रामेछापको सित्खादेखि खाँडादेवी मन्दिरसम्म केबुलकार !



६ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाभित्र केबुलकार निर्माणको प्रक्रिया अगाडि बढेको छ । गाउँपालिको ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र खाँडादेवी मन्दिरबाट सुनकोसी नदीको सित्खासम्म केबुलकार निर्माण गर्ने प्रस्ताव प्रदेश नम्बर ३ सरकार समक्ष प्रस्ताव अगाडि बढाइएको हो ।

 

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले गाउँपालिकाको वडा नम्बर १ भिरपानीको सित्खादेखि खाँडादेवी मन्दिरसम्म केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाउन प्रदेश सरकार समक्ष प्रस्ताव पेस गरिएको रामेछाप न्युजलाई बताए ।
उनले रामेछाप न्युजसँग भने,‘गाउँपालिकाले खाँडादेवी मन्रिलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरिसकेको छ, अब थप विकास गर्नको लागि सित्खादेखि खाँडादेवी मन्दिरसम्म केबुल निर्माण गर्नुपर्छ भनेर लागेका छौं ।’

विगतमा स्थानीयस्तरबाटै सित्खादेखि खाँडादेवी मन्दिरसम्म केबुलकार सञ्चालन गर्ने प्रयास भएपनि सार्थकता पाउन सकेको थिएन । तर स्थानीय तहमा जनप्रतिनिधिहरु आएसँगै सित्खादेखि खाँडादेवी मन्दिरसम्म केबुलकार सञ्चानल गर्ने कार्यक्रमले प्राथमिकता पाएको छ ।
रामेछाप–सिन्धुली जोडने सित्खाको पक्की पुल हुँदै हाल खाँडादेवी मन्दिरको दर्शन गर्न आन्तरिक एवं बाह्य पर्यटकहरु आउने गर्छन । सित्खाबाट खाँडादेवी मन्दिरसम्म केबुलकार निर्माण भएमा धार्मिक पर्यटनको संख्या दोब्बर रुपमा बढ्ने गाउँपालिकाका अध्यक्ष तामाङले बताए ।
सित्खादेखि खाँडादेवी मन्दिर करिब दस किलोमिटर रहेको छ । केबुलकार निर्माणको लागि डिपिआर तयार गर्नको लागि बजेट विनियोजन गर्नको साथै निर्माणको लागि पनि प्राथमिकतामा राख्न गाउँपालिकाले तीन नम्बर प्रदेशका अर्थ तथा योजनामन्त्री कैलाश ढुंगेलसँग आग्रह गरेको छ । अर्थमन्त्री ढुंगेलले आर्थिक बर्षभित्र नै डिपिआर तयार गर्नको लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेको, अध्यक्ष तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्