प्रदेश नम्बर ३ को राजधानी काभ्रे राख्न माग



१० चैत्र, काठमाडौं ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले तीन नम्बर प्रदेशको राजधानी काभ्रेमा राख्न माग गरेको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्दै मोर्चाका टोलीले बनेपा, धुलिखेल र पनौती नगरपालिकालाई जोडेर ३ नम्बर प्रदेशको राजधानी बनाउन माग गरेको हो ।
प्रदेशको राजधानी तोक्दा ध्यान दिनुपर्ने कुराहरु उल्लेखित संविधानको धारा २८८ को उपधारा ३ को (२) लाई सम्झाउँदै मोर्चाले प्रचण्डसँग प्रदेश नम्बर ३ को राजधानी काभ्रे नै हुनुपर्ने माग राखेको छ ।
केही दिन अघि प्रचण्डले हेटौडामा आयोजित एक कार्यक्रममा कुनै पनि हालतमा प्रदेश नम्बर ३ को राजधानी हेटौडाबाट नसर्ने अभिव्यक्ति दिएका थिए ।

संविधानको धारा २८८ को उपधारा ३ को (२) मा प्रदेशको राजधानी तोक्दा सबै क्षेत्रका जनताको सहज पहुँच र केन्द्रविन्दुमा पर्ने गरी तोक्नुपर्ने लगायतका विषय उल्लेख गरिएको छ । मोर्चाका अध्यक्ष सूर्यमान दोङ्ग सहितका टोलीले अध्यक्ष प्रचण्डलाई प्रदेशको नाम नेवाः वा ताम्सालिङ्ग राख्नुपर्ने माग गरेका हुन् ।मोर्चाले तीन नम्बर प्रदेशको नामकरण नेवा ताम्सालिङ्ग राख्दा प्रदेशका समुदायहरुको पहिचानको सम्बोधन हुने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्