‘गोकुलगंगा गाउँपालिकाभित्र ४ बर्षमा ४ हजार युवालाई रोजगारी दिन्छौ’



गाउँगाउँमा सिंहदरवार आएपछि ठूलै परिवर्तन हुने आशा र अपेक्षा स्थानीय तहका नागरिकहरुले गरेका थिए । स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको डेढ बर्षको अवधिमा केही सुधारको थालनी त गरेका छन तर अपेक्षाकृत रुपमा भने नतिजा निकाल्न सकेका छैनन् । विशेषगरी रोजगारी सृजना हुने गरी काम हुन सकेको छैन् । सडक लगायतका भौतिक पूर्वाधार निर्माणमा स्थानीय तहले बजेट खर्च गरेपनि रोजगारी सृजना गर्ने र उत्पादनमूलक काममा भने अपेक्षाकृत रुपमा ध्यान दिन नसकेको हो कि भन्ने प्रश्न पनि जन्मिएको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले भने गाउँपालिकाको प्राथमिकता निर्धारण गरेर कृषि क्षेत्रको परिवर्तनको लागि जुटेका छन् । गाउँपालिकालाई आर्थिक रुपमा समृद्ध बनाउन कृषि क्षेत्रमा नै परिवर्तन गर्नुपर्ने योजनाको साथ बजेटमा पनि प्राथमिकता दिएका छन् । भौतिक पूर्वाधारसँगै कृषि क्षेत्रको विकास गरेर गाउँघरमा नै युवाहरुलाई रोजगारी सृजना गर्ने अभियानमा अहिले गाउँपालिकाले अगाडि सारेको छ । यसै विषयमा गोकुलगंगा गाउँपालिकाको समग्र विकास निर्माणको काम र कृषि क्षेत्रमा गर्ने भनिएको रोजगारी सृजना लगायतको विषयमा केन्द्रीत रहेर गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारसँग रामेछाप न्युजको लागि स्नेहा सिलवालले गरेको कुराकानीः–


  • खड्ग बहादुर सुनुवार
    अध्यक्ष, गोकुलगंगा गाउँपालिका, रामेछाप

गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र समृद्धि बनाउने तपाईको योजना कहाँ पुग्यो ?
–गोकुलगंगा गाँउपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनु पर्छ भन्ने हाम्रो अभियानले सार्थकता पाउदै जाने क्रममा छ । गाँउपालिका कृषिमा नै निर्भर छ । गाउँपालिकाले अहिले विगतमा भएका परम्परागत कृषि प्रणालीमा परिवर्तन ल्याउन र प्रविधिको प्रयोग गरेर कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गरिरहेको छ । गाउँमा कृषि क्षेत्रमा परिवर्तन ग गर्नपर्छ यसको लागि आफैले सुरुवात गर्नुपर्छ भनेर भैले नै सात वटा कृषिका नमूना काम गरेर देखाइसकेको छु । कृषि क्षेत्रमा ट्रायलको रुपमा जनतालाई सिकाउने काम गरिरहेको छु । कृषि क्षेत्रबाटै गाउँपालिकालाई परिवर्तन गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने काममा हामीले केही सफलता प्राप्त गरेका छौ । मलाई विश्वास छ हाम्रो योजना सफल हुन्छ ।

कृषिको कुन–कुन क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने योजना अगाडि सार्नुभएको छ ?
–स्पष्ट योजना विना लक्ष्य हासिल गर्न सकिदैन । कुनै पनि काम गर्नको लागि योजना चाहिन्छ । त्यो योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न दृढ इच्छा शक्ति पनि चाहिन्छ । हामी जनप्रतिनिधिहरु योजनालाई कार्यान्वयन गर्न लागि परेका छौं । गाउँपालिकाको समृद्धिको आधार भनेकै कृषि हो ।

गाउँपालिकाको ६ वटा वडामा कहाँ के उत्पादन हुन्छ भनेर हामीले ती क्षेत्रलाई पकेट क्षेत्रको रुपमा विकास गरेर लैजाने योजना अगाडि सारेका छौं । हामीले काम गर्न सकिन्छ भनेर पुष्टि गरिसकेका छौं । उदाहरणको लागि ११० रोपनी क्षेत्रमा कफी उत्पादन गरेका छौ । यसमा कृषकहरुको ठूलो भूमिका छ । अर्गानीक कफीको माग धेरै छ । हामी अर्गानीक कफी उत्पादन गरेर बजारमा पुर्याउन चाहन्छौ ।

यो सगै हाम्रो विभिन्न वडामा आलु किबी, लगायतका फलफुलको राम्रो उत्पादन हुन्छ । गाउँपालिकाले कृषि क्षेत्रको लागि बजेटसँग कृषकहरुको लगानीलाई पनि प्राथमिकता दिएका छौ । गाउँपालिकाले मात्र लगानी गर्दा प्रतिफल नआउने भएकाले कृषि क्षेत्रका विकासमा कृषकहरुको लगानी पनि अनिवार्य गरेका छौं ।

यस बर्ष कृषिमा कृषि क्षेत्रको लागि कति बजेट विनियोजन गर्नुभएको छ ?
–कृषिमा यो बर्ष हामीले ३ करोड जति वजेट विनियोजन गरेका छौं । गाउँपालिकाको पहिलो प्राथमिता कृषि नै हो । हाम्रो प्राथमिकतालाई मध्यनजर गर्दै विभिनन संघ संस्थाहरुले पनि कृषि क्षेत्रमा लगानी गरेका छन् ।
अबको चार बर्षमा नै तपाईले भनेकोजस्तै गाउँपालिकाका कृषिमा आत्मनिर्भर हुन्छ त ?
– कृषि क्षेत्रमा गरेको लगानीको परिणाम आउछ । यसको लागि जनताको पनि साथ र सहयोगको निकै ठूलो खाँचो छ । अहिले बजार उपयुक्त भएन भन्ने गुनासो कृषकहरुको छ । तर हामी बजारको राम्रो प्रबद्र्धन गर्ने प्रतिबद्धता गर्न चाहन्छौ । कृषकहरुलेले उत्पादन गरेको कृषिजन्य उत्पादनलाई बजारसम्म पुर्याउने सुनिश्चितता गाउँपालिकाले गर्छ । उत्पादन गर्नुहोस बजारको जिम्मा हाम्रो भो । अब किसानहरुले चिन्ता गर्नुपर्ने जरुरी छैन ।

गाउँपालिकाभित्र सडकको अवस्था कस्तो छ ? भौतिक पूर्वाधार निर्माणको काम कसरी अगाडि बढेको छ ?
–गोकुलगंगा गाँउपालिका सिस्टममा चल्छ । जति विकास निर्माणको काम हुन्छ सबै पारदर्शी ढंगले काम हुन्छ । गाउँपालिकाले सडक निर्माणको लागि मेसिन खरिद गरेको छ । सडकको मर्मतको लागि प्रयोग हुँदै आएको छ । बाँकी काममा पनि प्रयोग गछौं । त्यसलाई गाउँपालिकाले विधि बनाएर सञ्चालन गरेको छ । गाउँपालिकाको आफ्नै भवन निर्माण हुँदैछ । दुई तीन महिनाभित्र नै पालिकाको आफनै भवन हुन्छ ।

गाउँपालिकाभित्र स्वास्थ्य र शिक्षाको क्षेत्रमा सुधार गर्ने के योजना अगाडि सानुभएको छ ?
–स्वास्थ्य र शिक्षालाई गाउँपालिकाले प्राथमिकता दिएको छ । गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा शिक्षाको अभाव हुन दिएका छैनौ । स्वास्थ्य संस्थाहरुमा पर्याप्त औषधीको व्यवस्था गरेका छौं । स्थानीय जनताहरुलाई स्वास्थ्य बीमा गर्नुपर्छ भन्ने अभियान चलाउन खोजीरहेका छौँ । हाम्रो पहलमा नै गाउँपालिकाको केन्द्रमा अस्पताल निर्माणको काम अगाडि बढने भएको छ । हामीले एउटा संस्थासँग साझेदारी गरेर डेढ करोड संस्थाले लगानी गर्ने, डेढ करोड पालिकाले लगानी गरेर काम गर्न खोजिरहेका छौं । अस्पताल निर्माण भएपछि अस्पताको लागि आवश्यक डाक्टर र कर्मचारीको दरबन्दी माग गरेका छौं । यही आर्थिक बर्षबाट स्थानीयस्तरबाट हामी अस्पताल सञ्चालनमा ल्याउछौ ।
हाम्रो गाउँपालिकाको सबै भन्दा ठूलो समस्या शिक्षा क्षेत्रको हो । यस विषयमा हामी निकै चिन्तित छौं । अहिले शिक्षामा हामीले परिवर्तन लयाउन सकेका छैनौ । एउटा सामुदायिक विद्यालयबाट संचालन हुने शिक्षाबाट भनेजस्तो परिणाम निकाल्न सकेका छैनौ । शिक्षामा सुधार ल्याउनको लागि केही संघ संस्था मिलेर काम गरिरहेका छौं । शिक्षामा परिर्वतन ल्याउन पर्छ भनेर हामी अत्यन्तै चिन्ताको साथ लागि परेका छौं । गाउँपालिका जनप्रतिनिधि, शिक्षक, अभिभाव हामी सबै मिलेर सुधारको लागि गृहकार्य भइरहेको छ । गाउँपालिकामा गुणस्तरीय शिक्षाको विकास गर्न हामी आतुर छौ, आशा गरौ विस्तारै परिवर्तन हुँदै जान्छ ।

निर्वाचनको क्रममा विदेशिएका युवाहरुलाई गाउँमा नै रोजगारी सृजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो नि अहिले के गर्दै हुनुहुन्छ ?
–गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनु भनेको नै युवाहरुलाई फर्काउने अभियान हो । हामीले कृषि क्षेत्रमा मात्र १८ वटा योजना अगाडि सारेर कार्यान्वयमा जुटेका छौं । यो योजना बृद्धाहरुले गर्न सक्दैन । त्यसको लागि युवाहरु नै चाहिन्छ । हाम्रो क्षेत्रमा धेरै जलविद्युत आयोजनाहरु छन् । ती आयोजनाहरुमा पनि युवा शक्तिहरुलाई रोजगारी उपलब्ध गराउन पर्छ भनेर लागिपरेका छौं । हामीले कृषि र जलविद्युत क्षेत्रमा निजी क्षेत्रलाई लगानी गर्न पनि आग्रह गरिरहेका छौं । पर्यटन, कृषि लगायतको क्षेत्रमा हामी ७ हजारसम्म रोजगारी सृजना गर्न सक्छौ । कृषि र पशुपालन अन्तर्गत हामीले नामाडीमा वृहत्त काउ फार्म सञ्चालन गर्ने यतारीमा छौं । यो योजना कार्यान्वयमा ल्याउन सफल भयो भने १५ सय जनालाई रोजगारी दिन सकिन्छ । हामीले राखेको योजना सफल भएको अवस्थामा चार बर्षभित्र चार हजार युवाहरुलाई रोजगारी दिन सक्छौ ।
खानेपानीको समस्या र त्यसको समाधानको लागि के गरिरहनुभएको छ ?
–हाम्रो गाउँपालिकामा खानेपानीको धेरै ठूलो समस्या छैन् । तर व्यवस्थान भने हुन सकेको छैन् । हामीले व्यवस्थापन गर्नका लागि खानेपानीलाई पनि सिस्टममा ल्याउदै छौँ । गाउँको कुनै पनि व्यक्तिले खानेपानी व्यवस्थित गर्न चाहन्छ भने हामी प्राविधिक उपलब्ध उगरादिन्छौ । सर्भे र डिजाईन गर्दिन्छौँ । हामीले एक घर एक धारा भन्ने अभियान पनि अगाडि बढाएका छौं ।

प्रतिक्रिया दिनुहोस्