‘आठ महिनाभित्र खैरेनीघाटको पक्की पुल बन्छ’



स्थानीय तहमा  विस्तारै विकास निर्माणको कामले गति लिन थालेको छ । जनप्रतिनिधिहरु आफ्नो वडा र गाउँपालिकालाई कसरी समृद्ध बनाउने,कसरी जनताले अनुभूति गर्ने गरी विकास गर्ने प्रतिस्पर्धा चलेको छ । निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार काम हुन नसकेकोप्रति नागरिकहरुले चिन्ता र चासोको साथ हेर्न थालेका छन् । यसै विषयमा खाँडादेवी गाउँपालिका–१ राकाथुमकका वडा अध्यक्ष विष्णु श्रेष्ठसँग रामेछाप न्युजले गरेको कुराकानीः–

विष्णु श्रेष्ठ,वडा अध्यक्ष, खाँडादेवी गाउँपालिका–१ राकाथुम

वडाभित्र सडकको अवस्था कस्तो छ ?
–वडाभित्र सबै क्षेत्रमा सडक पुगेको छ । सडक विकासको मुख्य मेरुदण्ड पनि हो । राकाथुमभित्र हिऊद बर्षाको समयमा पनि सहज रुपमा यातायात सञ्चालन हुन सक्ने अवस्था छ । अब हामीले सडकको स्तरउनन्तीको लागि ध्यान दिएका छौं । गाउँपालिकाको निर्णयले पनि नयाँ सडक निर्माण नगर्ने भनिएको छ । अब नयाँ सडक निर्माण गर्नेतिर भन्दा पनि भएका सडकलाई व्यवस्थित र राम्रो बनाउने योजना अगाडि सारिएको छ । १२ महिना सहज रुपमा यातायात सञ्चालन गर्ने गरी गाउँपालिकाभित्र सडकको स्तरउन्नतीको काम भइरहेको छ ।
सडकमा बजेट खर्चिए पनि अपेक्षाकृत रुपमा परिणाम देखिन नसकेको गुनासो छ नि ?
गाउँको सबै धुले सडक हो । सबै व्यवस्थित सडक छैन् । यातायात सञ्चालन गर्नको लागि हिउदमा सडकको स्तरउन्नती त गर्यो । तर बर्षाको समयमा पानीले बगाउने र ठाउँठाउँमा पहिलो जाने भएको कारणले जनताले परिणाम नदेखिएको हुन सक्छ । जबसम्म सडकको पहुँच वडाको टोलटोलसम्म हुँदैन । तबसम्म वडाको विकास असम्भव छ । टोलटोलमा सडक पुगेको छ । अब भएको सडकलाई राम्रो बनाउनको लागि हाम्रो ध्यान गएको छ । सडक निर्माणमा अब परिणाम देखिन्छ ।
विद्युतीकरणको कामको प्रक्रिया कसरी अगाडि बढिरहेको छ ?
–ग्रामिण विद्युतीकरणको कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँको ठेक्का भएर काम अगाडि बढेको छ । त्यसैगरी डेढ सय भन्दा बढी घरपरिवारलाई सुविधा दिने उदेश्यले तार तान्ने काम भइरहेको छ । मेनलाइनको तार पनि सुनापतीको गाउँपालिकाको खनियापानीबाट तान्ने काम भइरहेको छ । वडाभित्रको सबै क्षेत्रमा विद्युतीकरण गर्नको लागि हामी लागिरहेका छौं । करिब दुई बर्षभित्र वडाको साविक नौ वटा वडाभित्र नै विद्युतीकरण हुन्छ ।
खानेपानीको समस्या पनि निकै छ भन्ने गुनासो छ नि ?
–राकाथुममा मात्र नभई खानेपानीको समस्या खाँडादेवी गाउँपालिकाभित्रकै हो । । यस आर्थिक बर्ष नै सवा दुई करोड रुपैयाँमा वृहत्त सुनकोसी खानेपानी आयोजनाको काम अगाडि बढाएका छौं । अहिले लुभ क्षेत्रबाट चापडी, बेलघारीबाट गोठपानीको हाइटमा लिफ्ट खानेपानी आयोजना अगाडि बढाइएको छ ।


कृषि क्षेत्रको विकासको लागि के योजना सहित काम गर्दै हुनुहुन्छ ?
– कृषि क्षेत्रको विकासको लागि गाउँपालिकाले सबै वडाको पकेट क्षेत्र घोषणा गरेर नै काम भइरहेको छ । कुन वडामा कुन खालको खेती प्रणाली लगाउने भन्ने विषयमा ध्यान दिएका छौं । कृषि क्षेत्रमा आवद्यिक योजना बनाएर नै अगाडि बढेका छौं । राकाथुमको कुरा गर्ने हो भने दलहन बाली, फलफुल खेती, बाख्रा पालन, पशुपालनहरुलाई मुख्य रुपमा अगाडि बढाएका छौं । हाम्रो वडामा आकाशे पानीको भरमा नै कृषकहरुले खेतीपाती गर्नुपर्ने बाँध्यता छ ।
खैरेनीघाटको पुल नौ बर्ष वितिसक्दा पनि निर्माण हुन सकेन नि ? तपाईले केही पहल गर्नुभएको छैन् ?
–विगतमा निर्माण सम्पन्न भइसक्नु पर्ने पुल निर्माणमा निश्चित रुपमा ढिलाई भएको हो । पुल निर्माणको जिम्मेवारी लिएको ठेकेदारलाई पनि अहिले बहानाबाजी गर्ने छुट छैन् । किनकी म निर्वाचित भएर आएपछि महिनाको दुई पटकसम्म ठेकेदारलाई भेटेर पुलको बारेमा जानकारी लिने काम भएको छ । बारम्बार टेलिफोनमा पनि जानकारी लिने काम मैले गरेको छु । पुल निर्माणको लागि ट्रष्टको सामान निर्माणस्थलमा ल्याएको छ । अब तिहार लगत्तै काम अगाडि बढाउने ठेकेदारले प्रतिबद्धता जनाएको छ । विगतको बर्षमा जनतालाई आश्वासन दिने छुट पनि अब ठेकेदारलाई छैन् । बैशाकसम्म पुल निर्माण सम्पन्न गरेर गाडी सञ्चालन गर्ने प्रतिबद्धता ठेकेदारले जनाएको छ ।
गाउँघरमा नै युवाहरुलाई रोजगारी दिने योजना नि ?
–हामीले कृषि क्षेत्रलाई आधुनिकरण गर्ने, व्यवसायीक रुपमा तरकारी खेती गर्ने गरी योजनाको साथ अगाडि बढनु पर्छ । साच्चिकै गाउँको मुहार फेर्ने हो अब युवाहरुले पनि गाउँ फर्किनु पर्छ । समाजलाई अगाडि बढाउनको लागि युवा नै चाहिन्छ ।
मध्य पहाडी राजमार्गमा मापदण्ड विपरीत बालुवा प्रशोधन उद्योग सञ्चालनमा आएको गुनासो छ नि ?
–मापदण्डको कुरा सरकारले अख्तियारी गरेको नीति नियमकभित्र दर्ता प्रक्रिया भयो होला । वडाले सिफारिस दिएर मात्र सबै प्रक्रिया पूरा भयो भन्ने कुरा उचित ठान्दिन । किनभने नियम कानुन विपरीत काम त हुन नै सक्दैन ।
वडाभित्र सञ्चालित उद्योग धन्दामा वडाभित्रका बासिन्दालाई रोजगारीको अवसर प्रदान गर्न के भूमिका खेल्नु भएको छ ?
–गाउँका युवाहरुलाई रोजगारी दिन प्रतिबद्धता गरिएको छ । अहिले भर्खर सञ्चालन हुने क्रममा छ । वडाभित्र सञ्चालन हुने कुनै पनि उद्योग धन्दा, व्यापार व्यवसायमा स्थानीयलाई सहभागी गराउन मेरो भूमिका हुन्छ । गाउँघरमा नै रोजगारी सृजना हुने अवस्था आएको अवस्थामा काठमाडौं लगायतको शहरहरुमा किन धुँवा र धुलो खाएर बस्ने ? आफ्नो गाउँमा नै काम गर्ने नि । स्थानीयलाई रोजगारी दिने प्रशोधन केन्द्रका सञ्चालकहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । जनताले धेरै आशा र भरोसा गरेका छन् । हामीले जनताको आशा र भरोसा अनुसारको काम गर्न सकेका छैनौ यदी हामीले गाउँलाई रुपान्तरण गर्ने हो हामी सबै जनताको सेवामा निस्वार्थ भावनाको साथ काम गर्नुपर्छ । होइन भने जुनै जोगी आएपनि कानै चिरेकोजस्तो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्