादेखि सेवा बन्द रहेको प्रशासन कार्यालयबाट सेवाग्राहीले सुविधा पाउने बताएका हुन् ।
विगत सात महिनादेखि सेवा बन्द भएपछि कर्मचारीको माग गर्दै रामेछापका प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीसँग गृहमन्त्री थापाले तत्काल कर्मचारीको व्यवस्था गर्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गरे । डेलिकेसन टोलीमा प्रदेशसभाका सांसद शान्ति पौडेल, पूर्व सभासद तारानारायण श्रेष्ठ लगायत रहेका थिए ।


उमाकुण्ड गाउँपालिकाको इलाका प्रशासन कार्यालय बन्द भएपछि रामेछाप प्रदेशसभा क्षेत्र नम्बर १ का बासिन्दाले ठूलो सास्ती खेप्दै आएका छन् । कर्मचारी नहुँदा नागरिकहरुले दुःख पाएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले रामेछाप न्युजलाई बताए । उनले भने,‘अधिकृतस्तरको कर्मचारी कहिले काही आउने तर बस्न नमान्ने अवस्था छ ।’ डेढ बर्षअघि सञ्चालनमा आएको इकाला प्रशासन कार्यालय तीन महिना सञ्चालनमा आएर बन्द हुँदै बीचमा केही महिना सञ्चालन भएको थियो । तर विगत सात महिनादेखि भने प्रशासन कार्यालयबाट सेवा प्रवाह हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्