दोलखाको कालीञ्चोक मन्दिरसम्म केबुलकार सरर……



९ असोज, दोलखा । दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म केबुलकार सञ्चालन भएको छ । कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको हो ।
मुलुककै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो चरणको परीक्षण सफल भएको हो । दोलखाली उद्योगीको लगानी रहेको केबुलकारमा चार वटा गोण्डला रहने र प्रत्येकमा १० जना बस्न सक्ने क्षमता रहेको छ । धार्मिक पर्यटकीय क्षेत्र कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म ९०० मिटर लामो दूरीको केबुलकार निर्माण गरिएको हो ।

दशैँअघि देखि नै व्यावसायिक सञ्चालनमा आउने तयारीका साथ केबुलकार निर्माणको काम गरिरहेको भए तापनि स्विटजरल्याण्डबाट प्राविधिक आइनपुगेका कारण केही ढिला हुन गएको कालीञ्चोक दर्शन प्रालिका कार्यकारी निर्देशक बालकृष्ण शिवाकोटीले बताए ।
२६ करोडमा केबुलकार निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण शुरु गरेको कम्पनीको लागत बढेर रु ४० करोड पुगेको कम्पनीले जनाएको छ । शुरुमा २६ करोडमा निर्माण गर्ने भनिए तापनि निर्माण अवधि बढेको र सामानमा मूल्य वृद्धि हुनाका साथै नयाँ नियम नबनेको भन्दै सरकारले भन्सार छुट नगर्दा लागत बढेको कम्पनीका निर्देशक बालकृष्ण शिवाकोटीले बताए ।
कालीञ्चोकको कुरीदेखि मन्दिरसम्म पुग्नका लागि एक किलोमिटरको उकालो हिँड्नुपर्ने भएका कारण कतिपय धार्मिक पर्यटक त्यही उकालो हिँड्न नसकी बीच बाटैबाट फर्कने गरेका छन् । केबुलकार निर्माण भएसँगै पाँच मिनेटको पैदलमा कालीञ्चोक मन्दिरको दर्शन गर्न सकिन्छ ।

कालीञ्चोकको कुरी बजारसम्म सडकको पहुँच पुगेको र केबुलकार निर्माण भएसँगै करोडाँैको लगानीमा होटलसमेत सञ्चालनमा आएको छ । मङ्सिरदेखि फागुनसम्म हिमपात हुने कालीञ्चोक क्षेत्रमा केबुलकार निर्माण भएसँगै पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरेको छ । केबुलकारबाट कुरी बजार, गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमशृङ्खला लगायतका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्