सुनापती गाउँपालिकाको केन्द्रमा प्रहरी चौकी स्थापना



४ भदौ, रामेछाप ।
रामेछापको सुनापती गाउँपालिकाको केन्द्र सादिडाडाँमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । गाउँपालिकाको केन्द्र सादिडाँडामा बैक सञ्चालन हुने भएसँगै प्रहरी चौकी स्थापना भएको हो । गाउँपालिकाले सुरुदेखि नै प्रहरी चौकी स्थापना गर्न पहल गरेको थियो । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले रामेछाप न्युजसँग भने,‘पालिकाको पहलमा प्रहरी चौकी स्थापना भएको छ, बैक पनि अब केही समयभित्र नै सञ्चालनमा आउछ ।’ द्धन्द्धकालमा हिलेदेवीमा रहेको प्रहरी चौकी विस्थापित भएको थियो ।


तर शान्ति प्रक्रिया सुरु भएपछि पनि पुनः चौकी स्थापना हुन सकेको थिएन । बेथानमा रहेको इकाला प्रहरी कार्यालयले नै हिलेदेवी पनि हेर्दै आएको थियो । द्धन्द्धकालमा विस्तापित भएको प्रहरी चौकी स्थानीय तहको सरकारले पहलमा पुनः सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाको केन्द्रमा विभिन्न कार्यक्रम हुने, भिडभाड हुने र बैंकको लागि सुरक्षा अनिवार्य रुपमा चाहिने भएकाले गाउँपालिकाको पहलमा अस्थायी प्रहरी चौकी सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष लामाले साविक गाविस भवनमा हाल अस्थायी प्रहरी चौकी स्थापना गरेर सञ्चालनमा ल्याइएको बताए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी डिएसपी अमरेन्द्र बहादुर सिंहले अस्थायी रुपमा हिलेदेवीमा प्रहरी चौकी सञ्चालनमा ल्याएको बताए । उनले रामेछाप न्युजसँग भने,‘आवश्यकताको आधारमा अहिले अस्थायी रुपमा प्रहरी चौकी सञ्चालमा ल्याएका छौ, हामी चौकीलाई स्थायी चौकी बनाउने प्रक्रियामा छौं ।’ उनले रामेछापमा ठोसेमा पनि थप प्रहरी चौकी स्थापना गर्न माग रहेको र चौकी स्थापना गर्नको लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्