‘खाँडादेवी गाउँपालिकाभित्र अब नयाँ सडक बन्दैन, भएकालाई बनाउँछौ’



स्थानीय तहमा सडक निर्माणको लहर नै चलेको छ । तीब्र गतिमा विकास निर्माणको चाहना आम नागरिकहरुले राखेका छन् । तर त्यो अनुसारको काम भने हुन सकेको छैन् । स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको डेढ बर्ष भन्दा बढी समय वितिससकेको छ । निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार काम अझै हुन सकेको छैन् । स्थानीय तहमा आएको बजेट अधिकाशं सडक निर्माणमा नै खर्च हुने गरेको छ । तर सडकको अवस्थामा भने उल्लेखिय रुपमा सुधार आउन नसकेको गुनासो व्याप्त छ । यसै विषयमा खाँडादेवी गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नम्बर ६ माकादुमका वडा अध्यक्ष पुष्कर कार्कीसँग गाउँपालिकाभित्र सडकको अवस्था, कृषि क्षेत्रको सुधार, खानेपानी, विद्युत, रोजगारी लगायतको विषयमा केन्द्रीत भएर रामेछाप न्युजको लागि स्नेहा सिल्वालले गरेको कुराकानीः–

पुष्कर कार्की प्रवक्ता एवं वडा अध्यक्ष, खाँडादेवी गाउँपालिका–६ माकादुम

गाउँपालिकाभित्र सडक निर्माण भएपनि व्यवस्थापनको पक्ष कमजोर देखिएको हो ?
हो, अहिले सडकको अवस्था निकै नाजुक छ । अहिले निकै कष्टको साथ यातायात सञ्चालन भइरहेको छ । दशैँ अगाडि सबै सडक मर्मत गरेर यातायात सञ्चालन गर्ने नीति अगाडि सारेका गछौं । गत बर्ष हामीले ‘एक घर एक बाटो भन्ने अभियान चलाएका थियौँ र वडा नम्बर ६ मा २सय ३५ घरधुरीमा बाटो पुर्यायौ ।
सडकमा बजेट खर्चिए पनि राम्रो हुन नसकेको कारण के हो त ?
–वडाभित्र सडक सबै ठाउँमा पुगेको छ । तर त्यसको स्तरउन्नती राम्रो छैन् । हामीले अब नयाँ ट्याक नखन्ने, भएको सडकलाई नालाको व्यवस्थापन गरेर सडकमा पानी बग्न नदिने, अप्ठयारो भएको ठाउँमा सडकको चौडा गर्ने, घुम्तीमा थप मर्मत गरेर राम्रो बनाउने सोच बनाएका छौ । आगामी दिनमा गाउँपालिकाभित्र व्यवस्थित सडक निर्माण गछौं ।
जति बजेट खर्चिए पनि किन सडकको अवस्था सुधार हुन नसक्नुको कारण ?
–यस आर्थिक बर्षमा पनि हामीले बजेट सडक क्षेत्रको लागि नै बढी छुटयाएका छौं । तर यस बर्ष हामीले सडक निर्माण अन्तर्गत नयाँ ट्रयाक ओपन गर्न होइन । स्तरउन्नतीको लागि बजेट छुटयाएका छौं । हामीले ९५ प्रतिशत बजेट मर्मत सम्र्भार र स्तरउन्नतीको लागि खर्च गर्ने योजना अगाडि सारेका छौं । अब सडकको अवस्थामा सुधार आउछ ।
सडक निर्माण गर्दा उपभोक्ता समिति मार्फत गर्दा पारदर्शी भएन भन्ने आरोप छ नि ?
–हामीले गाउँपालिकाको २१ औँ बैठकबाट ५ लाखदेखि माथिका सम्पूर्ण योजनाहरु टेन्डर सिस्टममा लैजाने निर्णय गरेर छलफल चलायौ । जसबाट कामको गुणस्तर र विधि अनुसार नै हुन्छ अपेक्षा गरेका थियौ । तर पाँच लाख भन्दा माथि टेन्डरमा जादा लामो समय लाग्ने भएको कारण हामीले २० लाख भन्दा माथि मात्र टेन्डर गर्ने निर्णय गरेका छौं । वीस लाख भन्दा तलको योजना निर्माण गर्नको लागि प्राविधिको अध्ययनको आधारमा जनताको बीचमा व्यापक रुपमा छलफल गरेर जनतालाई नै जिम्मेवार बनाउने गरी उपभोक्ता समितिबाट काम गर्ने निर्णय गरेका छौं । विकास निर्माणमा जनसहभागीलाई पनि ध्यानमा राखेर यो निर्णय गरिएको हो । उपभोक्ता समितिले पारदर्शी काम गरे नगरेको अनुगमन जनप्रतिनिधिले गर्छन ।


खानेपानीको समस्या समाधान गर्न के काम गरिहनुभएको छ ?
–अन्य वडाको तुलनामा प्राकृतिक मुहान भएकाले वडा नम्बर ६ मा खानेपानीको ठूलो समस्या छैन् । भएको पानीको स्रोतलाई हरेक नागरिकहरुको घरघरमा पुर्याउने दायित्व र जिम्मेवारी छ । गत बर्षको बजेटमा वडाभित्र २० हजार घनलिटरको खानेपानी ट्याङकी निर्माण गरेका छौ । पाँच बर्षभित्र वडाभित्र कम्तिमा पनि २० वटा खानेपानी ट्याङकी निर्माण गर्ने लक्ष्य राखेका छौं । दुई लाख लिटर पानी ट्याङी मार्फत प्रत्येक घरघरमा खानेपानीको धारो प्र्याउने योजना छ । ‘एक घर एक खाने पानीको धारो’ भन्ने अभियानलाई अगाडि सारिएको छ ।
आकाशे पानी संकलन गर्ने केही योजना अगाडि सार्नुभएको छ नि ?
–हामीले बर्षाको समयमा छानाको पानी संकलन गरेर हिउदको समयमा पु¥याउनको लागि सिमेन्टको पोखरी बनाएका छौँ । विशेषगरी सुक्खा क्षेत्रमा पानी संकलन गर्ने पोखरी बनाउने योजना राखेका छौँ । यस्तो पोखरी निर्माण गर्न सम्बन्धित उपभोक्ता समितिले पचास प्रतिशत लगानी गर्नुपर्ने छ भने पचास प्रतिशत गाउँपालिकाले अनुदान दिने व्यवस्था गरेका छौं । आकाशे पानी संकलन गरेर ठूलो फाइदा लिन सकिन्छ ।
कृषि क्षेत्रको सुधारको लागि के काम भइरहेको छ ?
–कृषि क्षेत्रलाई परिवर्तन गर्नको लागि परम्परागत तौरतरिकालाई विस्थापित गर्दै आधुनिक र वैज्ञानिक प्रविधि अनुसार काम गर्नुपर्ने आवश्यकता छ । हामीले गाउँपालिकाभित्रका सवै वडामा सम्भाव्यताको खोजी गरेर पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना अगाडि सारेका छौं । वडा नम्बर १ मा मस्याङ दलहन खेती, वडा नम्बर २ मा बाख्रा पालन र पशुपालन, वडा नम्बर ३ को नदी किनारामा तरकारी खेती र माथिल्लो क्षेत्रमा दलहन बाली गर्ने योजना अगाडि सारिएको छ । त्यसैगरी वडा नम्बर ४ को माथिल्लो क्षेत्रमा  बाख्रा पालन र तल्लाे क्षेत्रमा तरकारी खेती , वडा नम्बर ५ मा फलफुल खेती र बाख्रा पालन, वडा नं ६ मा तरकारी खेती र पशुपालन, वडा नं ७ मा चिया खेती, वडा नम्बर ८ मा तरकारी खेती र वडा नम्बर ९ मा तरकारी र पशुपालन खेती गर्ने भनेर पकेट क्षेत्रको रुपमा विकास गर्ने नीति सहित गाउँपालिका अगाडि बढेको छ ।
योजना राम्रो हुने तर कार्यान्वय प्रभावकारी नहुने गरेको गुनासो पनि छ नि ?
–हामीले योजना र नीति बनाउने मात्र होइन । कार्यान्वयन पनि गर्ने हो । गाउँपालिकाले चिया खेती गर्ने र अलैची खेती गर्नको लागि बजेट छुटयाइ सकेको छ । कृषि क्षेत्रको विकास गर्न गाउँपालिकाबाट छुटयाइएको रकम वितरण गर्दै जानेछौ । हामीले बनाएको योजना अनुसार बजेट पनि छ । परम्परागत रुपमा होइन अध्ययन, प्राविधिको सिफारिसको आधारमा मात्र गाउँपालिकाले बजेट खर्च गर्छ । जहाँबाट परिणाम आउछ ।
गाउँपालिकाभित्र विद्युतीकरण नि ?
–अधिकाशं वडाभित्र विद्युतीकरणको काम भइरहेको छ । केही वडामा सम्पन्न भएको छ । केही वडामा सम्पन्न हुने चरणमा छ । आगामी एक बर्षभित्र खाँडादेवी गाउँपालिकाको सबै क्षेत्रमा विद्युतीकरण गर्ने योजनाको साथ हामी लागिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्