गीत मार्फत रामेछापको भूमिलाई चिनाउन चाहान्छुः गायक रोज मोक्तान



नेपाली साङगीतिक आकाशमा स्थापित नाम हो गायक रोज मोक्तान । मोक्तानको धेरै गीत चर्चित छन् । रामेछाप जिल्ला सुनापती गाउँपालिका–५ भिरकोटमा जन्मिएर लामो समयदेखि निरन्तर गीत संगीतमा लाग्दै आउनुभएका मोक्तानले सयौ गीत गाउनुभएको छ । पछिल्लो समय स्टेज कार्यक्रममा व्यस्त बन्दै आउनुभएका गायक मोक्तानसँग रामेछाप न्युजको लागि स्नेहा सिलवालले गरेको कुराकानीः–

रोज मोक्तान,गायक

अहिले के गर्दै हुनुहुन्छ ?
–भर्खरै नयाँ म्युजिक भिडियो बजारमा ल्याएको छु । यो गीतको म्युजिक भिडियो मनाङमा सुटिङ गरिएको हो । ‘सिरसिरे हावा चल्यो कल्लेरी बनैमा’ लोकपप गीत हो । यसपछि अर्को एउटा गीतको तयारी गर्दै छु । दशैँ तिहारको स्टेज कार्यक्रमहरुमा व्यस्त छु ।
कलाकारहरुलाई व्यस्तता महोत्सव र स्टेज कार्यक्रममा बढन लागेको हो ?
–अहिले कलाकारहरुलाई बाँच्ने मौका महोत्सवले दिएको छ । हिऊदभरी महोत्सव चल्छ । एउटा सिजमा करिब १५ देखि ३० वटा महोत्सवमा सहभागी हुँदा कलाकारको आर्थिक अवस्था पनि राम्रो हुँदै गएको छ । मैले पनि पछिल्लो समय महोत्सवमा जाने मौका पाइरहेको छु ।
साङगीतिक क्षेत्रमा तपाईले काम गरेको कति बर्ष भयो ?
–सानै उमेरदेखि म कलाकारितामा लागेको हुँ । २०४८ सालमा मैले रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरेर साङ्गीतिक क्षेत्रमा प्रवेश गरे । २०५२ सालमा एलबम नै निकाले ।


अहिले सम्म कति गित गाउनु भयो ?
–अहिलेसम्म हिसाब गर्ने हो भने करिब ६ सय भन्दा बढी गीत आएको छ । चलेकै कुरा गर्ने हो भने चाही वीस वटाको संख्यामा होला । तीन सयजति म आफैले सृजना गरेको गीत आएको छु । एघारवटा एलबम निकालेको छु ।
गीत संगितमा लागेर बाच्ँन सकिने अवस्था छ ?
महोत्सवहरुले गर्दा धेरै राम्रो भएको छ । देश बिदेशमा पनि हाम्रो नेपाली दाजुभाई दिदीबहिनीहरु हुनुहुन्छ, उहाँहरुले पनि बेलाबेलामा हामीलाई निम्तो दिएर कलाकारहरुलाई प्रस्तुत गर्ने मौका दिनुभएको छ । साथसाथै पारिश्रमिकको पनि राम्रोे व्यवस्था गर्नुभएको छ । त्यसकारण पनि धेरै नै सहज भएको छ ।
रामेछाप जन्मिएर जिल्लालाई देश विशेमा गीत मार्फत चिनाउन के गर्नुभयो ?
मेरो घर सुनापाती गाउँपालिका वडा नम्बर ५ भिरकोटमा पर्छ । खाँडादेवी माताको कमस खाएर मैले म जन्मिएको जिल्ला भुल्न सक्दिन भनेर गीत गाएको थिए । आगामी दिनमा पनि रामेछापलाई देश विदेशमा चिनाउनको लागि मैले गीत गाउने छु । आफू जन्मिएको माटोलाई चिनाउन थुप्रै गीत आउने कोशिस जारी छ ।
गीत संगीतमा लाग्ने नयाँ पुस्तालाई तपाईको के सुझाव छ ?

नयाँ पुस्तालाई म के भन्न चहान्छु भने तपाई संगीत सिकेर आउनुहोस् । बुझेर आउनुहोस् र बजार बुझेर मात्र संगीतमा लाग्नुहोस भन्ने आग्रह गर्नु चाहन्छु । किनभने संगीतमा लागेर म केही गर्न सक्छु भनेर तपाई एकैचोटी नलाग्नुहोस् । आर्थिक रुपमा रुपमा अरु कुनै व्यवसायसँग जोडिएर संगीत क्षेत्रमा प्रवेश गर्नुहोस । म्युजिक क्षेत्रमा आएर तपाईको म्युजिक चल्यो भने मान्नुहोस् तपाईलाई चिठ्ठा पर्यो । किनकी मैले पनि त्यहीँ गरेको थिए ।
तपाईको चर्चित गीतहरु नि ?
–कलकत्ते काइयो, बाबरी फुलको बोट, रातो रातो गाला, हिउँ पर्यो फुरुरु…, हेलम्बुको बजारमा जस्ता गीतहरु चर्चित छन् । यसका रिमिक्स्हरु पनि आएका छन् । जस्तै झिम्काइदेउ परेली । मैले राष्ट्रिय गीतहरु पनि गाएको छु । जस मध्ये सबैले मन पराइदिनुभएको ‘तराई पहाडी साथै हिमाली, जहाँ बसे पनि हामी नेपाली,वीरु पुर्खा हाम्रो गोर्खाली एउटै सन्तान हामी नेपाली’ गीत हो ।
श्रोतहरुलाई के भन्न चाहनुहुन्छ ?
–सबै श्रोताप्रति म आभारी छु । मलाई माया गर्दिनुभएको छ । मेरो गीतलाई मन पराइदिनुभएको छ । मेरो कोसिश जारी रहन्छ । हजुरहरुको माया पाइरहन्छु भन्ने आशा गरेको छु । साथै विजयी दशमी र तिहारको शुभकामना पनि व्यक्त गर्न चाहान्छु ।

प्रतिक्रिया दिनुहोस्