एक बर्षमा सुनापती गाउँपालिकाले गरेको यी हुन १४ काम



स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको एक बर्ष पुगेको छ । रामेछापको सुनापती गाउँपालिका गाउँपालिकामा निर्वाचनको क्रममा जनप्रतिनिधिहरुले समृद्ध बनाउने सपना देखाएका थिए । जनताले मत दिएर पठाए । जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको पनि एक बर्ष पुगेको छ । पाँच वटा वडा रहेको सुनापती गाउँपालिकाभित्र एक बर्षमा के–के काम भए के–के काम हुन सकेन भन्ने विषयमा सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामासँग रामेछाप न्युजले गरेको कुराकानीः–


उज्यालो सुनापति बनाउने बाचा पूरा
गाउँपालिकाको पहिलो बैठकले गाउँपालिका अन्तर्गत रहेको पाँच वटा वडाभित्र सबै क्षेत्रमा विद्युतीकरण गर्ने निर्णय अनुसार एक बर्षको अवधिमा सबै ठाउँमा विजली बलेको छ । सुरुमा लामोसाँघु सवस्टेसनबाट पनि विद्युतको लाइन जोडिएको थियो । अहिले सदरमुकाम मन्थलीबाट पनि थप लाइन जोडेर गाउँपालिकाभित्र बेलाबेलामा विजलुी जाने समस्याको पनि स्थायी समाधान खोजेका छौं ।
बैकको शाखा स्थापना
गाउँपालिका स्थापना भएपछि अत्यावश्यक रुपमा रहेको बैंकको शाखा स्थापना गर्न सफल भएका छौं । गाउँपालिकामा बैंकको शाखा नहुँदा चेक साटनको लागि घण्टौ धाएर सदरमुकाम मन्थली जानुपर्ने बाँध्यता अब हटनेछ । सिटिजन्स बैंकको शाखा स्थापना गर्नको लागि बिबी तामाङसँग बैंकले सम्झौता गरिसकेको छ । घर निर्माणको चरणमा रहेको छ । केही समयपछि नै बैंकले कारोबार सुरु गर्छ । गाउँपालिकाभित्र बैंक नहुँदा उपभोक्ता समितिको भुक्तानी दिन र अन्य भुक्तानी लिनको लागि सदरमुकाम मन्थली जाने बाँध्यता अब हटनेछ । अब गाउँपालिकाले सिटिजन्स बैंकबाट नै सबै कारोबार गर्छ ।
गाउँपालिकाभित्र प्रहरी चौकी
गाउँपालिकाको केन्द्र रहेको हिलेदेवीमा २१ जना प्रहरी रहने गरी दरबन्दी स्वीकृती भएको छ । बैंक स्थापना गर्दा सुरक्षा पनि चाहिने भएकाले हाम्रो पहलमा प्रहरी कार्यालय स्थापना गर्न सफल भएका छौं । गाउँपालिका–४ बेथानमा रहेको प्रहरी कार्यालयलाई यथावत राख्दै थप प्रहरी कार्यालय स्थापना गर्न सफल भएका छौं । केही समयभित्र नै प्रहरी कार्यालय स्थापना हुन्छ ।
४८ किलोमिटर सडकको डिपिआर
गाउँपालिकाभित्र पर्ने पाँच वटा ४८ किलोमिटर सडकको डिपिआर तयार पार्ने काम भएको छ । यसले सडकको भावी योजना तय गर्न र सडक निर्माण गर्दा कुन सडक पहिला गर्ने भन्ने प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गर्न सहज हुनेछ ।
४४ लाखमा गाउँपालिकाको गुरु योजना
गाउँपालिकालाई कस्तो बनाउने भन्ने पहिलो त योजना चाहियो । योजना पनि हचुवा शैलीमा बनाएर भएन । त्यसको लागि गाउँपालिकाले ४४ लाख रुपैयाँ खर्च गरे गुरु योजना बनाउने काम अगाडि बढाएका छौं ।


सुनापती डाँडामा चिया बगान
गाउँपालिकाको केन्द्र समेत रहेको हिलेदेवीस्थित सुनापतीडाँडादेखि गाल्वासम्म चियाखेती गर्ने योजनाको साथ माटो परीक्षणको काम सम्पन्न भइसकेको छ । यसै ३० रोपनी जग्गामा २५ हजार चियाको विरुवा रोप्दैछौ ।
गाउँपालिका–२ दिमीपोखरीमा अलैची खेती
गाउँपालिकाको वडा नम्बर २ दिमीपोखरीमा अलैची खेती राम्रो हुने भएकाले प्रधानमनन्त्री कृषि आधुनिकरणको कार्यक्रम हालेका छौं । ९ लाखको योजना हालिएको छ । आगामी बर्षदेखि बर्षको १० लाख विरुद्ध थप्दै जान्छौ ।
अब सुनापति गाउँपालिकाभित्र आयात मात्र होइन निर्यात
अहिलेसम्म गाउँपालिकाभित्र आउने सवारी साधनले सामान लिएर मात्र आउने र रित्तै फर्किने गरेका छन् । अब गाउँपालिकाभित्र कृषिजन्य वस्तु उत्पादनमा जोड दिएका छौं । गाउँपालिभित्र आउने सवारी साधन अब रित्तै फर्किनु पर्दैन सामान पठाउने व्यवस्था गर्न हामी लागेका छौं । असार महिनाबाट हप्ताको एक ट्रक तरकारी चाही निर्यात गर्ने योजनामा छौं ।
खैरेनीघाटदेखि खोलाखर्कसम्म कालोपत्रे गर्न डिपिआर
रामेछाप सिन्धुली जोडने नेपालथोकस्थित खैरेनीघाट पुलदेखि खनियापानी, बेथान, हिलेदेवी दिमीपोखरी हुँदै दोरम्बा गाउँपालिकाको खोलाखर्कसम्मको सडक कालोपत्र गर्नको लागि डिपिआरको काम सम्पन्न भएको छ । सडक पिच गर्नको लागि प्रदेश सरकारसँग प्रस्ताव गरिएको छ । यसै बर्षबाट बजेट विनियोजन भएको अवस्थामा कालोपत्रेको काम अगाडि बढछ । यसको लागि केन्द्र सरकारसँग पनि पहल गरेको छु ।
जनप्रतिनिधिको पहलमा सिन्धुलीटारमा पक्की पुल
सुनापती गाउँपालिका जोडन अहिले खैरेनीघाटमा पक्की पुल निर्माण भइरहेको छ । त्यो सँगै वैकल्पिक पुलको रुपमा सुनकोसी नदीस्थित तेमाल गाउँपालिका र सुनापती गाउँपालिका जोडने पुल खैरेनीघाटमा निर्माण कार्य सुरु भएको छ । यसबाट विपी राजमार्ग जोडने सहज हुनेछ । यो पुल निर्माण गर्नको रामेछाप प्रतिनिनिसभाको सांसद श्यामकुमार श्रेष्ठको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
गाउँपालिको हुँदै मध्यपहाडी लोकमार्ग
हाम्रो गाउँपालिकाको लागि निकै खुसीको कुरा हो । मध्यपहाडी लोकमार्गले तीन वटा वडा छोएर गएको छ । अहिले धमाधम काम भइरहेको छ । अहिले नेपाथोकदेखि बेथान हुँदै गुन्सी खण्डको काम सुरु भएको छ । मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि गाउँपालिकाका बासिन्दालाई काठमाडौं आउन जान निकै सहज हुनेछ ।


गाउँपालिकाको सबै टोलटोलमा सडक
विगतदेखि नै सडक खन्ने काम भएको थियो । हामी आएपनि आवश्यक क्षेत्रमा सडकको ट्रयाक खन्ने काम सम्पन्न भएको छ । गाउँपालिकाको सबै टोलटोलमा सडक पुगेको छ ।अब सडक नपुगेको अवस्था छैन् । अब गाउँपालिकाले सडकको नयाँ ट्रयाक ओपन गर्नतिर लाग्दैन । सडकको स्तरउन्तीको काममा लाग्छ ।
खानेपानी आयोजनालाई तीब्रता
गाउँपालिकाको प्रत्येक जनतालाई सहज रुपमा खानेपानीको सुविधा दिनु हाम्रो दायित्व र कर्तव्य हो । विनाशकारी भुकम्पको कारण खानेपानीको मुहान सुक्दा धेरै ठाउँमा समस्या छ । बेथान खनियापानी, गुन्सी वडामा खानेपानीको समस्या समाधान गर्न विभिन्न खानेपानी आयोजना सुरु भएका छन् । ती आयोजनालाई समयमा नै सम्पन्न गर्न हामी लागेका छौ । दुई बर्षभित्र एक घर एक धारा पुर्याउछौ ।
अब गाउँपालिकाभित्र अग्रजी माध्यबाट पढनपाठन
गाउँपाकिाभित्र रहेका विद्यालयहरुमा अब अनिवार्य रुपमा अग्रजी माध्यबाट पठनपानठको काम हुन्छ । नमूना मावि डहुले यस अघिबाट नै अग्रजी माध्यबाट पठनपाठन सुरु गरिसकेको छ ।
गाउँपालिकाको नाममा ८४ रोपनी जग्गा
गाउँपालिकाको केन्द्र रहेको हिलेदेवीको साँडीडाँडाका स्थानीयले ठूलो छाती बनाएर हामीलाई ८४ रोपनी जग्गा निशुल्क रुपमा उपलब्ध गराउनुभएको छ । हाल गाउँपालिकाको भवन बसेको जग्गा पनि समाजसेवी बिवी तामाङले निशुल्क रुपमा दिनुभएको छ । यो गाउँपालिकाको लागि निकै ठूलो खुसीको कुरा हो । जग्गा खरिद गर्नको लागि आवश्यक पर्ने करोडौ बजेट जोगिएको छ । जग्गा दिन सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्