दोरम्बा गाउँपालिकालाई समृद्ध बनाउने आधार तयार गर्यौः अध्यक्ष मोक्तान



स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको वीस महिना पुगेको छ । निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार परिणामको पखाईमा नागरिकहरु रहेका छन् । रामेछापको दोरम्बा गाउँपालिकामा पनि विकास निर्माणको कामले गति लिएको छ । तर अपेक्षा अनुसारको काम भने हुन नसकेको छैन् । भौगोलिक अवस्था, कर्मचारीको व्यस्थापन लगायतको कारणले केही प्राविधिक रुपमा लक्ष्य अनुसारको काम हुन नसकेको निष्कर्ष गाउँपालिकाको छ । दोरम्बा गाउँपालिकाको ७ वटै वडामा जनप्रतिनिधिहरुबीच विकास गर्ने प्रतिस्पर्धा नै चलेको छ । दोरम्बा गाउँपालिकाले अहिलेसम्म गरेको काम र आगामी योजना लगायतको विषयमा दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानसँग रामेछाप न्युजको लागि स्नेहा सिलवालले गरेको कुराकानीः–

कमानसिंह मोक्तान,अध्यक्ष, दोरम्बा गाउँपालिका, रामेछाप

दोरम्बा गाउँपालिकाभित्र विकास निर्माणको काम कसरी अगाडि बढिरहेको छ ?
–हामीले गाउँपालिकाको जिम्मेवारी सम्हालेपछि निर्वाचनमा गरेको प्रतिबद्धतालाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका छौं । हामीले सुरुदेखि नै योजना बनाएर नै विकास निर्माणको काम गर्दै आएका छौं । जनताको न्युनतम आवश्यकतालाई पूर्ति गर्दै बाँकी कामलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । गाउँपालिकाभित्र सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीकरण, कृषि, पर्यटन क्षेत्रको विकास गर्ने आधार तयार गरेका छौं । केही महत्वपूर्ण काम भएका छन् । बाँकी कामलाई क्रमश, पूरा गर्दै जाने लक्ष्य निर्धारण गरेका छौं ।
दोरम्बा गाउँपालिकाको वडा नम्बर २ दोरम्बालाई ‘दोरम्बा पर्यटन गन्तव्य गाउँ’ घोषित भएको छ । अब यसको भौतिक पूर्वाधार निर्माणको काममा गाउँपालिकाले के योजना बनाएको छ ?
–दोरम्बालाई पर्यटकीय गन्तव्य गाउँको रुपमा घोषणा गर्नु नै हाम्रो लागि निकै ठूलो उपलब्धिको कुरा हो । दोरम्बा सैलुङ विगतदेखि नै पर्यटकीय क्षेत्रको रुपमा पहिचान बनाउदै आएको छ । तर आधिकारीक रुपमा पर्यटन गन्तव्य गाउँको रुपमा घोषणा भएपछि अब थप पर्यटक भित्र्याउन सहज हुनेछ ।

पर्यटन बोर्ड, गाउँ पर्यटन प्रबद्र्धन मञ्चसँग लामो छलफलपछि देशको तीन गाउँ मध्ये दोरम्बा पनि छनोट हुन सफल भयो । यति मात्र होइन दोरम्बालाई युद्ध पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आधार तयार पर्ने दायित्व पनि हाम्रो काँधमा आएको छ । दोरम्बा–सैलुङलाई थप विकास गरेर लैजानु पर्ने अवस्था छ । यस कार्यको लागि हामीले निकै ठूलो मेहनत गरेका छौं । दोरम्बा सुन्दर छ । ऐतिहासिक, धार्मिक, सांस्कृति र प्राकृतिक रुपमा दोरम्बा धनी छ ।

विगतदेखि नै दोरम्बामा होमस्टे र होटलहरु सञ्चालन हुँदै आएको छ । अब अथितिको संस्कारको लागि योजना बनाएर नै काम गछौं । थप होमस्टेको विकास गर्ने, होटल निर्माण गर्ने, भौतिक पूर्वाधार निर्माणको कामलाई कसरी अगाडि बढाउने भन्ने विषयमा हामीले गृहकार्य गरिरहेका छौं । परिणाममा नै देखिने गरेर हामी काम गछौं । गाउँपालिकालाई समृद्ध बनाउन पर्यटन पनि एउटा बलियो आधार हो । नेपालको अल्प संख्यक पहरी थामी जातिहरु दोरम्बामा छन् । गाल्वा–दोरम्बा हुँदै सैलुङसम्मको सडकालाई स्तरउन्तती गर्ने काममा विशेष ध्यान दिएका छौं ।
दोरम्बा अन्य क्षेत्र भन्दा किन फरक छ ?
–भौगोलिक हिसाबले सुन्दर छ । दोरम्बा राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि परिचित नाम हो । २०६० साल साउन ३२ गते दोरम्बामा तत्कालिन सरकार र माओवादीको बीचमा दाङको हापुरेमा दोस्रो चरणको शान्ति वार्ता भइरहेको बेला दोरम्बामा २१ जना नेता तथा कार्यकर्ताहरुको हत्या गरिएको थियो । दोरम्बा हत्याकाण्डले पनि दोरम्बा ऐतिहासिक भूमि हो । यसको बारेमा बुझनको लागि पनि दोरम्बा आउनु पर्छ । युद्ध पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न हामी लागेका छौं । हाम्रो पार्टीको अध्यक्ष प्रचण्डले पनि दोरम्बालाई युद्ध पर्यटकीय क्षेत्रको घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हामी त्यो तयारीमा जुटेका छौं ।
युद्ध पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्न गाउँपालिकाले के गर्दैछ त ?
भर्खरै दोरम्बा पर्यटन गन्तव्य गाउँ घोषणा भएको छ । यस घोषणाले हामीलाई निकै उत्साहित बनाएको छ । आर्थिक समृद्धिको आधारको रुपमा हामीले पर्यटकीय क्षेत्रको विकास गर्ने स्पष्ट योजना बनाएका छौं । संयोग पनि होला दोरम्बा हत्याकाण्ड भएको १५ बर्षपछि अध्यक्ष प्रचण्ड यसै पटक दोरम्बा हत्याकाण्ड दिवसमा आउनुभयो ।

युद्ध पर्यटन क्षेत्रको विकास गर्नको लागि हामीले डकुमेन्ट तयार गर्ने काममा जुटेका छौं । सम्भाव्यता अध्ययनको लागि बजेट छुटयाएका छौं । जनयुद्धको समयमा ऐतिहास भूमि बेथानको पानीघाट हुँदै दोरम्बालाई जोडने छौं । दोरम्बाको डाडाँकटेरीमा २१ जना शहीदको पूर्ण कदको शालिक निर्माण गर्ने योजना पनि बनाएका छौं । दोरम्बामा नै शान्ति पार्क पनि निर्माण भएको छ । दोरम्बाको महत्वलाई बुझेर सरकारले पनि युद्ध पर्यटन क्षेत्रको रुपमा घोषणा गर्ने विश्वास हामीले लिदएका छौं ।
गाउँपालिकाको कार्यालय स्थापना गर्न जनताले निःशुल्क जग्गा प्रदान गर्नुभयो नि होइन ?
–सुरुमा त हामीले जग्गा खरिद गर्ने योजना अगाडि बढाएका थियौ । सकेसम्म गाउँपालिकाको लागि निःशुल्क जग्गा पाउन सकेको अवस्थामा त्यो बजेटले पालिकाको भवन निर्माणमा सहयोग पुग्ने हामीले निष्कर्ष निकाल्यौ ।

अन्नतः हाल गाउँपालिकाको केन्द्र रहेको टोकपुरस्थित थामचौरका बासिन्दाहरुले हामीलाई निशुल्क जग्गा दिएर ठूलो गुण लगाउनुभएको छ । अहिलेसम्म ६० रोपनी जग्गा गाउँपालिकाको नाममा पास भइसकेको छ । बाँकी पनि आउने क्रममा छ । गाउँपालिकालाई निशुल्क जग्गा प्रदान गर्ने स्थानीयवासीहरुप्रति हामी धेरै खुसी छौं ।

उहाँहरुलाई हामी विशेष धन्यवाद दिन चाहन्छौ । जनताले दिएको जग्गा मध्ये २७ रोपनी क्षेत्रमा भवन निर्माण गर्ने योजना अगाडि सारेका छौं । हामी जग्गा निशुल्क प्रदान गर्ने जनतालाई सम्मान गछौं । जग्गा खरिद गर्ने बजेट भवन निर्माणमा प्रयोग गर्ने भएका छौं ।
दोरम्बामा अस्पताल सञ्चालनको काम कहाँ पुग्यो ?
–जनतालाइ चाहिने अत्यावश्यक सेवा सुविधा भनेको स्वास्थ्य पनि हो । अस्पताल निर्माणको लागि हामीले दोरम्बामा २७ रोपनी जग्गा पनि प्राप्त गरिसकेका छौं । हाम्रो ५ वटा वडामा स्वास्थ्य चौकी छ र २ वटा वडामा छैन । दुई वटामा सहरी सामुदायिक स्वास्थ्य चौकी स्थापना गरेर सुविधा दिइरहेका छौं । दोरम्बामा हामीले मेडिकल तहको डाक्टर सहितको सेवा सञ्चालनमा ल्याउने निणय गरेका छौं ।

यो काम केही समयभित्र नै सुरु हुन्छ । अस्पताल सञ्चालन गर्न चाहिने आवश्यक उपकरण र सामाग्रीहरु खरिद गर्नुपर्ने छ । स्वास्थ्य चौकीमा हाल १९ वटा कोठा छ । त्यतिले मात्र नपुग्ने अवस्था छ । हामीले भवन निर्माणको लागि प्रदेश सरकार र केन्द्र सरकारसँग पहल गछौं ।

गाउँपालिकाको स्रोतबाट निर्माण गर्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल भइरहेको छ । सामान्य रोग लाग्दा पनि राजधानी काठमाडौं जानुपर्ने बाँध्यता हटाएर गाउँमा नै अस्पताल सञ्चालन गछौं । सामान्य अप्रेसन सहितको सेवा अब दोरम्बाबाटै सुरु हुन्छ । सात वटै वडाका जनतालाई स्वास्थ्य सेवा दिन्छौ ।
सडकमा लगानी गरेको परिणाम देखिएन भन्छन नि ?
‘गाउँपालिकाले सडक निर्माणलाई पहिलो प्राथमिकता दिएको छ । मुख्य मेरुदण्डको रुपमा रहेको सडक निर्माण गरेर जनतालाई सेवा दिने हाम्रो मुख्य लक्ष्य हो । ग्रामिण सडक भएको कारण बर्षाको समयमा भत्किन्छ । अब जति पनि सडकहरु निर्माण भएका ती सडकको स्तरउन्तती गर्ने काममा गाउँपालिकाले विशेष ध्यान दिएको छ । अब निर्माण हुने सडक दिगो र स्थायी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्