सुनापती गाउँपालिकाका अध्यक्ष लामालाई जनताको प्रश्न–‘सिंहदरवार गाउँमा आयो कि उतै छ अध्यक्षज्यू ?’



२७ असार, रामेछाप । निर्वाचन अघि जनता समक्ष गरेको प्रतिबद्धता भुल्दै गएको भन्दै रामेछाप सुनापती गाउँपालिकाका जनप्रतिनिधिहरुमाथि प्रश्न उठन थालेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको एक बर्ष वितिसक्दा समेत खासै परिवर्तन आउन नसकेको भन्दै नागरिकहरुमा निराशा र असन्तुष्टि छाएको हो । निर्वाचनमा ठूला–ठूला नारा र भाषणा गरेपनि निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको कार्यशैलीको कारण नागकिरहरुले राखेको आशा अनुसारको काम हुन सकेको छैन् ।
नयाँ निर्माण गर्नतिर भन्दा पनि निर्माण भएको भौतिक संरचना समेत सञ्चालनमा ल्याउने जाँगर गाउँपालिकाले गर्ने आँट गर्न सकेको छैन् । एक बर्ष अघि निर्माण सम्पन्न भएको सुनापती गाउँपालिका–४ बेथानस्थित पिपलडाँडाको १६ कोठे पक्की स्वास्थ्य चौकी भवन अहिले वेवारिसे अवस्थामा पुगेको छ । भवन निर्माण सम्पन्न गरेर ठेकेदार कम्पनीले एक बर्ष अघि नै सरकारलाई हस्तान्तरण गरिसकेको छ । तर उक्त भवनमा गाउँपालिकाले सेवा सञ्चालन गर्न इच्छा शक्ति देखाएको छैन । भौतिक पूर्वाधारमा सुविधा सम्पन्न स्वास्थ्य चौकीलाई एक जना डाक्टर सहितको सेवा सञ्चालन गर्न नागरिकहरुले माग गरेपनि गाउँपालिकाले भने एक कानले सुनेर अर्को कानले उडाउदै आएको छ । २ करोड ४ लाखमा निर्माण भएको उक्त स्वास्थ्य चौकी भवन अहिले अलपत्र अवस्थामा छ ।

स्वास्थ्य सेवा प्रवाह गर्न गाउँपालिकाको वेवास्था
गाउँपालिकाको पाँच वटै वडाको केन्द्रमा रहेको बेथानको स्वास्थ्य चौकी सञ्चालन गर्न गाउँपालिकाले कुनै चासो नै देखाएको छैन् । नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु गाउँपालिकाको दायित्व र कर्तव्य भएपनि आफनो जिम्मेवारीबाट पन्छिदै आएको बेथानका स्थानीय कुमार खडका बताउछन् । उनले भने,‘जनप्रतिनिधिहरु आएपछि के–के न हुन्छ भन्ने सोचेका थियौ, जो आएपनि हामीले घर अगाडि नै सुविधा सम्पन्न भवन बनेर पनि सुविधा लिन पाएनौ ।’ गाउँपालिकाले बार्षिक रुपमा बजेटको व्यवस्था गरेर एक जना डाक्टर, ल्याब र रेक्सरे मेसिनको व्यवस्था गरिदिने हो भने सामान्य उपचार गर्नको लागि राजधानी काठमाडौ जानु पर्ने बाँध्यता हटने बुझाई उनको ।

गाउँपालिकाका अध्यक्षले ध्यान नदिएको आरोप
गाउँपालिकालाई कस्तो बनाउने ? कस्ता नीति र योजना बनाउने भन्ने मुल जिम्मेवारी गाउँपालिकाको अध्यक्षको हुन्छ । स्पष्ट योजना छनोट गरेर नीति निर्माण गरे मात्र लक्ष्य अनुसारको काम गर्न सकिन्छ । तर सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले बेथानको स्वास्थ्य चौकीलाई सुविधा विस्तार गरेर सञ्चालन गर्न नसकेको आरोप लागेको छ । अध्यक्ष लामाले न्युनतम बजेट विनियोजन गरेर जनताको स्वास्थ्यजस्तो संवेदनशिल विषयलाई ध्यान नदिएको बताउदै बेथानका स्थानीय राजकुमार खडकाले भने,‘गाउँपालिकाका अध्यक्षले स्वास्थ्य चौकी सञ्चालन गर्न पर्याप्त ध्यान नदिदा सामान्य उपचार गर्न पनि काठमाडौं जानु पर्ने बाँध्यता छ, सिंहदरवारको अधिकार गाउँगाउँमा आयो भन्ने सुनकोको हो तर सिंहदरवार आयो कि उतै छ अध्यक्षज्यू ?’ अध्यक्ष लामाले भने बेथानमा निर्माण भएको नयाँ स्वास्थ्य चौकी सञ्चालनको लागि गृहकार्य भइरहेको बताउदै आएका छन् ।
गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य शाखाले बेथानस्थित स्वास्थ्य चौकीमा ल्याब, एक्सरे मेसिन, एक जना डाक्टर सहितको सुविधा दिनुपर्नेमा जोड दिदै आएपनि गाउँपालिकाले कुनै चासो नदेखाएको गुनासो गरेको छ । स्वास्थ्य शाखाका एक कर्मचारीका अनुसार बार्षिक दस लाख रुपैयाँ बजेट खर्च गर्ने हो स्वास्थ्य चौकीमा एक जना डाक्टर राखेर नै सेवा दिन सकिन्छ । गाउँपालिकाभित्र अहिलेसम्म अस्पताल सञ्चालनमा आउन सकेको छैन् र गाउँपालिकाले यसको सञ्चालन गर्नतिर पनि खासै ध्यान दिएको छैन् ।

सरकारले दिएको एम्बुलेन्स जोमसामा अलपत्र
सरकारले बेथानस्थित स्वास्थ्य चौकीको लागि दिएको एम्बुलेन्स वेवारिसे अवस्थामा थक्एिको छ । उचित व्यवस्थापन हुन नसक्दा बेथानको जोमसामा अलपत्र अवस्थामा रहेको एम्बुलेन्सको मर्मत सम्भार हुन सकेको छैन् । गाउँपालिकाले ममर्त सम्भार गरेर सञ्चालन ल्याउन समेत ध्यान नदिएको स्थानीय पदम लामाले बताए । उनले भने,‘सरकारले सुविधाको लागि दिएको एम्बुलेन्स, गाउँपालिकाले माल पाएर पनि चाल पाएन ।’ गाउँपालिका अन्तर्गत अहिलेसम्म एउटा पनि एम्बुलेन्सको सुविधा छैन् ।

बिरामी भएर उपचारको लागि काठमाडौं लैजानु पर्ने अवस्था सृजना भए महंगो भाडा तिरेर जान गाउँपालिकावासी बाँध्य भएका छन् । स्वास्थ्य चौकी निर्माण भएर पनि सेवा सुविधा विस्तार सहित सञ्चालन गर्न ध्यान नदिएको, अलपत्र अवस्थामा रहेको एम्बुलेन्स बनाउन ध्यान नदिएको भन्दै स्थानीयले गाउँपालिकासँग असन्तुष्टि जनाएका छन् । भल्वाडीका स्थानीय बुद्ध तामाङले भने,‘भएको स्रोत र साधनलाई त प्रयोगमा ल्याउन नसक्ने जनप्रतिनिधिहरुसँग के आशा गर्नु ?’ पाँच बर्ष अघिबाट अलपत्र अवस्थामा रहेको एम्बुलेन्स मर्मत गर्न करिब चार लाख लाग्ने बताइएको छ । बेथानको निर्माण भएको स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गर्न सकेको खण्डमा गाउँपालिकाका पाँच वटै वडाका नागरिकहरुले स्वास्थ्य सेवा लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्