‘वडाको विकासमा मन बचन र कर्मले लागेको छु’



स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको डेढ बर्ष पुगेको छ । यस अवधिमा जनप्रतिनिधिहरु पनि विकास निर्माणको काम गर्न लागि परेका छन् । तर अपेक्षाकृत रुपमा परिणाम भने निकाल्न सकेका छैनन् । सडक, विद्युत, खानेपानी लगायतको क्षेत्रमा नागरिकहरुले परिवर्तनको आशा र अपेक्षा गरेका छन् । रामेछापको सुनापती गाउँपालिका–१ गुन्सीका वडा अध्यक्ष चण्डेश्वर चौलागाई (राजु)ले पनि विकास निर्माणको काम गर्न आफू अहोरात्र लागि रहेको बताउछन । यसै विषयमा वडाको विकास निर्माणको लागि गरेको प्रयास र आगामी योजना लगायतको विषयमा केन्द्रीत रहेर रामेछाप न्युजको लागि स्नेहा सिलवालले गरेको कुराकानीः–

चण्डेश्वर चौलागाई ‘राजु’
वडा अध्यक्ष, सुनापति गाउँपालिका–१ गुन्सी

तपाईको वडाभित्र विकास निर्माणको काम कसरी अगाडि बढेको छ ?
–निर्वाचनको क्रममा जनतासँग गरेको प्रतिबद्धता अनुसार नै काम अगाडि बढाएका छौं । निर्वाचनको क्रममा नपुग्ने बाचा गरिएको थिएन । हामीले जे प्रतिबद्धता व्यक्त गरेका थियौ, सोही प्रतिबद्धता कार्यान्वयन गर्ने क्रममा छौं । दुई खोलाको बीचमा रहेको वडामा सहज रुपमा यातायात सञ्चालन गर्न पनि कठिनाई छ । काठमाडौंबाट वडासम्म आउने सडक सञ्जाल जोडिएको लामो समय वितिसके पनि चौरी खोलाको पक्की पुल समयमा नै निर्माण नहुँदा वडाभित्रका नागरिकहरुले सास्ती पाएका छन् । खानीखोलाको टोकी र खिम्तीवेसीमा पक्की पुलको लागि गाउँपालिकाले नै पहल गरिरहेका छ ।
सडकको अवस्था कस्तो छ ?
–वडाले सडक निर्माणसँगै स्तरउन्नतीको कामलाई प्राथमिता दिएको छ । तीन वटा स्थानबाट वडासम्म सडक सञ्जाल विस्तार भएको छ । काठमाडौंबाट काभ्रे हुँदै गुन्सीसम्म यातायात सञ्चालन गरेको लामो समय नै वितिसकेको छ । वडादेखि गाउँपालिकाको केन्द्र हिलेदेवीको सादीडाँडासम्म पनि यातायात जोडिएको छ । वडाबाट सिम्ले खानीखोला हुँदै पनि सडक जोडिएको छ । वडाभित्र अधिकाशं टोलटोलमा सडक पुगेको छ । अब सडकको ट्रयाक खन्ने काम धेरै छैन् । अब वडाले सडकको स्तरउन्ततीको कामको लागि ध्यान दिन्छ । बर्षामा यातायात नै सञ्चालन गर्न नहुने गरी सडक विग्रिएको छैन् । सडकमा पक्की नाला निर्माण गर्न नसकेपनि सडकमा सिधै पानी नबगोस भनेर नाला काटने काम भएको छ ।
वडाभित्र निर्माणाधिन मध्य पहाडी लोकमार्गले वस्ती नै जोखिममा परेको छ नि यसको लागि के गरिरहनुभएको छ ?
– सुनापती गाउँपालिको गुन्सीमा मध्य पहाडी लोकमार्ग निर्माण हुनु निकै राम्रो विषय हो । लोकमार्गले छुनु नै गौरवको रुपमा िलएका छौं । विकास र विनाश एक साथ आउदो रहेको छ । वडाको साविक वडा नम्बर १ गुन्सीको तल्ली वस्ती र २ को ढोडेनी तल्लो वस्ती जोखिममा परेको छ । ढोडेनीको वीस घर जोखिममा छ । भुक्षय हुने पहिरो जाने सम्भावना मध्येनगर गर्दै ठेकेदारसँग हामीले समन्वय गरेर रोकथामको लागि काम गरिरहेका छौ । ठेकेदार कम्पनीले सिचाईको निर्माण गर्ने भएको छ । ठूलो लगानीले कुलो बन्ने अवस्था छैन् । खानीखोला तिरमा रहेको खेलमा पनि किसानको गुनासो आएको छ । ठूलो मात्रामा खेतीयोग्य जमिन पुरिने अवस्था छ । त्यसको लागि किसानको क्षतिपूर्तिको लागि वडा कार्यालयमा धाउने गरेका छन् ।
वडाभित्र काठको पोल हटाउने कार्य कहाँ पुग्यो ?
–काठको पोल हुँदा स्वभाविक रुपमा जोखिम बढेको छ । केही समय अघि एक जनाको काठको पोल ढलेर तार बाटोमा रहदा एक जनाको ज्यान गयो । जुन दुःख घटना भयो । अहिले काठको पोल पूर्ण रुपमा हटाएर स्टीलको पोल गाडने क्रम सुरु भएको छ । अहिले वडाको ढोडेनीमा पोल गाडने काम सुरु भएको छ । वडाको लागि झण्डै साढे सात सय पोल चाहिने आकलन गरिएको छ । सामुदायिक विद्युतीकरण कार्यक्रम अन्तर्गत भएको विद्युतीकरणलाई व्यवस्थित बनाउनको लागि दुई महिनाभित्र काठको पोल हटाएर स्टीलको पोल गाडने काम सम्पन्न हुन्छ ।
खानेपानीको समस्या पनि ब्याप्त छ भन्ने गुनासो छ नि ?
पर्याप्त रुपमा खानेपानीका मुहान नहुँदा खानेपानीको समस्या छ । वडाको साविक ५, ६, ७ र २ नम्बर वडामा लिफ्ट खानेपानी आयोजनाको काम अगाडि बढाइएको छ । जस अन्तर्गत पहिलो चरणको इनार खन्ने काम सम्पन्न भएको छ । एउटा आयोजना सम्पन्न गर्न मात्र १३ करोड रुपैयाँ खर्च हुनेछ । नागरिकहरुलाई सहज रुपमा खानेपानीको व्यवस्था गर्नको लागि हामीले काम गरिरहेका छौं ।
शिक्षा क्षेत्रको सुधारको लागि के–के काम गरिरहनुभएको छ ?
–विशेष गरी मैले शिक्षामा अलि बढी समय दिएको छु । युगसँग चल्न नसक्ने शिक्षकहरुलाई भने विद्यालयमा नराख्ने योजना अनुरुप कार्यक्रम बनाएका छौ ।  गुणस्तरीय शिक्षा आजको आवश्यकता हो । प्रविधिको प्रयोगको आधारमा शैक्षिक क्षेत्रको गुणस्तर उकास्ने कार्यमा लागेका छौ ।विकासको मुख्य आधार शिक्षा हो । शिक्षाको चेतना नभइकन विकास र समृद्धि अधुरो हुन्छ । समग्र सुनापति गाउँपालिको समृद्धि हासिल गर्नको लागि शिक्षामा परिवर्तन आउनु पर्छ । विद्यार्थीहरुलाई युग सापेक्ष शिक्षा उपलब्ध गराउनु पर्छ । त्यसको लागि वडाको तर्फबाट प्रक्रिया अगाडि बढाएको छौं ।

प्रतिक्रिया दिनुहोस्