दोरम्बा गाउँपालिकाको गुन्सालमा ३ करोड ५० लाखमा एकीकृत वस्ती



१३ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–५ गुन्सालमा एकीकृत वस्ती बन्ने भएको छ । स्थानीयको सक्रियतमा एकीकृत बस्ती निर्माण हुन लागेको हो । भुकम्प गएको तीन बर्षपछि स्थानीयको अग्रसरतामा भुकम्प प्रतिरोधी ३५ वटा घर निर्माण हुने भएको छ ।

भुकम्पको कारण ध्वस्त भएको घर निर्माण गर्दा भुकम्प प्रतिरोधी बनाउनु पर्ने भएकाले स्थानीय ३५ घर धुरीले सामुहिक रुपमा जग्गा प्लानिङ सहित आधुनिक र सुविधा सम्पन्न घर निर्माण गर्न लागेका हुन् । भुकम्पको कारण ध्वस्त भएको घर निर्माण गर्न दिएको तीन लाख रुपैयाँ पनि एकीकृत वस्तीमा लगाउने निर्णय स्थानीयले गरेका छन् ।

सेतीदेवी जनजागृति युवा समाजद्धरा निर्माण गर्न लागिएको एकीकृत वस्तीको विहिवार रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप्रसाद लामेछाने र दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले संयुक्त एकीकृत वस्तीको शिलान्यास गरे । वस्तीको शिलान्यास गर्दै अध्यक्ष मोक्तानले एकीकृत वस्ती निमार्ण गर्दा ढल, खानेपानी र शौलायल निर्माणको काममा गाउँपालिकाले सहयोग गर्ने बताए ।

उनले आगामी बजेट निर्माण गर्दा एकीकृत वस्तीलाई पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकाले एकीकृत वस्तीमा वडाको नाममा जग्गा लिएर सामुहिक भवन निर्माण गर्ने समेत उनले बताए ।


दोरम्बा गाउँपालिका–५ गुन्सालका वडा अध्यक्ष गंगाबहादुर तामाङले एकीकृत वस्तीको निर्माण सम्पन्न हुन करिब दुई बर्ष लाग्ने बताए । २३ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको एकीकृत वस्ती बालबालिका र अपाङगमैत्री हुनेछ ।

एकीकृत वस्ती सबै आरसिसी ढलान गरेर निर्माण गरिने बताउदै वडा अध्यक्ष तामाङले रामेछाप न्युजसँग भने,‘गाउँपालिकाभित्र नै नमूना वस्ती निर्माण हुनु खुसीको कुरा हो, जनप्रतिनिधिको हैसियतमा सक्दो सहयोग गर्छु ।’ उनका अनुसार एउटा घर निर्माण गर्नको लागि साढे ९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जस अनुसार ३५ वटा घर निर्माण गर्नको लागि तीन करोड ३२ लाख पचास हजार रुपैयाँ लाग्छ ।

प्रतिक्रिया दिनुहोस्