बीपी राजमार्गमा ठूला गाडी गुडाउन सर्वोच्चको रोक



२१ जेठ, काठमाडौं ।

सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला गाडी गुडाउन रोक लगाएको छ । सर्वोच्चले यस विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई ओदश दिएको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले ठूला गाडीलाई इजाजत दिने जेठ मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । व्यवसायीहरुको दबाबमा सरकारले १३ गते यहाँ ठूला गाडी चलाउने निर्णय गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागले हालै एक सूचना प्रकाशन गरी वीपी राजमार्गमा चक्काका आधार ४ हजार २ सय एमएम भएको र ३२ सिट क्षमताको सबारी साधानलाई बिहान ५ बजेदेखि राती ८ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको थियो ।

यस्तै, राती ९ बजेदेखि बिहान ५ बजेसम्म प्रति एक्सल भार १० दशमलव २ टन नबढ्ने गरी मालबाहक सवारी साधन सञ्चालन गर्न पाउने उल्लेख गरेको छ । यसअघि सो राजमार्गमा १६ सिट क्षमताका सवारी साधन मात्र सञ्चालन हुने गरेको थियो ।खासगरी यात्रुवाहक साना सवारी टाटा सुमो र हायस गुड्ने गर्छ भने साना मालबाहक सवारी साधन पनि गुड्ने गरेको थियो ।

वीपी राजमार्गमा सडकको चौडाई ५ मिटर मात्र छ । साथै धेरै घुम्तिहरु पनि छन् ।
सडकमा गुड्ने सवारी साधनको अवस्था र प्रकारका आधारमा सडकको डिजाइन गरिएको हुन्छ । ५ मिटर मात्र चौडाई भएको सडकमा ठूला सवारी साधन सञ्चालन जोखिमपूर्ण हुन्छ । बढी भार बोकेका सबारी सधानले भने सोही अनुसारको एक्सेल थप गर्नुपर्ने हुन्छ । १० दशमलव २ टन भार भएका सबारीमा एक एक्सल र सो भन्दा बढी २० टन सम्मका लागि दुई एक्सल थप्नुपर्ने हुन्छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठको निर्देशनमा यो सडकमा सवारीमा भएका एक्सलका आधारमा मालबाहक र यात्रुबाहक सबारी सञ्चालन गर्न खुला गरिएको थियो ।
वीपी राजमार्गमा पनि सडकको गुणस्तर, मापदण्ड उपयुक्त भएपनि सडकको चौडाईका आधारमा ठूला सवारी साधान सञ्चालन गर्नु जोखिमपूर्ण हुने इन्जिनियरहरुको ठहर छ ।
ठूला सवारी साधन सञ्चालन गर्न सर्वोच्चले रोक लगाएपछि रामेछापमा अब बीपी राजमार्ग हुँदै ठूला सवारी साधन सञ्चालन नहुने भएका छन् । जसको कारण सिन्धुलीबाटै निर्यात हुँदै आएको सबै प्रकारका वस्तुहरुको मूल्य बढने भएको छ ।

प्रतिक्रिया दिनुहोस्